पर्वत, २८ चैत– पर्वतको पैयुँ गाउँपालिकामा शुक्रवार भएको आगलागीबाट पाँच ओटा घर र १२ ओटा जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार दिउसो दुई बजे स्थानीय जङ्गलबाट सुरु भएको आगलागी बस्तीमा प्रवेश गरेपछि दुई ओटा घर र १२ ओटा गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् भने तीन ओटा घरमा आंशिक क्षति भएको छ । आगलागीमा परी मानवीय क्षति नभएको तर एक भैँसी, एउटा गाईको बाच्छा र एउटा बाख्रो मरेको पनि इन्स्पेक्टर पौडेलले बताए ।
आगलागीको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय हुवासबाट गएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर नियन्त्रणमा आउन नसकेपछि चण्डिका सशस्त्र प्रहरी बल कुस्मा, नेपाली सेनाको केबलजंग गुल्म कुस्मा, जिल्ला प्रहरी कार्यालय कुस्मा र स्याङ्जाको वालिङबाट समेत पुगेको प्रहरी टोलीले राती ११ बजे आगो नियन्त्रणमा लिएका छन् ।
‘आगो सुरु भएको आधा घण्टामा नै प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास थालेको थियो । दिउसोमा नियन्त्रण गर्न नसके पनि थप सुरक्षाकर्मी पुगेपछि राती ११ बजे आगो नियन्त्रणमा आएको छ ।’ प्रहरी निरीक्षक पौडेलले भने, ‘आगो नियन्त्रणमा आइसकेकोले अब प्रहरीको टोलीले आगलागीबाट भएको क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने छ ।’





