पोखरा, १६ जेठ – पूर्व गर्भनर दीपेद्रबहादुर क्षेत्रीले ‘पपुलिस्ट’ बजेटमा चुनाव लक्षित ल्याइएको प्रतिक्रिया दिएका छन् । सबै तह र तप्कालाई छुन खोजेको देखाउँदै सरकारले चुनावमुखी बजेट ल्याएको उनको भनाइ छ ।
‘बजेटले सबै तह र तप्कालाई छुन खोजेको देखिन्छ । यो खास चुनाव लक्षित नै हो । तर, त्यही निर्वाचनका लागि कति पैसा छुट्याएको छ खुलाइएको छैन,’ क्षेत्रीले ढोरपाटनसँग प्रतिक्रिया दिँदै भने, ‘कोभिडका लागि ३७ अर्ब छुट्याइएको छ भने चुनावका लागि कति छुट्याइयो भन्ने स्वभाविक प्रश्न आउँछ ।’
अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट ‘सबैलाई रिझाउँछु’ भन्दाभन्दै कसैलाई रिझाउन नसक्ने प्रकृतिको भएको पूर्व गर्भनर क्षेत्रीले प्रतिक्रिया दिए । उनले कर्मचारीको तलब, बिमा व्यवस्था गर्ने, प्रहरीको रासन वृद्धि, सामाजिक सुरक्षा वृद्धि लगायत प्रचारमुखी योजनाहरु ल्याएको बताए ।
उनले केही सरकारले बजेटमा केही कामलाई भने सकारात्मक सम्बोधन गरेको बताएका छन् । तर, ती काममा पनि विश्वास गर्न सकिने स्थिति नरहेको उनको भनाइ छ ।
‘१÷२ वटा योजनाचाहिँ राम्रो आएका छन् । जस्तो कि विद्युतीय सवारी साधनहरुलाई प्रश्रय दिन्छौं भन्नु भएको छ,’ उनले भने, ‘तर, यसमा पनि पत्याउन नसकिने अवस्था छ । अघिल्लो पटक पनि साझालाई चलाउन जिम्मा दिएर पछि रकम फिर्ता लिएर आफैं राख्यो । अहिलेृ फेरि सयभन्दा बढी विद्युतीय सवारीसाधन साझाले चलाउँछ भन्नु कतिको विश्वसनीयता होला ?’
सरकारले ल्याएको राजश्व योजनासमेत महत्कांक्षी रहेको पूर्वभर्गनर क्षेत्रीले बताए । ‘राजश्व पनि अति महत्वाकांक्षी छ । कुल बजेटको ६२ प्रतिशत राजश्वबाट व्यहोर्ने भनिएको छ,’ उनले भने, ‘त्यो यो अवस्थामा आफैंमा परिपक्व छैन । आर्थिक गतिविधिको लक्षण छैन । राजश्व पनि वृद्धि हुन्छ भन्ने कसरी मान्ने ?’
बजेटले शिक्षामा सुधार गर्न खोजेको देखिएता पनि यो समयमा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने क्षेत्रीको बताउँछन् । ‘यतिबेला जनशक्तिको पर्याप्त र सुनिश्चितता भनेको जाति हुन्थ्यो । समग्रमा भन्दा पूँजीगत खर्च गएको भन्दा कम देखिएकाले विकास निर्माणभन्दा पनि तत्कालका कतिपय झिनामिना कुरालाई बढावा दिएको देखिन्छ,’ उनले भने ।





