बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कोराना कहरबीच धमाधम बिकास निर्माण काम

कोराना कहरबीच धमाधम बिकास निर्माण काम


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २८ २०७८, मंगलबार

बागलुङ, २८ वैशाख– कोरोना संक्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तिय संस्था र नीजि क्षेत्र पूर्ण रुपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भैरहेका छन् ।
सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् । विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको हो । ‘कामलाई रोकिएको छैन, निर्माण सामाग्री ढुवानीमा पनि सहज वातावरण छ, त्यसैले समयमा सक्नेगरी काम भैरहेका छन्’ डिभिजन कार्यालयका एक कर्मचारीले भने, ‘कोरोना संक्रमणको जोखिमसँग भने ख्याल गर्न लगाएका छौं ।’
मालढुंगाादेखि कुश्मीसेरा जाने सडक, बुर्तिवाङदेखि ढोरपाटन जाने वैकल्पिक सडक लगायतका ठूला आयोजनामा नियमित काम भएको उनले बताए ।
गत वर्ष पहिरोले बगाएपछि बोबाङहुँदै जाने ढोरपाटन सालझण्डी सडक आयोजनाको काम पुरा हुन नसक्ने देखिएको छ । वर्षातमा सडक अबरुद्ध हुन सक्ने आंकलन भैरहेको बेला गादीखोला छेन्टुङ ढोरपाटन सडकमा काम भएको हो । जिल्ला समन्वय समितिमार्फत गरिएको अनुगमनमा पनि नियमित काम भएको देखिएको उपप्रमुख बिष्णु भुषालले बताए ।
‘पहिला पनि काम भएको रहेछ, अहिले पनि नियमित काम भैरहेको छ’ भुषालले भने, ‘काम पनि राम्रो गरेको भेटियो ।’ ढोरपाटन नगरपालिका वडा नं. ५ को गादीखोलादेखि वडा नं. ६ को तोगाडि छेन्टुङहुँदै वडा नं. ९ को ढोरपाटन आरक्ष पुग्ने २० किमी सडक निर्माण भैरहेको हो ।
अहिलेसम्म यो सडकको झण्डै १७ किमी ट्रयाक खुली सकेको छ । त्योमध्ये १० किमी सडक चालु वर्षदेखिनै ग्राभेल गर्ने र आगामी वर्ष कालोपत्रे गर्ने योजना रहेको पूर्वाधार बिकास कार्यालयका सव–इन्जिनियर प्रकाश श्रीषले बताए । तल्लोखण्ड कालोपत्रेका लागि ठेक्कासमेत गैसकेको हो । श्रेष्ठ ग्लाल्बो क्याराभान संयुक्त निर्माण कम्पनी’ले एक वर्षअघिनै सम्झौता गरेर आधा काम सकिसकेको छ । २५ करोड २६ लाख ८० हजार रुपैयाँमा सम्झौता गरेको ठेकेदार कम्पनीले असारसम्म ग्राभेल गरिसक्ने लक्ष राखेको छ । सम्झौता अवधिभित्रै कालोपत्रे गरिसक्ने योजना कम्पनीका इन्जिनियर श्याम भण्डारीले जानकारी दिए । कोराोना संकटको समयमा पनि भएका मजदुरलाई नियमित खटाएर काम गरिएको उनले जानकारी दिए ।
माथिल्लो १० किमीमध्ये ७ किमी खण्डमा पनि ठेक्का भएर काम सुरु भएको छ । यो सडकले ढोरपाटन आरक्षको छेन्टुङहुँदै म्याग्दीको गुर्जासम्म जोड्नेछ । यो सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र पूर्वाधार विकास कार्यक्रमको संयुक्त बजेटबाट चालु वर्ष ५ करोड बजेट बिनियोजन भएको छ । एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रममा सूचिकृत भएर माथिल्लो खण्डमा काम भएको हो । स्थानीयले पनि सडक निर्माणमा सहजीकरण गरिरहेका छन् । यहाँको खर्सुबोट स्टिल ट्रस्ट पुल निर्माण पनि भैरहेको हो ।
पालिका तहका सडक र अन्य विकासे आयोजना पनि नियमित रुपमा निर्माण भएका छन् । जैमिनी नगरपालिका वडा नं. २ मा निर्माण भएका आयोजना अनुगमन समेत भैसकेको इन्जिनियर विवेक सापकोटाले बताए । ‘कोरोना कहरबीच पनि काम भएका छन्, केही सकिएका छन्, केही निर्माणाधिन छन्’ सापकोटाले भने, ‘सामाजिक दुरी कायम गरेर काममा मजदुर खटाइएको छ ।’ सडक निर्माणसँगै व्यक्तिगत रुपमा निर्माणाधिन घरका लागि पनि प्रशासनले नियमित काम गर्न दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->