बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रोजगारीमा छिर्दै सुस्त श्रवणशक्ति भएका विद्यार्थी

रोजगारीमा छिर्दै सुस्त श्रवणशक्ति भएका विद्यार्थी

धेरै पढेकादेखि थोरै पढेका भएका विद्यार्थीसम्मले कुनै न कुनै रोजगारी खोजेका छन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७८, शुक्रबार

बागलुङ, १७ वैशाख – धौलागिरि बहिरा आवासीय माविमा कम्प्युटर इन्जिनियर पढेका विद्यार्थीमध्ये गत वर्ष पास भएका १० जनाले विराटनगरमा रोजगारी पाएका छन् । विराट बहिरा विद्यालयले १० जनालाई रोजगारी दिनेगरी बोलाएको बहिरा विद्यालयका शिक्षक पूजा किसानले बताइन् ।
गत वर्ष पास भएका यहाँका मिन काफ्ले र सुशिल निरौलाले काठमाडौंको चप्पल कारखानामा काम गर्छन् । रञ्जन निरौला र प्रज्वल सुवेदीले मिडिया हबमा काम गर्छन् । यो वर्ष परीक्षा सकेर बाहिरीएका २२ जनामध्ये १२ जनालेपनि विराटनगर जाने योजना बनाएका छन् । उनीहरु विद्यालयबाट बिदाइ भइसकेका छन् । कोरोना संक्रमण बढेकोले घर गएका उनीहरु अवस्था सामान्य भएपछि उतै रोजागरीमा लाग्ने योजनामा बसेको बहिरा बिद्यालयको सिटिइभिटी कक्षा संयोजक विजय श्रेष्ठले बताए ।
बागलुङ बजारका केही होटल तथा रेस्टुरेन्ट, बागलुङ कालीका भगवती मन्दिरजस्ता स्थानमा पनि बहिराले रोजगारी पाएका छन् । धेरै पढेकादेखि थोरै पढेकासम्मले कुनै न कुनै रोजगारी खोजेका छन् । केहीले रोजगारीको खोजी गर्न हिँडे पनि अधिकांशले पाएर काम थालिसकेको थकालीको भनाइ छ ।
कम्प्युटर इन्जिनियरको ३ वर्षे पढाइ पूरा गरेकालाई त हरेक स्थानमा अवसर मिल्ने विद्यालयका प्रअ रेशम श्रीष बताउँछन् । ‘विद्यार्थीले समय दिने र चाहना राख्ने हो भने धेरै कार्यालयमा पनि काम पाउन सक्छन्,’ उनले भने, ‘लगनशील बन्ने, तोकिएको काम समयमा पुरा गर्ने बानी उनीहरुमा हुन्छ ।’ आफ्नै विद्यालयबाट पास भएर गएका अधिकांशले रोजगारी पाएको सुन्दा खुसी लागेको उनले बताए ।
बहिरा विद्यालयमा शिक्षकसमेत अधिकांश बहिरा नै छन् । खेल क्षेत्रमा पनि बहिराले राम्रो गरेको बागलुङ नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए । राष्ट्रपति रनिङ शिल्डको नगर र जिल्ला स्तरीय खेलका अधिकांस पदकमा बहिराले दाबी गर्दै पदक जितेको उनले अनुभव सुनाए ।
पछिल्लो समय मेला महोत्सवमा पनि बहिरा राख्ने चलन छ । तोकिएको पारिश्रमिक दिएर राखिएका बहिराले इमान्दारपूर्वक काम गरेको मेला महोत्सवका आयोजकको अनुभव छ । ‘काम इमान्दारी भएर गरेका छन्, त्यसैले उनीहरुको खोजी हुन्छ,’ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने, ‘सक्ने रोजगारी सबैले दिंदा बहिराहरुमा उत्साह बढ्न सक्छ ।’ सांकेतिक भाषा जानेकोले उनीहरुमा काम गर्न कुनै अप्ठ्यारो हुँदैन । मोबाइल, कम्प्युटर लगायतबाट धेरै काम सिकेर गर्न सक्ने भएका छन् ।
बागलुङमा २ वर्षदेखि सञ्चालित विभिन्न सिपमूलक तालिममा पनि बहिराले सहभागिता जनाउन थालेका छन् । प्लम्बिङ, हाउस वायरिङ लगायतको तालिममा बहिराले चासो दिएका हुन् । तालिम पाएकाले घरमै बसेर रोजगारी भेटेका छन् । अन्य काम भ्याएर सीपको कामबाट दोहोरो कमाउन सकेको बहिरा संघ बागलुङका अध्यक्ष सन्तोष पौडेलले बताए ।
आबस्यक तालिम पाएमा सरकारी कार्यालय र अन्य बित्तीय संस्थामा समेत उनीहरुले काम गर्न सक्ने सन्तोष पौडेल बताउँछन् । ‘बहिराको काम र मेहेनत बुझ्न सबैले सांकेतिक भाषा सिक्नुपर्छ’ पौडेलले भने, ‘हरेक सरकारी कार्यालयमा सांकेतिक भाषा जानेको व्यक्ति र हेल्प डेक्स राख्नुपर्छ ।’ अन्य प्रकारका अपांगसँग सोझै कुरा गर्न सकेपनि कर्मचारी र सर्वसाधारणले बहिरासँग बोल्दा सांकेतिक भाषा जानेको चाहिन्छ । त्यसैले उनीहरुले पटक पटक माग गरेका छन् । परिचयपत्र बनाउने सन्दर्भमा पनि दोभासे चाहिने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->