पोखरा, २६ चैत– उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्येश्य सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदैछ । शिव शिखर बहुउद्येश्यि सहकारी संस्थाद्वारा सञ्चालित उक्त डिपार्टमेण्ट स्टोर पोखराको पस्र्याङमा आउँदो शनिबारदेखि सुरु हुन लागेको हो । संस्थाको यो छैठौं शाखा हो ।
३ करोड लगानीमा सुरु हुन लागेको डिपार्टमेण्ट स्टोरमा ग्रोसरी, लिक्वेर, किचन, कपडा, जुत्ता, इलेक्ट्रोनिक्स सामानहरु रहनेछन् । स्टोरले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने जनाइएको छ । डिपार्टमेण्ट स्टोरमा सबैखाले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सरल तरिकाले उपलब्ध गराउँदै मिनि सुपर मार्केटको कन्सेप्टमा अघि बढाइने सहकारीका पोखराका म्यानेजर रमेश न्यौपानेले जानकारी दिए । स्टोरको आफ्नै एप्समार्फत् डिपार्टमेण्ट स्टोरमा उपलब्ध सामग्रीका बारेमा उपभोक्ताहरुले जानकारी लिन सक्नेछन् ।हाल सहकारी संस्थामा २३ तथा डिपार्टमेण्ट स्टोरमा २१ गरि ४४ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कोरोना संक्रमणका कारण नेपालमा धेरैले रोजगारी गुमाएको अवस्थामा संस्थाले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको प्रवन्ध मिलाएर आफ्नैं देशमा बस्ने वातावरण श्रृजना गर्ने लक्ष्य रहेको न्यौपानेले जनाए ।





