स्याङ्जा, १ वैशाख– झण्डै तीन दर्जन गीत गाइसकेका दीपक भट्टराई यतिबेला कृषिमा रमाएका छन् ।लामो समयसम्म साङ्गीतिक क्षेत्रमा रहेर काम गरेका दीपक अहिले सङ्गीतका साथसाथै कृषि पेशामा आफ्नो भविष्य खोज्दै छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी फाँटका दीपक यतिबेला ‘सुरुवात आफैबाट गरौं, परिवर्तन सम्भव छ’ भन्ने नारासहित कृषि पेशामा लागेका हुन । माइक समातेर गीत गाउँदै हिड्ने दीपकले कृषिमा लागेर के गर्न सक्ला र ? भन्नेहरुलाई उनले बाख्रा र कुखुरा पालेर गतिलो जवाफ दिएका छन् ।
दुई वर्षअघि तरकारी खेतिबाट कृषि कर्ममा लागेका दीपकले असिना र मौसम प्रतिकुलताका कारण पहिलो पाइलामै घाटा खानुप¥यो । तरकारीबाट उत्पादन लिन नसकेपछि छिमेकीले ‘अब यसले गर्दैन, फेरि माइक समातेर गीत गाउन जान्छ’ भन्न थाले । तर, कृषिमा धेरै अवसर देखेर यही पेशामा होमीएका भट्टराई तरकारी खेतीमा सोचेजस्तो सफलता हात नलागेपछि बाख्रा र कुखुरा पालन गर्ने अठोट गरे र यसमै आफ्नो भविष्य खोज्दै निरन्तर काममा लागिरहेका छन् ।
एघार वर्ष गीतसङ्गीतमा बिताएका दीपक अहिले आफ्नै गाउँ मिर्मी फाँटमा कलाकार आधुनिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरेर उदाहरणीय बन्न सफल भएका हुन । उनको फर्ममा चौबीसै घण्टा लोकदोहोरीका धुनहरु गुञ्जिरहेका हुन्छन् । त्यहाँ पुग्ने जोकोहीलाई पनि सङ्ंगीतको धुनसँगै बाख्रा, लोकल कुखुरा र टर्कीसँगै खेलीरहेका भट्टराई र उनको फर्मले साच्चै लोभ्याउँछ ।
घरमा भएका दुईवटा माउ बाख्राबाट ब्यावसायको थालनी गरेका भट्टराईको फर्ममा अहिले १५ वटा माउ बाख्रा भैसकेका छन् भने पाठा पाठीसहित पचास वटा पुगेका छन् । स्थानीय खरी बाख्रालाई जमुनापारीको बीउ बोका लगाएर विस्तार व्यवसायको विस्तार गरेका दीपकले भने, ‘अहिले बोयर बोका ल्याएको छु, यसले व्यवसायमा थप सफलता मिल्ने विश्वास बढेको छ ।’ व्यवसायलाई थप व्यवस्थित गर्न गाउँपालिकाले गरेको सहयोगबाट झनै हौसला मिलेको उनले बताए ।
पैसा कमाउनका लागि विदेश जाने सोच आफूमा कहिले पनि नआएको र आफ्नै गाउँठाउँमा केही गर्छु भनेर कृषि कर्ममा लागेकोले आफुले गरेको परिश्रम अनुसारको प्रतिफल पाएकोले यसमै खुसी लागे उनी बताउछन् । परिश्रम गरे अनुसार बाख्राको वृद्धि विकास पनि राम्रो भएको छ, केही गर्न सक्छु भन्ने दीपकको आत्मविश्वास बढेको छ । उत्पादन गर्न सके बजारको समस्या पनि नभएकोले घरपरिवार चलाउनकै लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्नु धेरै राम्रो हुने भएकाले रोजगारीको खोजी गर्नुभन्दा रोजगारीको आफै सिर्जना गर्न युवाहरुलाई भट्टराईको आग्रह छ ।
केही समय अगाडि नपढेका, अरु केही काम नजान्ने र नगर्नेले गीत गाउने हो भन्ने समाजको बुझाई थियो तर बिस्तारै चेतनाको विकास र गीत संगीतको महत्व बढेपछि बल्ल सम्मान गर्न थालियो भने कृषिमा पनि त्यस्तै रहेको दीपकको बुझाई छ । बाउबाजेले पनि यसैगरी गरेका हुन् मैले पनि त्यसैगरी गरे हुन्छ भन्ने हो भने कहिल्यै प्रगति हुँदैन भन्ने उनको ठहर छ । उपलव्ध प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने कृषि पेशामा भविष्य रहेको दीपक बताउछन् । आफूले फर्म सञ्चालन गरेसँगै यो पेशामा अन्य युवाहरु पनि लागेकोले खुसी लागेको बताउँदै जस्तोसुकै पेशा गरे पनि पेशाको सम्मान नभएसम्म देशको विकास सम्भव नहुने भएकोले सबैले श्रमको सम्मान गर्नुपर्ने उनले बताए । दीपक भन्छन्, ‘कोरियामा कृषि पेशा गर्नेलाई उच्च सम्मान गर्छन् भन्ने देखेका र भोगेका युवाहरुले पनि यहाँ आएर अब सुखसँग बस्ने हो केही गर्ने होइन भनेर बसेको देख्दा अचम्म लाग्छ । पेशा र कामलाई जहिलेसम्म हामीले सम्मान गर्न सक्दैनाँै, तबसम्म हामी कहिल्यै सफल हुन सक्दैनौं ।’
गाउँपालिकाले बीउ तथा बिरुवा उपलव्ध गराएर किसानहरुलाई कृषि पेशामा लाग्न प्रोत्साहान गरेकोले पनि आफुले यो पेशामा नै भविष्य देखेको दीपकले बताए । बाख्रा तथा कुखुराबाट महिनाको एक लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएका दीपकले अब बङ्गुरसमेत थपेर व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको सुनाए । आपूmले ब्यावसाय सुरु गरे पछि छिमेकिहरुमा पनि गरे हुँदो रहेछ है भन्ने प्रभाव परेको र अहिले एउटा माउ पाल्नेले दुईवटा र दुईवटा पाल्नेले चारवटा पाल्न थालेकोले पनि आफूले गर्दै आएको पेशाले आफुलाई मात्रै नभएर समाजलाई नै हौैसला प्रदान गरेकोले खुसी गालेको दीपकले बताए । किसानको लागि गाउँपालिकाले पनि बेलाबेलामा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले भने, ‘व्यावसायिक रुपमा कृषि पेशामा लाग्नेहरुका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । यसलाई निरन्तरता दिन्छाँै, अहिले पालिकामा रहेका धेरै युवाहरु व्यावसायिक कृषि खेतीमा लागेका छन् यसले गाउँपालिकालाई पनि उत्साहित बनाएको छ ।’





