नवलपुर, २३ जेठ– नवलपुरको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि अनुदान र चैतेधानको मूल्य निर्धारण गरेको छ ।
गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले सहकारीमार्फत् कृषकका लागि करिब ३६ रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो ।
गैंडाकोट मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत संघीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए ।
कृषि सहकारीसँग भएको सम्झौताअनुसार अनुदानको लागि कम्तिमा ४ सय ६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए ।
मकै खेती लगाएवापत् नगरपालिकाको तर्फबाट ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए । ३० बिघाहा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ ।
सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ ।
यस्तै, बजारीकरणको समस्या समाधानका लागि गैँडाकोटमा उत्पादित चैतेधानको प्रति क्वीन्टल २ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
उत्पादित चैतेधानले बजार नपाउने समस्या भयो भन्दै किसानहरुले गुनासो गरेपछि नगरप्रमुख छत्रराज पौडेल आफै जयश्री फुड्स प्रालि गैंडाकोट ९ मा गएर किसानहरुको धान खरिद गर्न आग्रह गरेका थिए । नगरप्रमुख पौडेल र वडाध्यक्ष प्रेमप्रसाद सापकोटासहित कम्पनीका खरिद विक्रि शाखाका प्रकाश घिमिरेबीच भएको छलफलपछि प्रति क्वीन्टल रु.२ हजार ४ सयमा खरिद गर्ने सहमति भएको हो । घिमिरेका अनुसार अधिकतम २ हजार ३५० रुपैया क्वीन्टलभन्दा माथि खरिद नभएको तर स्थानीय उत्पादन भएकाले २ हजार ४ सयसम्म दिन सक्ने बताएका थिए । मूल्य निर्धारण पछि नगरप्रमुख पौडेलले किसानको उत्पादन कुनैपनि कारण खेर जान नदिनेमा आफू प्रतिवद्ध रहेको बताए ।
कृषि क्षेत्रको उन्नती र विकासविना समृद्धि प्राप्त गर्न नसकिने भन्दै किसानले धानको मूल्य नपाउने गुनासो गर्नासाथ आफै खटिएर मिलसँग कुरा गरेको उनको भनाई थियो ।
गैंडाकोटमा चैते धान ब्लक नै बनाएर धान खेती भएको छ । यहाँ अहिले चैते धान भित्राउने समय भएको छ ।





