मुस्ताङ, १० वैशाख– हिमाली जिल्ला मुस्ताङ र म्याग्दीको सिमानामा शुक्रबार दिउँसो मोटरसाईकल सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । दुई जिल्लाको सिमानामा पर्ने काभ्रे भीरमा ग१८प १५९७ नंम्बरको मोटरसाईकल कालिगण्डकी खोँचमा खस्दा मोटरसाईकल चालक कास्कीको पोखरा महानगरपालिका–७ हेम्जाका ३८ बर्षिय शिवहरी पौडेलको मृत्यु भएको हो ।
मोटरसाईकल सडकबाट अनियन्त्रित भई झण्डै १ सय ५० मिटर तल कालिगण्डकी खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । पौडेल पोखराबाट मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ जाँदै थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मुस्ताङतर्फ आउँदै गरेको उक्त मोटरसाईकल गुडिरहेको अवस्थामै अन्दाजी दिउँसो साँढे एक बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।
मुस्ताङ र म्याग्दीको अत्यन्तै जोखिमयुक्त प्रवेशद्धारा काभ्रेभीर सडकमा मोटरसाईकल दुर्घटना भएको खबर प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक नविकृष्ण भण्डारीसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । यस्तै, दुर्घटनपछि घाँसा स्वास्थ्य चौकीको टोली सो स्थानमा पुगेको थियो ।





