पर्वत, ९ वैशाख– एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वतको कुस्मा नगरपालिकाको कार्यालयका कामकाजहरू बन्द गरिएका छन् । वैशाख ९ गते बिहीबारदेखि वैशाख १५ गतेसम्म बन्द हुने भएको हो ।
ती कर्मचारीको एन्टीजिन परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालयबाट सम्पादन हुने स्वास्थ्य सेवा, फोहोर मैला व्यवस्थापन, दमकललगायतका अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवाहरू बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।
‘कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरुको सम्पर्कमा त सबै कर्मचारीहरू रहनुहुने नै भयो । अरू कर्मचारीहरूमा पनि रुघाखोकी देखिएको छ । रुघाखोकी सिजनल पनि हुन सक्ला तर शङ्का त भयो नि’, उनले भने, ‘शंकास्पद कर्मचारीहरूको परीक्षण गरेर संक्रमण रहे नरहेको पुष्टि गर्ने प्रक्रिया सुरु भएको छ ।’





