जोमसोम, ९ वैशाख – हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । मंसिरदेखि फागुनसम्म हिउँ पर्ने मुस्ताङमा यसपटक वैशाखमा समेत हिमपात भएको हो । मंगलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हलुकादेखि मध्यम खालको हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
बेसिजनमा भैरहेको हिमपातले खेतीपातीका लागि खासै फाईदा नगर्ने स्थानीय किसान बताउँछन् । मुस्ताङका गाउँहरु हिउँले ढाकेकाले यहाँको पर्यटनमा भने सहयोग गर्ने स्थानीय जीत बहादुर रसायलीले बताए । अधिकांश भुभाग हिउँले ढाकेकाले चिसो बढेको छ । वैशाखमा हिउँ परेको आँफुहरुले पहिलो पटक देखेको घरपझोँङ गाउँपालिका–१ का ७८ बर्षिया रसायलीले बताए ।
हिउँले जमिनको सबै भूभाग छोपेको छ । जसको कारण दैनिक रुपमा पोखरा जोमसोम उडान भर्ने हवाईजहाज पनि आउन सकेका छैनन् । हिमपातका कारण बिहिबारका सबै उडान रद्द हुनसक्ने नागरिक उड्यान कार्यालय मुस्ताङका प्रमुख दिपक बिकले बताए ।
हिउँले ढाकेकाले सडक हिलाम्मे भएको छ भने जिल्ला बाहिरबाट आउने सवारी साधन निकै कम आवतजावत गरेका छन् । जसको कारण मुस्ताङ आउने पर्यटकहरुलाई केहि असहज भएको होटल व्यवसायी बताउँछन् ।
बेमौसमी हिउँका कारण दैनिक रुपमा गर्ने कार्यहरुमा सामान्य समस्या आएको छ भने मुक्तिनाथ दर्शन गर्न र कोरला नाकासम्म जाने पर्यटक तथा तिर्थालुहरुलाई सास्थी भएको स्थानीयले बताए ।





