पर्वत, ४ वैशाख– सामान्यतया दैनिक करिब ७०÷८० जना बिरामीको जाँच गर्ने गरिएको पर्वत जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप दैनिक रूपमा बढ्दै गएको छ ।
बिरामी नभएसम्म स्वास्थ्य परीक्षण नगर्ने नागरिकको बानी रहेको छ । तर स्वास्थ्य बिमा गरेपछि भने स्वास्थ्यमा सामान्य फरक देखिँदा पनि अस्पतालमा पुगेर जाँच गराउनेहरू बढेपछि अहिले दैनिक एक ७० जना भन्दा बढी बिरामीहरू अस्पतालमा आउने गरेको पर्वत अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले बताए ।
‘सबैभन्दा बढी एकै दिनमा करिब २ सय जना जतिको स्वास्थ्य जाँच गरिएको छ । यो संख्या पहिले पहिले सामान्य अवस्थामा हुने थिएन । भाइरल प्रकृतिको रोग लागेको बेलामा हुने गरेकोमा अहिले सामान्य अवस्थामा पनि यो सङ्ख्या हुनु धेरै चाप हो,’ उनले भने, ‘स्वास्थ्य बिमा गरेपछि उपचारमा खर्च लाग्दैन भन्ने भएपछि सामान्य अवस्थामा पनि स्वास्थ्य परीक्षण गराउनेहरूको संख्या बढेको हो ।’
अस्पतालको तथ्यांक अनुसार अस्पतालमा आएका कुल बिरामीमध्ये कम्तीमा पनि २० प्रतिशत स्वास्थ्य बिमा गराएकाहरू छन् । पर्वतमा २०७७ जेठबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । त्यसयता जिल्लाभर करिब १० हजार व्यक्तिको स्वास्थ्य बिमा गरिएको छ । जसमा गत साउनदेखि हालसम्म बिमा गरेकाहरूको संख्या ३ हजार ३४८ जना रहेका छन् ।
स्वास्थ्य बिमा गरेका एकै परिवारका बढीमा पाँच जना सदस्यहरूको लागि एकमुस्ट वार्षिक ३ हजार पाँच सय रुपैयाँ तोकिएको छ । पाँच जनाभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सय रुपैयाँका दरमा रकम थप्दै बिमा गर्नुपर्छ । बिमा गरेकाहरूको स्वास्थ्यमा समस्या आएमा बढीमा १ लाख रुपैयाँसम्मको उपचार र औषधि निशुल्क हुन्छ । ज्येष्ठ नागरिकलाई भने बिमा निशुल्क गरिएको छ ।
अस्पतालका डा. डिबी क्षेत्रीका अनुसार हालसम्म बिमा गरिएकामध्ये हर्नियाका ८ जना र हाइड्रोसिलका २ जनाको शल्यक्रिया, ५३ जना गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालिएको छ । स्वास्थ्य बिमापछि शल्यक्रिया लगायत रगत जाँच, भिडियो एक्स रे, इको, मुटुको एक्स रे, टाँका लगायतका कामसहित १ हजार १३३ प्रकारका औषधिहरू पाउने भएका कारण यसमा नागरिकको आकर्षण बढेको र सोही कारण अस्पतालमा स्वास्थ्य जाँच गराउनेहरू बढेको उनको भनाइ छ ।





