बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चार वर्षमा चार किलोमिटर कालोपत्रे

चार वर्षमा चार किलोमिटर कालोपत्रे


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ८ २०७८, शनिबार
फाईल तस्विर

बागलुङ, ८ जेठ– स्थानीय सरकार गठन भएपछि बितेका चार वर्षमा जिल्लाको जैमिनी नगरपालिकाले चार किलोमिटर पक्कि सडक र साढेचार किमी पक्की नाली निर्माण गरेको छ । जैमिनीमा एक मिटर समेत कालोपत्र सडक थिएन ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र नगरपालिकाको लगानीमा चार वर्षमा चार किमी सडक निर्माण गरिएको हो । चार वर्षका कामको १८ बुँदे विवरण सार्वजनिक गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले सडक, शिक्षा, पर्यटन र भवन निर्माणका कामलाई प्राथमिकताका साथ सम्पन्न गरेको दाबी गरेका छन् ।
विवरण अनुसार पालिका मुकाम कुश्मीशेरा बजार र जिल्ला सदरमुकाम बागलुङ बजार कालोपत्रे सडकले जोडिने क्रममा छ । प्रदेश सरकार र संघीय सरकारको लागनीमा एसियाली विकास बैंकले बनाएको बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भैरहेकाले अब समस्या नहुने नगरप्रमुख पौडेलले उल्लेख गरेका छन् ।
चार वर्षअघि सडक सञ्जालले नछोएको साविकको छिस्ती गाविसमा सडक पुगेको छ । हालको वडा नं. ८ का सबै गाउँहरु सडक सञ्जाल पुगेको पौडेलको दाबी छ । ‘मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोडेर १३ वटा दिगो विकास सडक निर्माण भैरहेका छन्’ विवरणमा भनिएको छ ‘अब सडकदेखि १५ मिनेटको दुरी बाहिर नगरका कुनैपनि बस्तीहरु छैनन् ।’
चार वर्षमा ३४१ किलोमिटर कच्ची सडक र १६ किलोमिटर कच्ची सडक नाली निर्माण भएको नगरपालिकाले जनाएको छ । गुमनाम रहेका पर्यटकीय स्थलहरुको प्रचारमा अव्बल सावित भएको विवरणमा उल्लेख गरिएको छ । हाँडिकोट, जैमिनीधाम र गाजा दहको प्रचार प्रसार गरेर त्यहाँ पूर्वाधार विकासका लागि डिपीआर तयार भैसकेको छ ।
शिक्षा क्षेत्रमा क्षमता विकास र तालिमलाई प्राथमिकता दिईएको उल्लेख छ । स्वास्थ्य क्षेत्रमा ७ वटा नयाँ भवनको निर्माणलाई चार वर्षको उपलव्धीको रुपमा उल्लेख गरिएको छ । सुकुम्बासी समस्या समाधानलाई पहिलो वर्षदेखिनै कार्यक्रम बनाएको नगरले चार वर्षमा ५० प्रतिशत सुकुम्बासीको घर निर्माण गरेको उल्लेख छ । ८३ परिवारमध्ये बाँकी रहेका सबै परिवारको चालु वर्षमा घर बनिसक्ने नगरप्रमुख पौडेलले बताए ।
कृषि र पशुपालनको क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको नगरले ‘नगरप्रमुख कृषि पल्टन परियोजना’ र ‘नगरप्रमुख पशु पल्टन परियोजना’ सञ्चालनमा रहनु आफ्नो उपलव्धी भनेको छ । नगरको प्रशासनीक भवनका लागि जग्गा प्राप्ती र बृद्धा आश्रमको निर्माण भएको काम पनि नगरका महत्वपूर्ण कामको सूचिमा समाबेश छन् ।
कानुन निर्माणमा संघ र प्रदेशका कानुनलाई पछ्याएको नगरले १४ वटा ऐन, २ वटा नियमावली, २४ वटा कार्यविधि, ३ निर्देशिका, मार्गदर्शन २ र आचार संहिता १ तयार गरेको उल्लेख छ । विपद् व्यवस्थापन र उद्धारका कामलाई समेत नगरले महत्वपूर्ण कामको सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->