
मुस्ताङ, १ जेठ– कालीगण्डकी नदीमाथी यहाँका दुई गाउँ जोड्नेगरी मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङ गाउँ र वडा नं. २ को तल्लो मार्फा गाउँलाई जोड्नेगरी पक्कि पुल निर्माणको काम सुरु भएको हो ।
कोरोना महामारीबीच निर्माण कम्पनीले पुलको प्रारम्भिक काम थालेको जनाएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वधार मन्त्रालयले यो पुल निर्माण थालेको हो । मुस्ताङ जिल्लामै पहिलो ‘पाएल’ प्रविधिबाट निर्माण हुने यो पुल ७ करोड ८० लाख २४ हजार रुपैयाँको लागतमा सम्पन्न हुनेछ ।
६४ मिटर १० सेन्टीमिटर लम्बाई र ८ मिटर ४० सेन्टीमिटर चौडाईमा निर्माण हुने पक्कि पुलमा दायाँबायाँ दुबैतर्फ १ मिटर २० सेन्टीमिटर फुटपात निर्माण हुने पुर्वधार विकास कार्यालय जोमसोमका कार्यालय प्रमुख बिष्णु पौडेलले बताए । पुल निर्माणको जिम्मा पाएको देवेन सायर कन्स्टक्सन प्रालि काठमाण्डौले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ ।
कोरोना महामारीको असर नपरे एक वर्षमा पुल निर्माण भैसक्नेगरी सम्झौता भएको इन्जिनियर पौडेलले बताए । यो पुल निर्माणपछि छैरो चिमाङ गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारीकरणका लागि सहज हुनेछ भने छैरो गाउँ जाने यात्रुलाई सवारीको आवतजावतमा सहज हुने स्थानीय बताउँछन् ।
हिउँदमा मात्रै सवारी चल्ने छैरो गाउँमा बाह्रै महिना सवारी चल्ने घरपझोङ गाउँपालिका–१ का अध्यक्ष आइत प्रसाद थकालीले बताए । समयमा पुल निर्माणको काम सक्न छैरो चिमाङ गाउँका स्थानीयले सम्बन्धित निकायमा खबरदारी समेत थालेको अध्यक्ष थकालीले बताए । कालीगण्डकीमा पुल नहुँदा स्थानीयले वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्ने गरेका थिए ।
हिउँ पग्लिने समयमा उर्लिने कालीगण्डकीले छैरो गाउँका सर्वसाधारणलाई निकै दुख दिने गरेको स्थानीय बताउँछन् । पुलको अभावमा पोखराबाट मार्फासम्म ढुवानी गरेर ल्याएको सामानभन्दा चिमाङ छैरा गाउँबाट मुल सडकसम्म उत्पादित सामान पु¥याउँदा ढुवानी महंगो पर्ने गरेको थियो । ‘हाम्रा कयौं दाजुभाई दिदीबहिनीले कालीमा हेलिएर ज्यान गुमाएका घटना पनि छन्’ अध्यक्ष थकाली भन्छन् ‘अब हामीलाई सहज हुन्छ भन्ने लागेको छ ।’





