मुस्ताङ, ९ वैशाख– मुस्ताङमा मुखीया प्रथा हटेको पहिलो गणतान्त्रिक गाउँ हो छैरो । घरपझोङ गाउँपालिका–१ मा पर्ने यो गाउँमा मुल बसोबास गर्नेको खोजी हुन थालेको छ ।
यहाँ पहिलेदेखि बस्दै आएका र विभिन्न कालखण्डमा बसाई सरेर आएका मुस्ताङेहरुको बसोबास छ । मुखिया प्रथा हटेपछि यो गाउँलाई गणतान्त्रिक गाउँ भनेर स्थानीयले नाम दिएका छन् ।
मुस्ताङका पाका पत्रकार भीम बहादुर रसाइलीका अनुसार गाउँको पहिचान, संरक्षण र विकासका लागि स्थानीयको सहभागिता रहेको गणतान्त्रिक समिति छ । त्यो समितिभन्दा माथी रहेर काम गर्नेगरी छैरोमा पहिलेदेखी बस्दै आएका र यहाँ स्थायी ठेगाना भएर देशका विभिन्न ठाउँमा पेशा रोजगारीको शिलशिलामा रहेकाहरु संगठित भएका छन् ।
स्थानीय भाषमा मुल कुरिया नाम दिईएको यहाँका मुख्य बसोबासीहरुको भेलाले भीम बहादुर रसाइलीको अध्यक्षतामा १३ सदस्यीय छैरो गाउँ मुल कुरिया समिति चयन गरेको छ ।
रसाइली र थकालीको प्रयासबाट छैरो गाउँको खास मुल कुरियाहरूको खोजीकार्य यहाँका खास बसोबासी मुल कुरियाको पहिचान भएको छ । छैरोका स्थायी बसोबासी ३५ घर खास मुल कुरियाहरू रहेको तथ्यांक तयार भएको छ । तीनै ३५ कुरियाको भेलाले सर्बसम्मत गणतान्त्रिक छैरो गाउँ सुधार मुल समिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा सोम प्रसाद शेरचन (पोखरा), द्वितिय उपाध्यक्षमा श्याम भट्टचन (काठमाण्डौ), महासचिवमा आस बहादुर थकाली, सचिवमा मीन बहादुर गौचन (पोखरा), कोषाध्यक्षमा बिनोद थकाली, द्वितिय कोषाध्यक्षमा भूषण शेरचन (चितवन), सदस्यहरूमा महेन्द्र शेरचन (कुश्मा), पदम थकाली (पोखरा), खगेन्द्र लामा, गम बहादुर बिश्वकर्मा, महेश शेरचन (काठमाडौ) र ईन्द्र बहादुर रसाइली (पोखरा) रहेका छन् ।





