बागलुङ, २० चैत– जैमिनी नगरपालिका ९ पैयुँथन्थापकी लक्ष्मी थापा बेरोजगार थिइन् । घरपरिवारको कमाइ खाएर बस्नुपर्दा निकै अप्ठ्यारो लाग्थ्यो । तर, अहिले त्यस्तो छैन । अहिले उनकै कमाइले परिवार पालिन्छ ।
२०६५ सालमा लघुउद्यम विकास कार्यक्रमको तालिम लिन पाएकी थापाले आफ्नो क्षमता बढाएर आत्मनिर्भर मात्र बनिनन्, समाजको उदाहरणीय पात्रसमेत बनेकी छन् । ३ महिने ढाका बुनाइ तालिमले उनी आत्मनिर्भर बनेकी हुन् । उनी यति राम्रो ढाका बुन्छिन् कि अरुलाई प्रशिक्षण नै दिन्छिन् ।
घरेलु तथा साना उद्योग विकास कार्यालयले उनलाई मासिक ४० हजार रुपैयाँ दिएर प्रशिक्षक बनाएको छ । १० बजेदेखि ४ बजेसम्म तालिम दिएपनि बिहान र बेलुकीको समय घरमै पनि ढाका बुनेर उनी थप कमाइ गर्छिन् ।
‘मलाई महिनाको ६० हजारसम्म दिन खोज्नेहरु छन्’, उनले भनिन्, ‘टाढा गएर तालिम दिनुपर्दा खानेबस्ने व्यवस्था गर्नेहरु पनि छन् ।’ तत्कालीन समयमा पाएको तालिमले जीवनमा सफलता दिएको उनले बताइन् । श्रीमान वैदेशिक रोजगारीमा थिए । तर, पछिल्लोसमय उनी श्रीमतीलाई सघाउँछन् । थापाले व्यवसायलाई सदरमुकाममा सारेपछि माग बढेको छ । अहिले उनको घरमै ४ वटा तान छन् । दैनिक सिक्ने र काम गर्नपनि आउनेहरुले उनको व्यवसायको प्रवद्र्धन समेत गरेका छन् ।
ढाका बुन्नकालागि ६हजारको सामान किनेर ल्याएपछि ४० हजारसम्मको ढाकाको कपडा उत्पादन हुन्छ । दुईदिन काम गर्दा महिलाले एउटा सल उत्पादन गर्छन् । बजारमा अहिले एउटा सलको २ हजार रुपैयाँ पर्छ । उनीहरुले ढाकाको अन्य सामान पनि बनाउने गर्छन् । साडी, कुर्ता र सलवार समेत बनाएर उनीहरुले राम्रो कमाइ गर्न थालेको बताए ।
थापाले तालिम दिएकाहरु पनि व्यावसायिक बन्ने बाटोमै छन् । ‘तीन महिनाको तालिम पायौं, अब म पनि व्यावसायिक बनेर कमाइ गर्छु’, काठेखोला ४ तंग्रामकी दिलकुमारी पुनले भनिन्,‘साना नानी छउन्जेल काम गर्न पाएकी थिइन, सीप पनि सिक्न पाएँ, अब नियमित काम गरेर देखाउँछु ।’ घरेलु तथा साना उद्योग कार्यालयले इच्छाशक्ति भएका महिलालाई छनौट गरेर तालिम दिएको प्रमुख गुमादेवी शर्माले बताइन् । उनले चालु वर्ष २५ महिलालाई ढाका बुनाइको तालिम दिएको बताइन् ।





