बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

किसानले दुधको भुक्तानी पाएनन्

किसानले दुधको भुक्तानी पाएनन्


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७८, शनिबार

बागलुङ, २२ जेठ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेम पौडेल व्यवसायीक पशुपालक किसान हुन् । उनको घर खर्च चलाउने मुख्य स्रोत दुध तथा दुग्धजन्य पदार्थको बिक्रीबाट आउने पैसा हो । माघपछि पौडेलले बिक्री गरेको दुधको पैसा आएको छैन् ।
उनले सहकारीमा आबद्ध भएर दुधको उत्पादन र बिक्रीवितरण गर्छन् । उनीजस्तै कुश्मीशेराको टुनीबोट, खौर, किसेक, बागलुङ नगरपालिका–१२ अमलाचौरको टाकुरी, सरंगी गाउँका किसानले लामो समयदेखि दुध बिक्री बापतको भुक्तानी नपाएका हुन् । कुश्मीशेराको टार र बागलुङ नगरपालिका–१४ को नारायणस्थानका किसानको पनि समस्या उस्तै छ । मुख्य आयस्रोत दुधको भुक्तानी नै रोकिएपछि किसानहरु मर्कामा छन् । दुध उतपादनकै लागि पालिएका गाईभैँसीलाई खुवाउने दाना चापट र घर खर्च चलाउन समेत कठिन भएको किसानहरु बताउँछन् ।
यहाँ उत्पादन भएको दुध बागलुङ र पर्वतका विभिन्न दुध डेरीहरुले खरिद गर्छन् । बागलुङको दक्षिणमा रहेका चारवटा दुग्ध उत्पादक सहकारीको साझा बिक्री केन्द्र गठन गरेर सहकारीहरुले दुध बिक्री गर्छन् । कालीगण्डकी, पल्लोपाखा, नवनमुना र बलेवा नारायणस्थान दुग्ध उत्पादक सहकारी संस्थाको सहभागिता रहेको संयुक्त बिक्री केन्द्र छ ।
बिक्री केन्द्रमार्फत दुध खरिद गरेका कतिपय डेरी पसलहरुले अघिल्लो वर्षको असारदेखिको पैसा भुक्तान गरेका छैनन् । ‘हाम्रो दुध लिने बागलुङको न्यु लक्ष्मी डेरीले अघिल्लो असार पछिको पैसा दिएकै छैन्, पटक पटक ताकेता गर्दा समेत पैसा नआएपछि हामी प्रक्रियामा जाँदैछौं’ संयुक्त बिक्री केन्द्रका अध्यक्ष लिलाधर पौडेलले भने ‘डेरीहरुले रकम रोकीदिँदा सहकारीले किसानलाई उपलव्ध गराउन सकेनन् ।’
पौडेलका अनुसार कुश्माको शितल डेरी, मोदीकाली डेरी, न्यु कालिगण्डकी डेरी र बागलुङको अभिशेक डेरी लगायतका संस्थाले किसानको रकम भुक्तानी नदिएका हुन् । ‘झण्डै २५ लाख पैसा उठ्न बाँकी छ, केहीको एक वर्ष पुग्यो, केहीले चारपाँच महिनादेखि रोकेका छन्’ पौडेल भन्छन् ‘यता सहकारीहरुले आफ्नै स्रोतबाट पनि किसानको रकम भुक्तानी गर्न सक्ने अवस्था छैन् ।’ बिक्री भएको दुधकै पैसा नआएका कारण किसानलाई समयमा भुक्तानी दिन कठिन भएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताए ।
यहाँका डेरी पसलहरुले भुक्तानी समयमा नदिएपछि अहिले चारवटै सहकारीबाट उत्पादित दुध पोखराको लभकुश डेरीमा पठाउन थालिएको छ । चारवटा सहकारीले दैनिक एक हजार लिटर दुध उत्पादन गर्छन् । ‘पोखराको डेरीबाट हाम्रै दुध ल्याएर बेचेका छन् तर हाम्रो पुरानो पैसा दिँदैनन्’ पौडेल भन्छन् ‘वैशाख यता पोखरा गएको दुधको भुक्तानी भने रोकिएको छैन् ।’
सहकारीहरुको संयुक्त बैठकले एकपटक आग्रह गर्ने र भुक्तानी नपाए कानुनी प्रक्रियामा जाने निर्णय गरेको अध्यक्ष पौडेलले सुनाए । सिजनमा दुध होलिडे गर्न लगाउने र बेसिजनमा खरिद गर्ने गरेका डेरी पसलहरुले किसानको दुधको भुक्तानीमा भने आलटाल गर्दै आएका छन् । समयमा भुक्तानी नपाउँदा किसान भने पेशाप्रति नै निराश हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->