बागलुङ, २२ चैत– नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काटेर बक्यौता महशुल उठाउन थालेको छ । विद्युत महशुल समयमा बुझाउन नआएका ग्राहकको लाईन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४ सय १७ ग्राहकको महशुल उठ्न बाँकी थियो । मिटर रिडिङ भएको ६० दिन देखि दुई बर्षसम्म महशुल नतिरेका ग्राहकलाई कालो सूचिमा राखेर वितरण केन्द्रले लाईन काट्ने अभियान थालेको थियो । धमाधम लाईन काटिन थालेपछि महशुल तिर्न बाँकी रहेका ३ सय ८८ ग्राहकले महशुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए । व्यक्तिगत र व्यवसायीक प्रतिष्ठानमा बाँकी रहेको ४० लाख ९९ हजार रुपैयाँ बक्यौता रकम उठेको गोशलीले बताए । लाईन काटिएका मध्ये २९ ग्राहकले अझै महशुल बुझाउन बाँकी छ । बिद्युत महशुल नियमावली २०७७ को बिनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महशुल बुझाउन नआउने ग्राहकको बिद्युत बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ । लाईन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुन बिद्युत जडान गरिएको गोशलीले बताए । बक्यौता रकम समयमा अशुल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नुपरेको उनको भनाई छ ।





