बागलुङ, २ बैशाख– पर्वतको महाशिला गाउँपालिकाका ५ युवाले संचालन गरेको कृषि फर्मको औपचारिक शुभारम्भ गरिएको छ । महाशिला गाउँपालिका–५ लुंखुका ५ युवा मिलेर खोलेको ‘एफएफ अर्गानिक कृषि फर्म’को गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बुधवार औपचारिक उद्घाटन गरे ।
गाउँलाई अर्गानिक उत्पादन युक्त बनाउने, हरेक किसानलाई व्यवसायमा जोड्ने र उनीहरुको उत्पादनको सहज बजारमा पहुँच बढाउने उद्धेश्यले तिलक जैसी, बिष्णु अधिकारी, सागर थापा ,सुवाश शर्मा र प्रकाश अधिकारी मिलेर फर्म खोलेका हुन् ।
फर्म उद्घाटन गर्दै पौडेलले युवा पलायन रोक्न गाउँगाउँमा व्यवसायिक कृषि फर्म संचालन गर्नुपर्ने धारणा राखे । व्यवासयिक फर्म संचालन गर्ने युवालाई प्रविधितर्फ गाउँपालिकाले सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रका प्रमुख रामजी शर्माले युवाहरुको जोस र जाँगरलाई उत्पादनमा लैजादा देशलाई समेत फाइदा हुने बताए । सो अवसरमा पौडेलले फर्म संचालन तिलक जैसीलाई डिफ्रिज हस्तान्तरण गरेका थिए । फर्ममा युवाहरुले हरेक दिन प्रत्येक घरको कृषि फसल संकलन गरेर पोखरा पठाउने गरेका छन् ।
दैनिक ५ टनसम्म तरकारी र दूध बजार पठाउने लक्ष राखेका युवाले लुंखुका घरघरमा तरकारी खेतीदेखि दूध उत्पादन र खसीबोका पालनका लागि समेत किसानलाई आग्रह गरेका छन् । दैनिक कम्तिमा ५ सय लीटर दूध, १ सय केजी खसीबोका पोखरा पठाउने क्रम सुरु भैसकेको जैसीले बताए । ‘यहाँका कम्तिमा एक हजार घरलाई हामीले व्यवसायिक बनाउने लक्ष राखेका छौं’ जैसीले भने, ‘ती घरमा हुर्केका खसीबोकाको बजार हामीले खोजीदिन्छौं ।’ उनीहरुले सहकारीमार्फत गाउँमै पसल पनि खोलेका छन् ।
उक्त पसलमा दैनिक उपभोग्य बस्तु किन्नुपर्ने किसानले फलाएको तरकारी वा कुखुरा ल्याएर छाडेर सोही मूल्यको सामान लैजान सक्ने व्यवस्था गरिएको छ । यो अभियानलाई बढोत्तरी गरेर लैजान कार्यक्रमका सहभागिले सुझाव दिएका छन् । युवाको अभियानबाट किसान पनि आफ्नो उत्पादन बिक्री गर्न पाउनेमा ढुक्का भएका छन् ।





