पोखरा, १ वैशाख– बिबिसी मास्टर सेफ उपविजेता सन्तोष साहको उपस्थितिमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच.एम.सि)ले पहिलोपटक ‘एनटिएचएमसी सेफ कम्पिटेसन–२०२१’ सम्पन्न गरेको छ ।
प्रतियोगितामा कृतिका गौचन प्रथम, साजन गुरुङ दोश्रो र बिमला नेपाली तेस्रो भए । प्रतियोगितामा बिएचएम दोश्रो, चौथो र छैटौं सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिएका थिए । प्रतियोगितामा ग्लोवल नेपलीज सेफ फेडरेसनका अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, महासचिव सेफ मोहन गजुरेल, केन्द्रीय सदस्य विकास डंगोल र केन्द्रीय सदस्य पशुपति पौडेल पनि निर्णायकको रुपमा उपस्थित थिए । सन्तोष साहसहितका अतिथिहरुलाई ६ फिट लामो केक ‘वेल्कम सेफ सन्तोस साह’ लेखिएको केक काटेर पनि स्वगत गरियो ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभइकन विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । सो अवसरमा बोल्दै सेफ सन्तोष साहले आतिथ्यता प्रदान गर्नुपर्ने क्षेत्रमा लगन, धैर्यता र सहनशीलता आवश्यक पर्ने बताए । कार्यक्रममा कलेजका प्राचार्य प्रकाश रेग्मी, प्रोग्राम कोअडिनेटर जोकबहादुर थापालगायतले बोलेका थिए ।





