बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका अधिकांश पसलमा छैन मूल्यसूची

बागलुङका अधिकांश पसलमा छैन मूल्यसूची


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २९ २०७८, बुधबार

बागलुङ, २९ वैशाख– बागलुङ बजारभित्र अत्यावश्यक सामानको व्यवसाय गर्नेले मूल्यसूची नराखेको, खाने तेलको मूल्य बढाएको र दर्ता नगरेर कर छली गरेको भेटिएको छ । बागलुङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र उपभोक्ता मञ्चले थालेको बजार अनुगमनको क्रममा अधिकांशले मूल्यसूची नराखेको भेटिएको हो ।
मूल्यसूची नराखेपछि मनलाग्दी मूल्यमा सामान बेच्ने गरेको भेटिएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङकी प्रमुख गुमा रिजालले बताइन् । मंगलबार अनुगमन गरिएका अधिकांश पसलमा मूल्यसूची नभएको रिजालले बताइन् । ‘मूल्य सूची नराखेपछि उपभोक्ता हेरी फरक मूल्यमा बेचेको भेटिएको छ,’ रिजालले भनिन्, ‘पटक पटक चेतावनी दिइसकेकाले पनि मूल्यसूची नराखेर अटेर गरेको भेटिएको छ ।’ लकडाउनको अवस्था भएकोले कतिपयलाई अन्तिम पटक चेतावनी दिएर फर्केको रिजालले जानकारी दिइन् ।
अनुगमनको क्रममा खाने तेलमा भने अत्याधिक मूल्य वृद्धि गरेको भेटिएको हो । निर्वाध रुपमा आयात भइरहेपनि व्यापारीले महंगो मूल्य तिराउने, कृत्रिम अभाव हुने देखाएर बढी मूल्य परेको भन्ने गरेको जस्ता समस्या भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रामप्रसाद शर्माले जानकारी दिए । ‘अखाद्य वस्तु पनि बेचेका छन्, कतिपयले म्याद गुज्रेको वस्तु बेचेको पनि भेटिएका छन्,’ शर्माले भने, ‘छानविन गरेर उनीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।’
बजार अनुगमनको क्रममा अधिकांश किराना पसल, दूधजन्य सामान बेच्ने र कृषि वस्तु बेच्ने र होटल समेत दर्ता नगरी चलाएको भेटिएको बागलुङ नगरपालिकाका योजना तथा अनुगमन अधिकृत युक्तप्रसाद सुवेदीले बताए । दर्ता नगरी चलाउँदा नगरपालिकाले पाउनु पर्ने करसमेत छली भएको हो । दुइतीनवटा व्यवसाय चलाएकाले एउटै पाना नम्बर राखेको भेटिएको छ । मंगलबार मात्रै टोलीले १७ वटा पसलमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->