मुस्ताङ, २० वैशाख – कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि मुस्ताङमा त्रासदी छ । पहिलोपटक एकजना संक्रमित महिलाको मृत्यु भएपछि मुस्ताङ शोकमग्न छ । हिमाल पारीको जिल्ला लामो समय सक्रिय संक्रमित नरहेको जिल्लाका रुपमा चिनियो ।स्थानीय स्तरमै कोरोना महामारी फैलिएपछि १२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
केही साताअघिसम्म ‘ग्रीन जोन’मा परेको मुस्ताङमा पर्यटकीय गतिविधि बढेसँगै कोरोनाको जोखिम बढेको थियो । चैतेदशैँ, औँशी, नयाँ वर्ष र रामनवमीलगायतका पर्वहरुमा धार्मिक पर्यटक मुस्ताङ भित्रिएका थिए । जसका कारण मुस्ताङमा कोरोना जोखिम बढेको अनुमान छ ।
छिमेकी देश भारतसँगै नेपालमा पनि कोरोनाको दोश्रो लहर फैलिएपछि मुस्ताङ जिल्लाको सीसीएमसी आकस्मिक बैठकले गत बैशाख ११ गतेदेखि मुक्तिनाथ मन्दिर बन्द ग¥यो भने विवाह, व्रतबन्ध, भोजभतेर, सभा–समारोह र धार्मिक मठमन्दिर, गुम्बा र चर्चहरुमा गरिने नियमित पूजापाठबाहेक सबै गतिविधिमा रोक लगायो ।
तर, कोरोना भाइरसको उच्च जोखिम र यसको नियन्त्रणका लागि सरकारी मापदण्डलाई चुनौती दिँदै वैशाख १६ गतेदेखि भारतीय जम्बो चलचित्र छायांकन टोली मुस्ताङमा छ । भारतमा कोरोनाको जोखिम उत्कर्षमा पुगेका बेला भारतीय चलचित्रकर्मी मुस्ताङ आएपछि स्थानीयबासीमा कोरोनाको त्रास बढेको छ ।
सूचना तथा संञ्चार मन्त्रालयको अनुमति लिएर मुस्ताङमा छायांकन गर्न आएको बताउने उनीहरुले खुलेआम मुस्ताङमा छायांकन गरिरहेका छन् । मुस्ताङमा भारतीय चलचित्र छायांकनका लागि आएको उक्त टोलीमा करिव ५०÷६० जना छन् ।
जसमा ४÷५ जना नेपाली कलाकार पनि छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जम्बो भारतीय चलचित्रकर्मीको टोलीले संञ्चार मन्त्रालयको अनुमति लिएको र चलचित्र छायांकनलाई सरकारले रोक लगाइनसकेकाले जिल्ला प्रवेशको अनुमति दिएको बताएको छ । सहायक प्रजिअ जगदीश अर्यालले भारतीय चलचित्रकर्मी टोलीलाई गाउँबस्तीमा नभइ बस्तीभन्दा पर छायांकन गर्नुपर्ने सुझाएको बताए ।
निकै महंगो लागतको दावी गरिएको सिनेमास्कोप भारतीय चलचित्रको छायांकन टोलीले मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, स्याङ, मार्फा, टुकुचे, ढुम्बाताल र नाउरीकोटलगायत गाउँमा सुटिङ गर्ने जनाए पनि कोरोना जोमिखका कारण स्थानीयले सुटिङ गर्न दिएनन् ।
प्रशासनले बस्तीदेखि टाढा भने पनि उनीहरु बस्ती नजिक नै सुटिङ गर्न चाहन्थे । तर, प्रत्येक गाउँहरुमा अवरोधपछि उनीहरुले निर्धक्क सुटिङ गर्न नसकेको बताउँछन् । मुस्ताङको घरपझोङ–३ पुथाङ एयरपोर्टको दुई वटा होटलमा बसेका उनीहरुले सुटिङमा एक बस र ५ वटा स्कार्पियो गाडी भाडामा लिएका छन् ।
आफूहरु पीसीआर रिपोर्टसमेत लिएर आएको बताउने उनीहरुले सुटिङ स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड समेत पालना नगरी बेवास्ता गरेको स्थानीय बताउँछन् । स्थानीयले पर्यटन प्रर्वद्धनमा चलचित्र छायांकनले महत्वपूर्ण टेवा पु¥याउने भनिए पनि कोरोना महामारीको समयमा सबै खाले पर्यटकीय गतिविधि रोकिनु पर्ने तर्क गरेका छन् ।





