पोखरा, १६ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।
आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माधयमबाट तल्लो सरकारमा जाने भएको छ । यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तिय हस्तान्तरणका माध्यमबाट गएको छ ।
यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।
संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले पाउने भएको छ । तथ्यांक अनुसार यो वर्ष प्रदेश १ ले सबैभन्दा बढी १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पाउनेछ । दोस्रो धेरै पाउनेमा लुम्बिनी प्रदेश छ र उसले १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ पाउनेछ ।
कर्णाली प्रदेशले १५ अर्ब ५५ करोड ६३ लाख, सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड, प्रदेश २ लाई १३ अर्ब ९० करोड र वाग्मती प्रदेशलाई १३ अर्ब ९० करोड रुपैयाँ प्राप्त हुनेछ ।
सरकारले संघबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदान तल्लो सरकारमा पठाउने गरेका छन् ।
यस्तो अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने प्रावधान रहेको छ । वित्तीय समानीकरण अनुदान तल्लो सरकारले निःशर्त पाउने रकम हो ।
यस्तो अनुदानलाई उनीहरुले आफ्ना कार्यक्रममा राखेर बजेट बनाउन सक्छन् । आयोगले न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित रहेर सिफारिस गर्छ ।
यहाँबाट हेर्नुहोस सूची Fiscal Transfer (Final)_20210530070149