नवलपुर, २४ जेठ– कोरोना भाइरस संक्रमणको डरका कारण कामदार घट्दै जाँदा नारायणघाट–बुटवल सडक स्तरोन्नतिको निर्माण कार्य प्रभावित बनेको छ । गत चैत अगाडी दैनिक ६ सय हाराहारी मजदुर परिचालित आयोजनाको नवलपुरतर्फको नारायणघाट–दाउन्ने खण्डमा अहिले मुस्किलले १ सय मजदुर काममा छन् ।
सडकको दायाँ–बायाँ सडकको क्षेत्र चौडा पार्ने, माटो भर्ने, सडक पेल्ने, सडक मापदण्डमा परेका रुखहरु काट्ने, नाला निर्माण गर्ने लगायतका कामहरु अहिले ठप्प छन् । सामग्रीहरु ढुवानीमा प्रयोगमा आएका अधिकांश गाडीका चालक, डोजर–एक्साभेटरका अपरेटर तथा कामदार संक्रमण त्रासका कारण घर गएपछि ती कामहरु पूर्ण रुपमा रोकिएका छन् । यद्यपि, दैनिक ८० देखि एक सय मजदुरलाई अहिले साना पुल निर्माणमा परिचालित गरिएको छ ।
आयोजना प्रमुख रमेशकुमार दृष्टीका अनुसार निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार आफैं कोभिड त्रासकै कारणले धमाधम निर्माणस्थल छाडिरहेका छन् । कतिपय कामदारका परिवारका सदस्यलाई संक्रमण देखिएपछि स्याहार–सुसार र रेखदेखमा जानुपर्दा र कतिपय आफै संक्रमित भएर र कतिपय संक्रमित भइने हो कि भन्ने डरले काम छोडेका उनले बताए ।
अधिकांश स्थानीय मजदुरलाई काममा राखेर अहिले पुल निर्माणको काममा लगाइएको छ । नारायणघाट–दाउन्ने खण्ड अन्तर्गत गैंडाकोटका ७ वटा साना पुलको काम भइरहेको आयोजना प्रमुख दृष्टीले बताएका छन् ।
सडक आवागमन प्रभावित नहोस् भनेर डाइभर्सन लगायतको वैकल्पिक विधि अपनाएर निर्माण कार्यलाई निरन्तरता दिएको उनले बताए । ‘वर्षाअगाडि पुल निर्माणको काम सकियो भने बाढी र भेलले कुनै असर पार्दैन अन्यथा भेलबाट पुलको काम प्रभावित हुनसक्छ,’ उनले भने, ‘नारायणगढ–बुटवल सडक विस्तारका लागि यस खण्डमा खटिएका सबै मजदुरलाई आवश्यकतानुसार पुल निर्माणको काममा प्रयोग गरिएको छ ।’
नारायणघाट–बुटवल सडक विस्तारका क्रममा खण्ड–१ दाउन्ने पूर्वमा साना एक सयभन्दा बढी कल्भर्ट निर्माण भइसकेका छन् । सो खण्डमा २२ वटा साना पक्की पुल तथा १२ वटा ठूला पक्की पुल निर्माण गर्नुपर्नेछ । फलामे पुल भएको स्थानमा ठूलो पक्की पुल निर्माण हुने आयोजना प्रमुख दृष्टीले बताए ।
नारायणगढ–बुटवल सडकको १ सय १४ किलोमिटर क्षेत्रलाई २ वटा खण्डमा विभाजन गरेर सडक विस्तारको कामअगाडि बढाइएको छ । गैँडाकोटबाट दाउन्ने (६५ किमी) खण्ड–१ र दाउन्नेबाट बुटवल (४९ किमी)लाई खण्ड–२ मानेर विस्तारका लागि ठेक्का दिइएको हो ।
बजार क्षेत्रमा मुख्य सडक ४ लेन र २ लेन सर्भिस ट्रयाक गरी ६ लेन हुनेछ । मुख्य सडकको दुवैतर्फ एक÷एक लेनको सर्भिस ट्रयाकको निर्माण हुनेछ । जंगल क्षेत्र, बस्ती नभएका क्षेत्रमा ४ लेन हुनेछ भने दाउन्ने क्षेत्रमा ३ लेनमा विस्तार हुनेछ ।
अहिलेसम्म १५ देखि २० प्रतिशत भौतिक प्रगति हुनुपर्ने भएपनि ६÷७ प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ । कहिले वन क्षेत्रमा रुख हटाउने प्रक्रिया फुकुवा नहुँदा, कहिले कामदारले आफूहरुले पारिश्रमिक रोकिएको भन्दै केही समय निर्माण कार्य ठप्प पार्दा र पछिल्लो समय कोभिडको असरका कारण पर्याप्त मजदुर–कामदार नहुँदा हुनुपर्ने भौतिक प्रगति देखाउन नसकिएको आयोजना प्रमुख दृष्टीले बताए ।
दुवै खण्डको सडक विस्तारका लागि ग्लोबल टेण्डरमार्फत चाइना स्टेट कन्स्ट्रक्शन इञ्जीनियरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा ठेक्का पाएको हो ।





