बागलुङ, १७ जेठ – बागलुङको ताराखोला गाउँपालिकामा चालु बर्ष ३८ वटा हाइटेक टनेल निर्माण गरेर किसानलाई व्यवसायिक बनाइने भएको छ । संघीय र प्रदेश सरकारको ३५ लाख लगानीमा गोलभेडा, मैषमी तथा बेमौषमी तरकारी लगाउने अभियान सुरु भएको हो ।
चालु वर्षभित्रै व्यवसायिक किसानको बारीमा तरकारी उत्पादन सुरु गर्ने र आगामी वर्ष बजारीकरणको अभियान पनि थालिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
‘प्रविधि युक्त सीप हस्तान्तरण कार्यक्रम अन्र्तगत यो योजना भित्राइएको हो,’ घर्तीले भने, ‘किसानलाई पनि व्यवसायिक बनाएर घरघरमा कमाइ गर्न सक्ने बनाउने लक्ष्य छ ।’ गाउँपालिकाको घरघरै उद्यमी अभियानमा यो कार्यक्रम थप भएपछि कम्तिमा ४० जनाभन्दा बढी किसान व्यवसायिक बन्ने उनले बताए ।
पहिलो चरणमा वडा नं. १ को भुस्कात र माझखर्कमा ३÷३ जना, वडा नं. ४ को लाभाङमा १६ तथा वडा नं. ५ को करिमेलामा १६ वटा हाइटेक टनेल स्थापना हुनेछन् । त्यसकोलागि काम थालिसकिएको हो । टनेल खेतीकालागि गाउँपालिकको कृषि शाखाले प्राविधिक सहयोग गर्नेछ । प्रविधिमा आधारित नमूना कृषि फर्म अनुदान कार्यक्रम मार्फत बजेट आएको उनले जानकारी दिए ।
यहाँ उत्पादीत फसललाई गलकोट, बागलुङ सहितका बजारमा पठाउने योजना पनि उनले सुनाए । घरघरमा किनेर खान नपर्ने व्यवस्था गर्ने, पालिका भित्रै चिस्यान केन्द्र स्थापना गरेर बेमौषममा पनि तरकारी बाहिर ल्याउन सक्ने बनाउने लगायतका योजना उनले सुनाए । कृषिको उत्पादनबाट ताराखोला गाउँपालिका आत्मनिर्भर बन्ने अभियान भने केही समय अघिदेखिनै सुरु भइसकेको थियो ।





