बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सबै वडा उत्पादनमा जोड्दै गलकोट

सबै वडा उत्पादनमा जोड्दै गलकोट


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १३ २०७८, सोमबार

बागलुङ, १३ वैशाख– युवा रोजगारी बढाउन गलकोट नगरपालिकाले सबै वडाले मनग्ये कमाइ गर्न सक्ने गरी कृषि व्यवसायको अभियान थालेको छ ।
आत्मनिर्भर वडा बनाउन यो योजना उपयोगी भएको जनप्रतिनिधिले बताए । योजना अनुसार नगरपालिकाका ११ वटै वडालाई उत्पादनसंग जोडेर पकेट क्षेत्र कार्यक्रम बनाइएको नगरप्रमुख भरत शर्मा गैरेले बताए । यहाँका उत्पादनको सूचिकृत गरेर उत्पादन बजारमा ल्याउन थालिएको हो ।
गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीमा तरकारी र बाख्रापालन पकेट क्षेत्र घोषणा गरेर उत्पादनसमेत थालिएको हो । ‘वडाभित्र दर्जनबढी बाख्रा फारम बनिसकेका छन्, उनीहरुलाई बजारको खोजीमा समय बिताउन नपरोस् भनेर नगरपालिकाबाटै बजार खोजी गरिनेछ’ नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले भने, ‘घरघरमा अन्य कृषि कर्म गर्नेको पनि सम्मान भने भैरहेको छ ।’ व्यवसायिक गर्न चाहनेलाई नगरपालिकाले ३० प्रतिशतसम्म अनुदान दिने वा पशुसेवा कार्यालयको सेवासम्म पु¥याउने उनले बताए ।
वडा नं. २ मा बंगुरपालन विशेष क्षेत्र बनाइएको छ । यहाँका १५ किसानले व्यवसायिक बंगुर फर्म खोलीसकेका छन् । मध्यपहाडी लोकमार्ग र गलकोटको मुकामसम्मको सहज पहुँच भएकोले यहाँका किसानले बंगुरबाट मनग्ये कमाइ पनि गरेका छन् । ‘बंगुरपालन गरेकाहरुले लाखौं कमाउन थालेका छन्’ वडा सदस्य बिष्णु बिकले भनिन्, ‘एउटै बंगुरबाट लाख कमाउन सकिने रहेछ ।’ पाठापाठी खरिदको बेला नगरपालिकाले अनुदान दिएको उनले बताइन् ।
वडा नं. ३ मा फलफूल र तरकारी खेती बढी छ । हटिया बजारमा दैनिक तरकारी बेच्न पाएपछि किसान खुसी छन् । ‘हाइटेक बनाएर तरकारी खेती गरेको छु, बजार पनि सजिलो छ’ स्थानीय गुमानसिंह खत्रीले भने, ‘बाहिरबाट तरकारी नभित्राउने योजनाले अझै युवाहरुलाई कृषि फर्ममा आर्कषण गर्दैछौं ।’
वडा नं. ४ मा किवीको पकेट बनाउन ५ हजार बिरुवा रोपिएको छ । १५ हजार पु¥याउने लक्ष रहेको अगुवा किसान टिकाराम शर्माले बताए । ती बिरुवामा नगरपालिकाले अनुदान दिएको हो । वडा नं. ५ मा स्थानीय कुखुरा र तरकारी खेतीमै जोड दिइएको छ । पुरानो सदरमुकाम रहेको हरिचौर बजारको माग पुरा गर्न तरकारी र स्थानीय कुखुरा बढाइएको हो । यहाँका ललीत श्रीषले मात्रै कुखुरा फर्मबाट मासिक १५ लाख रुपैयाँको कारोवार गर्न सकेको बताए ।
गलकोट क्षेत्रकै सबैभन्दा ठूलो बसाहाफाँट रहेको वडा नं. ६ लाई धान उत्पादनको क्षेत्र मानिएको छ । यहाँका किसानले वर्षमा दुइ पटक धान फलाउँछन् । गलकोटका अधिकांस किसानले अझै बेसाहा खाँदैनन् भन्ने मान्यता रहेको वडा अध्यक्ष नरबहादुर खत्रीले बताए । वडा नं. ७ लाई गहुँ र पशुपंक्षी उत्पादन क्षेत्र बनाइएको छ ।
वडा नं. ८ लाई आलु पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । यहाँको थालेपोखरा, ज्यामिरे र उचाका बस्तीमा प्रसस्त आलु फलाउने गरिएको छ । किसानका लागि आलु भण्डारन केन्द्र पनि बनाइएको छ । वडा नं. ९ लाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँका किसानले वर्षेनी लाखौं रुपैयाँको मह बिक्री गर्दै आएका छन् ।
वडा नं १० पाण्डवखात्रीमा अदुवा र बेसार प्रसस्त फल्छ । किसानलाई बजारीकरणमा साथ दिने आश्वासनका साथ बेसार र अदुवानै उत्पादनमा अनुदान समेत दिइएको उपप्रमुख रेणुका काउचाले बताइन् । वडा नं. ११ को रिघामा पनि मौरी र बंगुरपालनलाइै प्रोत्साहन गरिएको हो । नगरपालिकाले चालु बर्षभित्रै कुल उत्पादन क्षमता र आयातको तुलनात्मक अध्ययन गरेर सबै फसलमा आत्मनिर्भर बनाउने तयारी समेत गरेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->