पर्वत, ९ वैशाख– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्वतको कुस्मा नगरपालिकाभित्र रहेका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् ।
बिहीबार कुस्मा नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाको कार्यालयका कर्मचारीहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक बिचमा भएको संयुक्त छलफलबाट विद्यार्थीहरूलाई सुरक्षित राख्ने उद्देश्यले वैशाख १० गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।
‘सङ्क्रमण भइहाल्यो भने त्यसको नतिजाको कस्तो आउला ? विद्यालयमा एकजना विद्यार्थी मात्रै सङ्क्रमित भयो भने त्यो सङ्क्रमण ज्यामितीय रूपमा फैलन्छ । बरु एक हप्ता सुरक्षित साथ घरमा बसेर अनलाइनबाट पढ्नु राम्रो हो भन्ने धेरैको कुरा आयो’ उनले भने, ‘मान्छे निरोगी भएर बाँच्यो भने अध्ययन गर्ला, जागिर खाला, काम गर्ला । यही कारण एक हप्ता बन्द गरेर हेरौँ भन्ने कुरा भएको हो ।’
कुस्मा नगरपालिकाको कार्यालयमा कार्यरत एकजना कर्मचारीको एन्टीजिन परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ आएपछि बिहीबारदेखि छ दिनका लागि कुस्मा नगरपालिकाको कार्यालय बन्द रहँदा शिक्षा क्षेत्रको विषयमा कसैले पनि चासो नदिएको भनी आवाज उठेको थियो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुरक्षा मापदण्ड सम्बन्धी सूचनामा २५ जना भन्दा बढी व्यक्ति मलामी समेत जान नपाउने उल्लेख गरिएकोमा विद्यालयको बारेमा कुनै सम्बोधन नभएको भनी अभिभावकहरूले सरकारी निकायको आलोचना समेत गरेका थिए ।





