पर्वत, १० वैशाख– मेरुदण्ड पक्षघात भई विगत ६ वर्षदेखि बिस्तारामा परेका पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटका ३७ वर्षीय माधव गिरीलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हातले चलाएको अभियानबाट संकलन भएका सामग्रीहरु गिरीको घरमै पुगेर हस्तान्तरण गरिएको अभियानका सदस्य आशिष शर्माले जानकारी दिए ।
२०७२ सालको चैतमा घर नजिकै रहेको बारीमा मकै लगाउन खेत जोत्ने क्रममा गोरुले हानेपछि माधवको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । पछि उनलाई मेरुदण्ड पक्षघात नै भयो । अहिले उनी विस्तारामा सुतिरहन्छन, कोल्टो फर्किन समेत कठीन हुने उनलाई उठ्न त झनै मुस्किलको कुरा हो । गिरीको यही अवस्थाको बारेमा बुझेपछि पर्वत अस्पतालको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी र नेपाली सहयोगी हातका अध्यक्ष निखिलेश पुरीको पहलमा माधवको शरीरलाई सजिलो पार्ने सामग्रीहरु जुटाउने अभियान थालिएको थियो । अभियानका क्रममा एक थान फोल्डिङ प्यासेन्ट बेड, क्याथेटर, यूरीनरी ब्याग, सिरिन्ज, सर्जिकल ग्लोभ्स लगायतका सामग्रीहरु हस्तान्त्रण गरिएको हो । रेको हो ।
सोही अवसरमा पर्वत अस्पतालको तर्फबाट १० थान क्याथेटर, ५ थान युरीनरी ब्याग, एक प्याकेट सिरिन्ज, एक प्याकेट ग्लोभ्स र एक थान कम्बल हस्तान्त्रण गरिएको छ । यस्तै टिकटक मिलीजुली परिवारका संरक्षक रारा सैँजुले फोल्डिङ बेड खरीदका लागि ५ हजार रुपैयाँ सहयोग गरे ।
माधवको परिवारमा पाँच जना सदस्य छन् । आफू घाइते हुनु अगाडि दैनिकी काम गरेर उनले नै परिवार चलाउँदै आएकोमा उनी नै बिस्तारामा परेपछि अहिले घर चलाउन नै समस्या भएको छ ।





