बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुजलले दिएन दूधको भुक्तानी, दूधसँग नौनी साट्छन् किसान

सुजलले दिएन दूधको भुक्तानी, दूधसँग नौनी साट्छन् किसान

दुग्ध सहकारीलाई २ करोड भुक्तानी नदिएको सुजलले पाउडर दूध पनि लैजा भन्न थालेको छ । नमाने ‘मिल्क होलिडे’को धम्की  !


  • विनोद ढुंगाना
  • जेष्ठ ११ २०७८, मंगलबार

तनहुँ, ११ जेठ– पृथ्वीराजमार्ग छेउमा रहेको दूध संकलन केन्द्रमा एक जना महिलाले आफूले उत्पादन गरेको दूध ल्याएर खन्याइन् । संकलन केन्द्रका कर्मचारीले भित्रबाट ३ वटा नौनीको पोका ल्याएर उनको हातमा थमाए ।
बाहिरपट्टि दूध खन्याउँदै गरेका अर्का युवा चर्को स्वरमा आफूलाई दुधको पैसा नै चाहिन्छ भन्दै थिए । अरु पनि उसैगरी आउँथे, दूध खन्याउँथे । फर्कंदा दूध ल्याएको रित्तो भाँडोको साथमा केही किसान नौनीको पोका लिएर जान्थे ।
साँझ ७ बजेपछि बन्दीपुर गाउँपालिका ५, याम्पाफाँटस्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाको दूध संकलन केन्द्रमा केहीबेर यस्तै दृश्य चलिरह्यो ।
यहाँका किसानले सहकारीमा संकलन गरेको दूध पोखराको सुजल डेरीले लैजान्छ । त्यही सुजल डेरीमा उत्पादित भएको नौनी किसानलाई दिइएको हो । गाँठी कुरा त के छ भने, नौनी लिनु किसानको आवश्यकता नभएर नभएर बाध्यता हो । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५५ रुपैयाँ छ । त्यही दूधबाट उत्पादन गरेको नौनी प्रतिकिलो ७ सय ९८ रुपैयाँमा किसानले लिनुपर्छ ।
याम्पामा उत्पादित भएको दूध उठाउने सुजल डेरीले ‘मिल्क होलिडे गर्छौं’ भनेपछि त्यहीँको नौनी किसानलाई बाँडेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल तिवारीले बताए । यसो गर्दा मिल्क होलिडेको सामना गर्नुनपर्ने तर किसानले लाखौंको क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘नौनी स्टक गरेर राख्ने कोल्डस्टोर नपुगेको हुनाले तपाईंहरुले नै विकल्प खोजिदिनुभयो भने मिल्क होलिडे गर्न पर्दैन भनेपछि कम्पनीसँग समन्वय गरेर सहकारीले किसानहरुको घरघरमा नौनी वितरण ग¥यौं । उहाँहरुले पाउडर पनि लैजा भन्न थालिसक्नु भएको छ । बरु, सामान फिर्ता गर्न सक्छौं, पैसा दिन सक्दैनौं भनेको स्थिति छ ।’
शहकारीमा १ सय १० बढी किसान आवद्ध छन् । दैनिक ४ हजार लिटरको हाराहारीमा सहकारीको संकलन केन्द्रमा दूध संकलन हुन्छ । गतवर्ष कोरोनाको संक्रमण रोक्न लकडाउन भएदेखि कम्पनीले नियमित दूधको भुक्तानी सहकारीलाई दिन सकेको छैन । सुजल कम्पनीसँग २ करोडभन्दा बढी दूधको भुक्तानी लिन बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिए । कम्पनीबाट नियमित पैसा नआउँदा सहकारीले पनि किसानलाई पुसदेखिको भुक्तानी नगरेको उनले बताए ।
सहकारीले पुसदेखिको दुधको रकम किसानलाई भुक्तानी गर्न नसकेपनि घर–घरमै दानाचोक्कर, औषधि, भ्याक्सिन र प्राविधिकको व्यवस्थापन भने गर्ने गरेको तिवारी बताउँछन् । कोरोना महामारीका कारण दूध र त्यसबाट उत्पादित पदार्थको बिक्री नभएकाले नियमित भुक्तानी दिन नसकिएको सुजल डेरीको दूध खरिदतर्फका कर्मचारी गुरु पौडेलले बताए ।
नौनी स्टक राख्ने ठाउँको समेत अभाव रहेको उनले जानकारी दिए । ‘नौनी राख्ने ठाउँ नभएर को–अपरेटिभलाई दूध उठाउन गाह्रो हुने, घ्यू लगेर तेलकोसट्टा प्रयोग गर्नुस भन्ने अवस्था छ,’ उनले भने, ‘केही दिनपछि त यही उठिरहेको दूध पनि बन्द हुने सम्भावना पनि धेरै छ ।’ मिल्क होलिडे नगरी किसानलाई बचाउन कम्पनीले जोखिम मोलेको उनको दाबी छ । प्रदेश सरकारसँग सहकार्य गरेर किसानलाई बचाउन कम्पनी प्रयासरत रहेको पौडेलले जिकिर गरे ।
लामो समयदेखि दूधको रकम नपाएका व्यावसायिक किसानले पेशाबाट पलायन हुनेबारे सोच्न थालेका छन् । त्यही दूध बेचेर घर खर्च चलाउने किसानलाई धौ–धौ भएको छ ।
दूध बेचेर घर खर्च चलाउँदै आएकोमा भुक्तानी नपाउँदा याम्पाका किसान साह्रै मर्कामा परको विष्णुप्रसाद अम्गाईंले बताए । ‘किसान कसरी बच्ने र गाईबस्तु कसरी बचाउने चुनौती छ,’ उनले भने ।
किसानले भुक्तानी नपाउनुको पीडा एकातिर छ । तर, अहिले यो महामारीको बेला सुजल डेरीले किसानले उत्पादन गरेको दूध मात्रै उठाइदिए फाल्नुपर्ने स्थिति नहुने र तत्कालको समस्या हल हुने वडाध्यक्ष ध्रुवप्रसाद लामिछाने बताउँछन् ।
याम्पाफाँट दूध र तरकारी उत्पादनमा जिल्लामै अगाडि छ । हरेक घर पशुपालन र तरकारी खेतीमा आश्रित छन् । उचित बजार मूल्य नपाउने, पाएको मूल्यपनि बेलामै भुक्तानी नहुने समस्याले किसानमा कृषि र पशुपालनप्रतिको मोह घट्दो छ । बजार व्यवस्थापन र उचित मूल्य निर्धारणका लागि तीनवटै तहका सरकारले सहयोग नगरेको यहाँका किसानले गुनासो गरेका छन् ।
वडाध्यक्ष लामिछाने दुध उत्पादक किसानलाई गाउँपालिकाले सघाइरहेको जिकिर गर्छन् । ‘अघिल्लो वर्षदेखि एक रुपैयाँ प्रतिलिटर दूधको लागि अनुदान कार्यक्रम सुरु गरेका थियौं । यसलाई अलि बढाउन पर्ने अवस्था थियो । कोभिड नियन्त्रणमा धेरै खर्च हुने भएर यो अनुदानलाई दुई रुपैयाँमा पु¥याउन सकिएन,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->