संघीय सरकारले विनियोजन गरेको बजेटप्रति कास्कीका ५ पालिकाले असन्तुष्टि व्यक्त गरेका छन् । बजेट थोरै भएको उनीहरुको गुनासो छ ।
पोखरा, १९ जेठ – संघीय सरकारले पोखरा महानगरसहित कास्कीका ५ पालिकालाई लागि कुल ४ अर्ब ५ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये पोखरा महानगरपालिकालाई २ अर्ब ५६ करोड १६ लाख विनियोजन गरेको छ । ४ पालिकालाई १ अर्ब ४९ करोड १० लाख रुपैँया विनियोजन भएको छ ।
अन्नपूर्ण गाउँपलिकालाई ४२ करोड १० लाख, माछापुच्छे« गाउँपालिकालाई ३८ करोड ३ लाख, मादी गाउँपालिकालाई ३५ करोड ३६ लाख र रुपा गाउँपालिकालाई ३३ करोड ६६ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।
महानगरलाइ सम्बोधन हुने बजेट छैन : मानवहादुर जिसी नगरप्रमुख पोखरामहानगर
पोखरा महानगरपालिकालाई जति बजेट चाहिने हो त्यति बजेट विनियोजन भएको छैैन । पहिलाको जस्तो छ त्यस्तै बजेट अहिलेको पनि छ । समग्रमा हेर्दा पपुलिष्ट बजेट भने छैन ।
कहाँ आयो विकासको बजेट : युवराज कुवँर अध्यक्ष अन्नपूर्ण गाउँपालिका
सरकारले उत्पादकत्व वजेट ल्याउन सकेन । पूँजीगतमा २२ प्रतिशत समेत छैन विकास कसरी हुन्छ ? साना आयोजनाले कसरी विकास गर्न सकिन्छ । यो बजेटले युवालाइ कसरी समेटेको छ ? तलब भत्ताको बजेटले विकास हुँदैन । १ करोड ४५ लाख रुपैयाँ गाउँपालिकाले अन्य क्षेत्रको बजेट कटौति गर्दै कृषि विज्ञ, शिक्षकलाई दिनुपर्छ । चालुखर्चमा वृद्धि गर्दैमा गाउँको विकास हुनेवाला छैन ।
बजेट कम छ : नवराज ओझा, रुपा गाउँपालिका
संघ सरकारले बजेट ल्याएपनि, प्रदेश सरकारले बजेट ल्याएपनि कार्यान्वयन हुने भनेकै स्थानीय पालिकामा हो । बजेट कम हो तर महामारीमा समेत राष्ट्रिय बजेट राम्रो नै भन्नुपर्छ । जनमुखी बजेट छ । कायान्र्वयन हुन सक्छ कि सक्दैन भन्ने कुरामात्र हो ।
चित्त बुझ्दो छैन : वेदबहादुर गुरुङ, मादी गाउँपालिका
गाउँपालिकाको ससर्त बजेट कुन शीर्षकमा हो थाहा छैन् । सामाजिक सुरक्षा भत्ता मात्र बढेर के गर्ने ? चित्त बुझ्दो बजेट छैन । बजेट ठूलो देखिएको मात्र हो हामी सन्तुष्टि छैनौँ । समानीकरण बजेटमा उस्तै छ बजेटबाट निराश छौं ।





