पोखरा, ३० वैशाख – पर्सामा अवैध वित्तीय कारोवार (हुण्डी) कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ८२ लाख ५० हजार रुपैयाँ सहित ना.८ प ४८९७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
भारतको विहार मोतिहारी रक्सौल घर भइ वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर पानीटंकी बस्दै आएका २७ वर्षीय विकास कुमार, विहार मोतिहारी रक्सौलका २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारीका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका–४ का १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनीहरू विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान भइराखेको खनालले बताए ।





