पोखरा, १८ जेठ – पोखरा महानगर मापदण्डको विषयमा सधैं चुक्दै आएको छ । अहिलेसम्म मापदण्डविपरीत निमार्ण भएका कुनैपनि संरचना पूर्ण रुपमा महानगरले हटाउन सकेको छैन । स्वार्थलिप्त व्यक्तिले शक्ति र पैसाको आडमा निर्धक्क भएर मापदण्ड मिच्दै संरचना खडा गर्दासमेत महानगर मुकदर्शक बन्छ ।
पोखरा महानगर १ बगरस्थित भिमकाली पाटनमा रहको पोखरा उच्च माध्यामिक विद्यालय र माउन्ट भ्याली कलेजमा मापदण्ड विपरीत काम हुँदैछ । नहरमाथि ढलान गर्दै क्याम्पसले संरचना खडा गर्न लागको छ । महानगरको कमजोर अनुगमन र जनप्रतिनिधिको कमजोर नेतृत्वका कारण त्यतातिर कसैको ध्यान छैन । रमाइलो त के भने, ती संरचना बनाउँदा महानगरको रातो किताबमा नालीको लागि छुट्टयाइएको ५०–५० लाखको योजनाबाट रकमान्तर गर्दै नहरमाथि ढलान गर्न लागिएको हो ।
वडा नम्बर १ ले कार्यका लागि सिँचाइको सिफारिस ल्याउन आग्रह गरेपनि आर्थिक वर्ष सकिनै लाग्दा धमाधम काम अघिबढाउने प्रयास गरेको हो ।
क्याम्पसले नहरमा ढलान गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ । क्याम्पसले त्यहाँ पार्किङ क्षेत्र बनाउने तयारी गरेको स्रोतले बताएको छ । तर, अवस्था हेर्दा भने कुनै भवन नै बनाउन लागेको हो किजस्तो पनि देखिन्छ । एक स्थानीयले अनुसार कलेजले रकमानान्तर गरि निजी शिक्षा संस्थालाई बजेट पोस्ने काम गरेको आरोप लगाए ।
‘निजी संस्थालाई बजेटको व्यवस्थापन गरी नहरमाथि आरबिएम राखी कलेजले पार्किङ बनाउने अनुमति कसले दियो ? कसरी सम्झौता भयो ? जनतालाई के फाइदा हुन्छ । त्यसैमाथि सिँचाइको समेत अनुमति छैन यसको सबैले विरोध गर्न आवश्यक रहेको छ’, उनले भने । कलेजले ढलान गर्न लागेको नहरमाथि पोखरा महानगरले रोक्का गरेको योजना तथा अनुगमन शाखा प्रमुख शारदामोहन काफ्लेले बताए ।
‘अहिले हामीले त्यो काम रोकेका छौँ, सिंचाइ विभागले बनाउने सिफारिस दिए बनाउन दिन्छौँ’, उनले भने, ‘यो ५०–५० को योजनाअन्तर्गतको हो । तर, नालीको लागि आएको बजेट त्यहाँ पारिएको हो ।’

वडाको स्वीकृत विना कसरी काम भयो ?
आफ्नो वडामा कुनै संरचना बन्दैछ भने त्यसको स्वीकृति वडाबाट लिनुपर्छ । वडाले सम्पूर्ण कागजपत्र हेरी बल्ल निमार्णको लागि स्वीकृति दिन्छ । तर, वडा १ मा भने मापदण्ड विपरीत पोखरा उच्च माध्यामिक र माउन्ट भ्याली कलेजले धमाधम काम ग¥यो जनप्रतिनिधि टुलुटुलु हेरेर बसे ।
वडाध्यक्ष शारदा पराजुलिले प्रक्रिया पूरा गरेर मात्र बनाउन आग्रह गरको बताइ । आफूले प्रक्रिया पूरा गर्न भन्दा क्याम्पसले आर्थिक वर्ष सकिन लाग्यो भन्दै हस्ताक्षर गराउन आएको उनले सुनाइन् । उनले ‘हाम्रो महानगरः राम्रो महानगर’अन्तर्गत काम गर्न लागेको बताइन् । पराजुलीले नहरमा फोहर फाल्ने र मानिसको मृत्यु हुने भन्दै क्याम्पसले ढलान गर्न लागेको जानकारी वडालाई दिएको जानकारी दिइन् ।





