टीकाधाराका भीरमा बुकी काटेर पाणाबाच्छा पाल्न नपर्दासम्म
खर्च बोकेर फागुनेको द्यौराली काट्न नपरेसम्म
यी निक्कै सुन्दर लाग्नेछन् !
सुर्तिबाङसित कुनै सहकार्य गर्नुपर्दैन जबसम्म
दिजाबाट झाँप्रो काट्न महवीर, ङन्जापुरतिर उकालो लाग्न नपरेसम्म
वा,
ठेकाभाँडा बोकेर दहतिरको बाटो सोझ्याउनु नपरेसम्म
टाढैबाट हेर्दा यी सबै सुन्दरै लाग्नेछन् !
गर्पा भन्नुस् कि लाम्धारा
परैबाट हेर्नलाई सुन्दर छन्
पदमचाल भाँचेर ल्याउँदासम्म
अमिलको स्वाद सम्झेर आनन्दै लाग्ला !
चेतनारायण पौडेल
डोको सुन्दर देखेर रमाउनु र डोको बुनेर काममा लगाउनु
फरकफरक विषय हुन् महाशय,
भालुसित जोगिंदै वनवनमा घुम्नु
गजिङ,मालिङ चिन्नु
जिनाजिना छान्नु
भारी पुगुञ्जेल काट्नु
सम्हालेर घरसम्म र गोठसम्म ल्याइपुराउनु
नओइलाउँदै चोयाँ काढ्नु
धारिला चोयाँसित खेल्दै
हात बँचाउँदै
कलात्मकता दिंदै
इन्जिनियरिङ डोकाको गर्नु !
भकारी, बलाङ र मान्द्राहरू
डाला, फुङा, सोली र डेलीहरू
परैबाट हेरेर आनन्द लेऊ
यिनको निर्माणको इन्जिनियरिङ
तिम्रो बसको कुरै हैन ।
एकपटक हेरेर आनन्द लेऊ दैले खगर
कटेर फलियाघरतिर, बिना सँगी जाने कोसिसै नगर
दहखर्कको दुग्ध प्रशोधन केन्द्रको कुनै निसाना भए हेर
सेचुङ हेर, दल्सिङे द्यौरालीमा बिसाइ मार र पसिना ओभाऊ
मन्चुङ मेला त अलि टाढा मानौला, थालखर्कसम्म पुग्छौ कि
भेंडीगोठ हेरेर फर्कनू , झिपमा पाठा बोकेर गुर्जाघाटतिर झर्ने प्रयत्न नगर्नू !
टाढैबाट हेर्नलाई सुन्दर छ बुकी !!!





