बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमानखोलाको पानी उपयोगले गाउँनै झिलीमिली

तमानखोलाको पानी उपयोगले गाउँनै झिलीमिली


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७८, बिहिबार
फाईल तस्विर

बागलुङ, ३० वैशाख– ढोरपाटन नगरपालिका–९ खुंगाका दीर्घलाल गैरेको घरमा अहिले झिलीमिली बत्ती छ । धिपीधिपी बल्ने बत्ति बालेको लामो समय पछि उनको घर भिलिमिली भएको हो । खुंगामा केन्द्रिय प्रसारण लाईन पुगेको छैन ।
स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालेको बिजुली गाउँभरी बाँड्दा कहिले बत्ति उज्यालो बल्थ्यो कहिले धिपधिपे । खुंगमा केहि वर्ष पहिले ‘भालिवाङ जलविद्युत आयोजना पहिलो’ सञ्चालन थियो । ३० किलोवाट क्षमताको उक्त आयोजनाले गाउँमा विद्युत नपुगेपछि अहिले सोही खोलामा भालिवाङ जलविद्युत आयोजना दोस्रो सञ्चालनमा आएको गैरेले बताए । तमानखोलामा निर्माण भएको उक्त आयोजनाले ढोरपाटन नगरपालिका–४ खुंगाका गाउँहरु भिलीमिली बनाएको हो ।
‘पहिलेको आयोजना निकै टाढाबाट नहर निर्माण गरेर ल्याएको थियो, बेला बेलामा समस्या आईरहने’ गैरेले भने ‘अहिले ८० मिटरको नहर छ, १०० किलोवाट बिजुली निस्किएको छ ।’ आयोजना निर्माणमा ४ करोड बढी लगानी भएको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको आर्थिक अनुदान, नगरपालिकाअन्र्तगत वडाको बजेट र स्थानीय जनताको जनश्रमदान गरि ४ करोड बढी लगानी लागेको आयोजनाका मेनेजर समेत रहेका दीर्घलाल गैरेले बताए ।
यहाँ उत्पादन भएको विद्युतले खुँगाको छोरेगाउँ, सोरबाङ, भालिवाङ र खुँगा गाउँलाई उज्यालो पुगेको छ ।
पहिलेको आयोजनाले गाउँलाई विजुली अपुग भएपछि फेरि नयाँ योजना ल्याइएको आयोजनाका अध्यक्ष गणेश थापाले बताए । आयोजनाले वैकल्पिक उर्जा प्रबर्धन केन्द्रबाट पाउनुपर्ने केही रकम भने अझै पाएको छैन । भालिवाङ जलविद्युत आयोजना निर्माणमा वैकल्पिक उर्जा प्रर्वद्वन केन्द्रको २ करोड ८ लाख अनुदान सहयोग रहेको छ । वडा कार्यालयबाट ९० लाख रुपैयाँ विनियोजन गरिएको वडा अध्यक्ष तिलक पुनले बताए ।
खुंगाका ३ सय ८८ घरधुरी लाभान्वित हुनेगरि निर्माण गरिएको जलविद्युत आयोजना निर्माणका लागि स्थानीय उपभोक्ताबाट प्रति घरधुरी ५ हजारका दरले नगद सहभागिता रहेको थियो । स्थानीयले श्रमदान समेत गरेको वडा कार्यालयले जनाएको छ ।
गाउँमा विद्युत उत्पादन भएपछि स्थानीय स्तरमा चल्ने मिल, फर्निचर उद्योग, टेलिकम टावर, कुखुरा फर्म लगायतका उद्यगहरुमा सहज भएको छ । सञ्चारका साधनहरु चलाउन स्थानीयलाई सहज भएको स्थानीय उपभोक्ता विरसिंह छन्त्यालले बताए ।
बागलुङको कर्णाली भनेर चिनेने ढोरपाटन नगरपालिकाको खुंगा गाउँका स्थानीय अहिले निकै खुसी छन् । बुर्तिबाङ बजारमा यसै बर्ष पुगेको केन्द्रिय प्रसारण लाईन गाउँमा पुग्न केही समय लाग्ने भएकाले भालिवाङ दोस्रो आयोजनाले गर्जो टारेको वडाध्यक्ष पुनले बताए ।
‘केन्द्रिय प्रसारण लाईनका लागि हामीले पहल कदमी गरेका छौं, तत्कालको समस्या यो आयोजनाले पुरा गरेको छ’ पुनले भने ‘केन्द्रिय प्रसारण लाईनको पहुँच पुग्दा पनि साना आयोजनाको उपयोग गर्ने योजना बनाएका छौं ।’
पश्चिम बागलुङका ढोरपाटन, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका अधिकांश बस्तिहरुमा स्थानीय खोलामा उत्पादन भएका लघु जलविद्युत आयोजनाहरुबाटनै विद्युत आपुर्ति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->