
पोखरा, १ जेठ– गण्डकी प्रदेश सरकारले २ वर्षअघि नै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट व्यवस्था ग¥यो । अक्सिजन प्लान्ट राख्न मनाङ र मुस्ताङलाई ६५÷६५ लाख र अन्य जिल्ला अस्पताललाई ७५ लाखका दरले उपलब्ध गराएको सामाजिक विकास मन्त्रालय अन्तर्गत अस्पताल विकास शाखा प्रमुख डा. रामबहादुर केसी बताउँछन् ।
प्रदेशले बजेट पठाए अनुसार गण्डकीका अधिकांश जिल्ला अस्पतालहरुले अक्सिजन प्लान्ट राखेका छन् । गोरखा जिल्ला अस्पतालमा शुक्रबा मात्र अक्सिजन प्लान्ट राखिएको छ भने बाग्लुङ, बेनी, पर्वत, स्याङ्जा र नवलपुरमा अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेको डा. केसीले बताए ।
यता, तनहुँ जिल्ला अस्पतालले अक्सिजन प्लान्ट राख्न ठेक्का सम्झौता गरिसकेको छ भने लमजुङ जिल्ला अस्पतालमा १ साताभित्र सञ्चालनको तयारी छ । मुस्ताङमा अक्सिजन प्लान्ट मार्फत सीधै बिरामीलाई दिने गरी अक्सिजन प्लान्ट सञ्चालन गरेको छ भने मनाङमा थ्रि फेज लाइन नहुँदा प्लान्ट सञ्चालनमा समस्या आएको डा. केसीले बताए ।
पोखराको मातृशिशु अस्पतालमा पनि अहिले अक्सिजन प्लान्ट सञ्चालनमा छ । अक्सिजन प्लान्ट सञ्चालन हुन नसकेका जिल्लामा छिटो काम गर्न निर्देशन दिएको डा. केसीले बताए । पोखरा पछि सबैभन्दा धेरै संक्रमित रहेको धौलागिरि प्रादेशिक अस्पतालले २ वर्षअघिदेखि नै अक्सिजन प्लान्ट सञ्चालन गरेको अस्पताल प्रमुख डा. शैलेन्द्र पोखरेलले बताए ।
धौलागिरी अस्पतालमा अहिले ३५ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरु सबै गम्भिर प्रकृतिका रहेका छन् । जिल्लामा रहेका अन्य स्वास्थ्य संस्थामा उपचार हुन नसक्ने बिरामीलाई मात्रै उक्त अस्पतालमा ल्याउने गरेको डा. पोखरेल बताउँछन् ।
‘सबै बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ, पाइपलाइनबाट अक्सिजन दिएका छौं’, डा. पोखरेलले भने, ‘अक्सिजन प्लान्ट २४ घण्टा चलाएका छौं ।’ उनका अनुसार एक जना बिरामीलाई १ मिनेटमा ७० लिटरसम्म अक्सिजन दिनुपरेको छ ।
कोरोना भाइरसको महामारी अहिले तीब्र रुपमा बढिरहेको छ । धौलागिरी अस्पतालमा चैत महिनामा ८ जना मात्रै कोरोना संक्रमितले उपचार गरेका थिए । बैशाख महिनामा ६५ जनाले उपचार गरेको अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढेका कारण अस्पतालमा रहेका २५ बेडबाट अहिले ३५ बेड पु¥याइएको छ । अझै बेड थप्न ठाउँको खोजी गरेको अस्पताल प्रमुख डा. पोखरेल बताउँछन् । अक्सिजन प्लान्टले मात्रै धान्न नसक्ने अवस्था आउला भनेर अस्पतालले ६५ वटा सिलिन्डर ब्याकअपमा राखेको छ । अस्पतालको अक्सिजन प्लान्टबाट दैनिक ३२ सिलिन्डर अर्थात ६ हजार ५ सय लिटर अक्सिजन उत्पादन गर्छ । अस्पतालको प्लान्टबाट सिलिन्डरमा भर्ने मेसिन नहुँदा समस्या भएको डा. पोखरेलले बताए ।
‘हामीले अक्सिजन प्लान्टबाट पाइपलाइन मार्फत सिधै बिरामीलाई अक्सिजन दिन्छौं’, उनले भने, ‘फिलिङ नहुँदा सिलिण्डर भर्न पोखरा पठाउनुपर्छ ।’ बेनी अस्पताल म्याग्दीले सिलिन्डरमा पनि भर्न मिल्ने गरी अक्सिजन प्लान्ट स्थापना गरेका छन् । उक्त अस्पतालले पनि अहिले प्लान्ट मार्फत नै संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरेको जनाएको छ ।
कोरोनाको दोस्रो लहरमा संक्रमित भएकाहरुलाई धेरै अक्सिजन चाहिएको अस्पतालहरुले जनाएको छ । अक्सिजन प्लान्ट स्थापना गर्न ठेक्का संझौता गरेको दमौली अस्पतालले पोखराबाट दिनहुँ अक्सिजन ओसार्नुपरेको छ । अस्पतालमा अहिले जम्मा ४० वटा मात्रै अक्सिजन सिलिण्डर रहेको अस्पताल प्रमुख डा. सुनिल पौडेलले बताए ।
दमौली अस्पतालमा अहिले १८ जना कोरोना संक्रमित छन् । संक्रमितको उपचार गर्न १६ बेड छुट्याएपनि बिरामी बढेकाले २ बेड थप गरेको डा. पौडेलले बताए । यस्तै, अस्पतालको आकम्सिक कक्षमा पनि ५ जना संक्रमित उपचाररत रहेको उनले बताए ।
‘ज्वरो आएर बिरामी आउनुहुन्छ, पिसिआर टेष्ट गर्न पठाउँदा रिपोर्ट पोजेटिभ आउँछ’, डा. पौडेलले ढोरपाटनलाई भने, ‘कोरोनाको उपचार गर्न धेरै बेड चाहिने भएकाले हामीले तयारी गर्दैछौं ।’
अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारले अघिल्लो वर्ष नै दमौली अस्पताललाई ७५ लाख दिएको थियो । उक्त योजना अहिले आएर मात्रै ठेक्का संझौतामा गएको अस्पताल प्रमुख पौडेलले बताए । ‘हामीले ठेकेदार कम्पनीलाई छिटो बनाइदिनुप¥यो, सकेसम्म एक हप्ता भित्रै भनेका छौं’, उनले भने । अक्सिजन प्लान्ट नहुँदा खाली सिलिण्डर पोखरा लैजाने र भरेर ल्याउने गरेको उनले बताए ।
प्रदेशभरका जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बनाउन कोरोना महामारी आउनुअघि नै प्रदेश सरकारले बजेट दिएको सामाजिक विकास मन्त्रालयका अस्पताल महाशाखा प्रमुख डा. केसीले बताए । ‘अस्पतालहरुले समयमै काम गर्न सकेका भए अहिले अक्सिजनको अभाव हुने थिएन’, उनले भने, कहीं ढिलासुस्ती भयो, कहीं बिजुली लगायत अरु समस्या आयो ।’
जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्न बजेट दिएर बसेको प्रदेश सरकार त्यसलाई पुरा गराउन चासो दिएन । जिल्ला अस्पतालमा बजेट भएर पनि अस्पताल आँफैले टेण्डर मार्फत अक्सिजन प्लान्ट राख्न ढिलाई गरेको डा. केसी बताउँछन् ।
‘अक्सिजन प्लान्ट खोल भनेर २ वर्षअघि बजेट दियौं, अहिले आएर पुरा हुँदैछ’, डा. केसीले भने, ‘यस्तै त हो नि, नेपालको काम ।’
पोखराकै अस्पतालमा छैन अक्सिजन प्लान्ट
पोखरामा रहेका अधिकांश सरकारी र निजी अस्पतालमा भने अहिलेसम्म अक्सिजन प्लान्ट छैनन् । गण्डकी प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि अक्सिजन प्लान्ट छैन ।
उक्त अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न गत वर्ष नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट दिने भनेको थियो । अस्पताल भवन रेट्रोफिटिङसँगै अक्सिजन प्लान्ट स्थापना गर्ने योजना भएकाले त्यतिबेला मन्त्रालयले दिने भनेको बजेट अस्विकार गरेको प्रतिष्ठानका तत्कालीन कुलपति डा. बुद्धिबहादुर थापाले बताए ।
उक्त अस्पतालमा २०७२ सालमै बुद्ध फाउण्डेसन मार्फत अक्सिजन प्लान्ट राख्न ६० लाख रुपैयाँ लिएपनि प्लान्ट स्थापना गर्न नसकेको डा. थापाले बताए । ‘मैले अवकाश लिएपछि त्यतिबेला अक्सिजन प्लान्ट राख्ने योजना पूरा भएन’, उनले भने, ‘२ वर्षपछि म कुलपति भएर जाँदा भवनको रेट्रोफिटिङको योजनामै अक्सिजन प्लान्ट बनाउने योजना देखेपछि त्यो योजना अघि बढाइन ।’
डा. थापासहित सरकारी अस्पतालमा कार्यरत अन्य डाक्टरहरुले लगानी गरेर अहिले पोखरा अक्सिजन उद्योग सञ्चालनमा छन् । सरकारी अस्पतालका डाक्टरले निजी उद्योगमा लगानी गरेर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न नदिएको भन्दै डा. थापा सहित अन्य डाक्टरहरुको आलोचना भएको छ ।
डा. थापा भने पोखरा अक्सिजन ग्यास उद्योग चलाउन आफूहरुको मात्रै नभई अन्य व्यवसायीको पनि लगानी भएको बताउँछन् । पोखरा अक्सिजनबाट सरकारले काठमाडौं समेत अक्सिजन लगेको भन्दै उनले थपे, ‘हामीले अक्सिजन ग्यास स्थापना नगरेको भए अहिले अक्सिजनको कति हाहाकार हुन्थ्यो होला, यसलाई सकारात्मक लिनुप¥यो ।’
यता, प्रदेश सरकारले कोरोना संक्रमितको उपचार गराउन स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि अहिलेसम्म अक्सिजन प्लान्ट छैन । लेखनाथ सामुदायिक लायन्स अस्पतालका रुपमा स्थापित यस अस्पताललाई यसै आर्थिक वर्षदेखि सञ्चालन गर्ने गरी प्रदेश सरकारले स्वामित्व लिएको थियो ।
उक्त अस्पतालमा अक्सिजन प्लान्ट राख्न १ करोड ४० लाख रुपैयाँ बजेट निकासा दिइसकेको डा. केसी बताउँछन् । ‘संक्रामक अस्पतालमा पनि अब १ हप्ताभित्र अक्सिजन प्लान्ट सञ्चालनमा आउँछ’, उनले भने । उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न ५० बेड बनाइएको छ । तर क्षमता भन्दा बढी बिरामी राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै नभई पोखराका अन्य ठुला अस्पतालमा पनि अहिले अक्सिजन प्लान्ट छैन । पोखराको मणिपाल शिक्षण अस्पताल र फिष्टेल अस्पतालका अक्सिजन प्लान्ट बिग्रिएको छ । यी दुबै अस्पतालका अक्सिजन प्लान्ट तत्काल बनाउन भनेको डा. केसीले बताए ।
पोखराका गण्डकी मेडिकल कलेज र फेवासिटी अस्पताल, मातृशिशु अस्प्तालमा रहेको अक्सिजन प्लान्ट भने सञ्चालनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





