बागलुङ, २२ जेठ– एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बँझाए भनेर गाली गरे । वर्षाको समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका बिरुवाले मुना हालेका छन् । पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जमिन थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन् । व्यवसायीक कागती खेतीमा लागेका किसानले भने छिमेकीका कुराभन्दा आफ्नो समूहको योजना अनुसार काम गरिरहेका छन् ।
बागलुङ नगरपालिका–१४ अर्माहाका किसानले झण्डै साढे दुई सय रोपनी जग्गा एकिकृत गरेर थालेको व्यवसायीक कागती खेती यो वर्ष पनि विस्तार गर्ने भएका छन् । चासो कृषक समुहमा आबद्ध ६२ जना किसान कागतीको खेती विस्तार र स्याहारमा दत्तचित्तले लागिरहेका छन् । उनीहरुले खेती थालेको जग्गा भने बागलुङ नगरपालिका–१२ सहेँलाको फाँटमा पर्छ ।
गतवर्ष लगाएका दुई हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यो वर्ष किसानले थप दुई हजार बिरुवा लगाउने भएका हुन् । ‘हाम्रो योजना ६ हजार बिरुवा तीन सय रोपनी जग्गा पु¥याउने हो’ समूहका अध्यक्ष केशव सुवेदीले भने ‘एकै पटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।’ सुन कागती–२ जातको कागती उनीहरुले लगाएका छन् । सहेँलामा खेतीयोग्य जमिन रहेका किसानलाई शेयर सदस्य बनाएर किसान समुह बनेको छ । यहाँ कागती खेतीका लागि किसानले ५० लाख बढी लगानी गरिसकेका छन् ।
‘उहाँहरुको उत्साह र मेहेनत निकै राम्रो छ, यो समुहमा भएको खेती अरु किसानका लागि नमुना हुन सक्छ’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘सरकारी सहयोग किसानलाई भैरहेको छ र रहन्छ ।’ पाँच वर्षमा उत्पादन लिने किसानको योजना छ । यो वर्षपनि थपिने दुई हजार बिरुवा सुन कागती–२ जातकै हो । एक करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट झण्डै २० लाख रुपैयाँ अनुदान पाएका छन् ।
‘एउटा बोटमा चालिस किलोसम्म फल्छ, हामीले बिक्री गर्दा एक सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिएला’ अध्यक्ष सुवेदी भन्छन् ‘बिरुवा बयस्क हुँदा सिजनमा एक करोड ६० लाख आम्दानी गर्ने योजना छ ।’ एक रोपनी जग्गाको वार्षिक पाँच हजार भाडा उपलव्ध गराउने गरी जग्गा एकिकृत गरिएको हो । पाँच वर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समुहले जनाएको छ ।





