पर्वत, १० वैशाख– सामाजिक सेवामा सक्रिय रहेको ‘सकारात्मक परिवर्तनका लागि नेपाली सहयोगी हात’ अभियान मार्फत पर्वतको कुस्मा नगरपालिका–७ गोदाममा रहेको एक विद्यालयमा बिभिन्न सामग्रीहरु हस्तान्त्रण गरिएको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एन नाइन्टी फाइभ मास्क दुई बन्डल, चार बोतल सेनीटाइजर, चार बन्डल सर्जिकल मास्क लगायतका सामग्रीहरु हस्तान्त्रण गरिएको हो । कोरोना महामारीको कारण विद्यालयमा रहने विद्यार्थी, शिक्षक र कर्मचारीहरु उच्च जोखिममा रहेको सन्दर्भमा ती सामग्रीहरु उपलब्ध गराइएको नेपाली सहयोगी हातका सदस्य आशिष शर्माले बताए ।
‘कोरोना संक्रमणको दोस्रो लहर नेपालमा सुरु भइसकेको अवस्थामा अहिले शिक्षा क्षेत्र उच्च जोखिममा रहेको छ । बिद्यार्थीहरुको भीडभाडमा रहने शिक्षकहरुले खोप नपाउँदा शिक्षक र विद्यार्थी सहित अभिभावक पनि असुरक्षित छन् ।’ उनले भने, ‘यो बेलामा अरु नसकेपनि कोरोनाबाट बाँच्नका लागि सुरक्षा सामग्री हस्तान्त्रण गरियो भने केही हदसम्म भए पनि राहत हुन्छ भनेर सहयोगी हातले सामग्री वितरण गरेको हो ।’
सहयोगी हातका अध्यक्ष निखिलेस पुरी, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर बहादुर नेपाली लगायतको उपस्थितिमा ती सामग्रीहरु बाँडिएको थियो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै विद्यार्थीहरुलाई यसबाट सुरक्षित राख्न तथा उनीहरुको शिक्षण सिकाईमा असर पर्न नदीनको लागि कोरोना सुरक्षा सामग्री र शैक्षिक सामग्रीहरु वितरण गरिएको अध्यक्ष पुरीको भनाई छ । आफूहरुले समस्यामा परेका बिभिन्न व्यक्ति वा समुदायमा सहयोग गर्दै आएको नेपाली सहयोगी हातले सोही अभियान अन्तर्गत विद्यालयमा सहयोग गरेको उनको भनाई छ ।





