धार्मिक, सांस्कृतिक, प्राकृतिक सौन्दर्यता र विविधताले ढोरपाटन पर्यटकिय गन्तव्य बनको छ । ढोरपाटन उपत्यकाको सेरोफेरो बागलुङ, म्याग्दी र रुकुम जिल्ला गरी ३ जिल्लाको भूगोलमा फैलिएको छ । ढोरपाटन शिकार आरक्षणले कुल १ हजार ३२५ वर्ग किलोमीटर भुभागको छेत्रफल ओगटेको छ । धौलागिरी हिम श्रृङखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक वर्ष हजारौं पर्यटकहरुलाई गन्तव्यको स्थान बनाएको छ । पुथा चुरेन र गुर्जा हिमालको काखमा रहेको ढोरपाटन सामुन्द्रीक सतहबाट २ हजार ८ सय ५० मिटर देखि ५ हजार ५ सय मिटरसम्मको उचाईमा फैलिएको छ । चैत्र बैशाख महिनामा लालीगुराँस, भोजपत्र, सिदुर, धुपी सल्ला र देबदारका वनस्पतिले ढोरपाटन अझ सुन्दर देखिन्छ । प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र वन्यजन्तु सिकारको रोमाञ्च अनुभूति लिन चाहनेका लागि ढोरपाटन आनन्दको स्थल मानिन्छ ।
ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनको अर्को नाम बादल पारीको गाउँ हो । वरीपरी हिमाली दृश्य हिमालको काखमा राता डाँडा, त्यसमुनी हरियो जङ्गल जङ्गल मुनि मैदानी भाग अनि बस्ती र कन्चन पानीका स्वच्छ नदिको प्राकृतिक उपहार हो ढोरपाटन । ढोरपाटनको दक्षिणपट्टि रहेको रुद्र तालको पानी काली गण्डकीमा मिल्दछ । ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानीबाट उत्तरगंगा अर्थात् सानो भेरी नामबाट रुकुम जिल्ला प्रवेश गरी टकसेरा टोल, नाथिगार, माछिने, सिम्लेहुँदै भेरी नदिमा मिल्दछ । ढोरपाटनको उत्तरतर्फको गर्पा डाँडाबाट कास्की, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, रुकुम आदि जिल्लाका धेरै भुभाग देख्न सकिन्छ । त्यसैगरी उत्तरतर्फका हिमाल, चुरेन, पुठा, हिमचुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुछ्रे, निलगिरी, अन्नपूर्ण हिमाल एकै ठाउँबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन मार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि ग्रामीण पर्यटकहरुलाई मनमोहक बनाउँछ । ढोरपाटनमा विश्वकर्मा, मगर, नौथर, छन्त्याल जस्ता पिछडिएका नेपाली समुदाय र तिब्बती शरणार्थीको जिवनशैली मात्रै होइन, अलगअलग र सामुहिक साँस्कृतिक गतिविधी पनि ढोरपाटनमा देख्न सकिन्छ ।
नेपालको महत्वपूर्ण सिमसार क्षेत्र पनि यहि छ । महत्वपूर्ण जडिबुटीको खानी पनि ढोरपाटन नै हो । उत्तरगंगा जलशाययुक्त सस्तो जलविद्युत परियोजना पनि ढोरपाटनमा निर्माण गर्न सकिन्छ । नेपालको एक मात्रै शिकार आरक्ष भएकाले पनि ढोरपाटनले पर्यटकिय सम्भाबना बोकेको छ । आरक्षको मुख्य आकर्षण नाउर अर्थात जंगली भेडा हो । पुर्वमा चुरेन हिमालदेखी पश्चिममा कुल्टा भञ्ज्याङ्सम्मको हिमालय श्रृंखला चट्टान भएको क्षेत्रमा नाउरको बाँस स्थान रहेको छ । यसको सिकारका लागि लाखौं खर्च गरेर स्वदेशी र विदेशी पर्यटकहरु ढोरपाटन पुग्दछन् । ढोरपाटनमा विदेशी पर्यटकहरुमा अमेरिकी, फ्रान्सेली, स्पेनी, बेलायती र रुसी नागरिकहरु सिकार खेल्न जाने गर्दछन् । ढोरपाटनमा वन्यजन्तुको सिकार खेल्न नेपाल सरकारले सशुल्क अनुमति दिने गरेको छ । त्यसबाहेक झारलगायतका मृगको सिकार पनि ढोरपाटनका थप आकर्षण मानिन्छ । ढोरपाटन आरक्ष म्यादी, बागलुङ, डोल्पा र रुकुम गरी १ हजार ३ सय २५ वर्गकिमीमा फैलिएको छ । भौगोलिक हिसाबले आरक्षको पुर्व दारेखानी, झाल्के र लामा भञ्ज्याङ्ग धुरी पर्दछ भने पश्चिमतर्फ कुल्टा भञ्ज्याङ्ग र जक्ला भञ्ज्याङ्ग, त्यसैगरी दक्षिणपट्टि सुर्तिवाङ र उत्तरगंगा र उत्तरी सिमामा पुथा चरेन र गुर्जा हिमाल पर्दछ । ढोरपाटन उत्तरपट्टिका हिमश्रृंखला वर्षैभरी हिउँले ढाकिएका हुन्छन् । दक्षिण तर्फका केही कम उचाई भएका भु–भागमा हिउँदमा मात्र हिउँ पर्दछ । आरक्षको धेरै भु–भाग घाँसेमैदान, भिरपहराले भरिएका छन् । बाँकी भु–भाग भिर, खर्क, बुट्यान, जङ्गल र खोलाले ओगटेको छ ।

ग्रामीण पर्यटन शिक्षाको अभावले नेपालीहरुमा ग्रामीण पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहनेलाई पर्यटक नै नठान्ने प्रवृत्ति पनि हामीकहाँ रहेको छ ।
आंशिक भाग खेतीयोग्य जमिनका रुपमा प्रयोग भएको छ । ढोरपाटनमा मुख्यगरी मगर, थकाली, गुरुङ एवम दलित समुदायहरु बसोबास गर्दछन् । आरक्षमा शितोष्ण, लेकाली एवम हिमाली हावापानी पाइन्छ । वर्षात्को समय जेठदेखि भदौसम्म लगातार पानी परिरहन्छ भने कात्तिकदेखी बाक्लो तुषारो एवम माघ महिनादेखी लगातार हिउँ पर्दछ । आरक्षणको ठूलो क्षेत्रफल वनले ओगटेको छ । यहाँ अनेकौं जातका वनस्पती खोटो सल्ला, गोब्रे, धुपी, भोजपत्र, लालीगुराँस पाइन्छन् । दुर्लभ जडिबुटीको रुपमा प्रयोग हुने यार्सागुम्बा, पाँचऔले, जटामसी, निरमसी, बाझ, चिराइतोलगायत लागि ढोरपाटन महत्वपुर्ण मानिन्छ । त्यस्तै दुर्लभ एवम सुरक्षित पंक्षी सुचिमा परेवा, डाँफे, मुनाल, हिउँ कुखुरा, कोकलास, चिरलगायतका चरादेखी जनावरमा नाउर, घोरल, झारल, सिंह, रेडपान्डा, हिमाली कालो भालु, हरिण लगायतका जनावर अवलोकान ढोरपाटनमा गर्न सकिन्छ ।
ढोरपाटनमा सोखका लागि सिकार गर्नैदेखी अन्तराष्ट्रिय सिकार प्रतियोगिता सम्ममा भाग लिएका सिकारी ढोरपाटन पुग्दछन् । गुल्मी जिल्लाको प्रसिद्व तिर्थस्थल रुद्रबेनीको मुहान भएकाले रुद्रताल धार्मिक दृष्टिले महत्वपुर्ण गन्तब्य मानिन्छ । ढोरपाटन पर्यटकको लागि मात्र नभएर धार्मिक गन्तब्य स्थल पनि हो । आरक्ष कार्यालयबाट एक किलोमीटर दुरीमा देउराली नजिकै उत्तरगंगा ढोरबराह थान छ । बैशाख पुर्णिमा र जनै पूर्णिमामा मेला लाग्ने गर्दछ । मेला हेर्न बागलुङ, म्यादी, रोल्पा, रुकुम, गुल्मी लगायतका जिल्लाबाट हजारौं ग्रामिण पर्यटकहरु पुग्ने गर्दछन् । मध्यपहाडी लोकमार्ग पनि यसै आरक्ष भएर जाने र ढोरपाटन क्षेत्रमा सरकारले ३ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको डिपिआर निर्माणको चरणमा छ । यसबाहेक छेल्तुङ गुम्बा, एकखुट्टे गुम्बा, पाखाथर गुम्बा, सल्लाथान देवी, मैकोटको कोट, गुर्जाखानीको वराहथान, चिसापानी भण्डारी गाउँको सिम वराह, पुर्ख हिमाल, गुर्जा हिमाल, सिस्ने हिमाल, सुन दह, जालपा ताल, रुद्रताल जस्ता अन्य धार्मिक स्थल पनि यहाँका पहिचान हुन् । आरक्षको बाटो भएर डोल्पा, हुम्ला, जुम्ला जाने विदेशीको संख्या पनि बढ्दै जान थलेको छ । गुरिल्ला पदमार्ग पनि ढोरपाटनसंग जोडिएको छ । रुकुम जिल्लाको पुर्वी भेगको दुर्गम, हिमाली र लेकाली बस्ती जहाँ खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल हो ।
ढोरपाटन पुगेपछि बागलुङमा पुग्नै पर्ने ठाउँहरु धेरै छन् । जस्तैः बागलुङ कालिका, शालिग्राम संग्राहलय सर्वसिद्धीधाम, पन्चकोट, गाजाको दह, रिघाताल, गाइघाट झरना, घुम्टेको लेक, गलकोट दरबार र हाँडिकोट आदि हुन् । भ्रमणको प्रारम्भमा नै पुग्नुपर्ने स्थान हो– ढोरपाटन सिकार आरक्ष । ढोरपाटन उपत्यका र यहाँको रहनसहन शहरीया उपत्यकाभन्दा भिन्दै आनन्द अनुभुती गर्ने क्षेत्र हो । उत्तरतर्फ बगिरहेको उत्तरगंगा नदिले पर्यटकलाई मनोरम ह्दयपान गराइ तिर्खा मेटाउँछ । साबिकको पश्चिमान्चलमा नै चर्चित धार्मिक पर्यटकिय गन्तब्य हो बाग्लुङ कालिका मन्दिर । विशेषगरी चैत दशै, बडा दशैंको समयमा यहाँ भक्तजनको भिडभाड हुने गर्छ । पौराणिक महत्वलाई जोखाई राख्न आधुनिक प्रबिधिको प्रयोग र समन्वन्यकारी भुमिकाले बनेका संरचना महत्वपुर्ण हुन्छन् भन्ने उदाहरण हो शालिग्राम संग्राहलय । छोटो समयमा निर्माण भएर पनि यो संग्राहलय चर्चित पर्यटकिय स्थल बनिसकेको छ । बाग्लुङको पर्यटकिय गन्तब्य मध्यमा पर्छ गाजाको दह । गाजाको दह जमिनी नगरपालिका ३ मा पर्दछ । पछिल्लो समयमा घुम्न ईच्छुक मानिसको रोजाइमा पर्ने मध्यको एक ताल रिघाताल हो । जिल्लाका पर्यटकिय क्षेत्रहरुको सुचिमा अग्रस्थानमा नै पर्ने क्षेत्र हो– गाइघाट झरना । यो झरना बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा पर्छ । जिल्लाको मध्यभागको पहिचान हो घुम्टेको लेक । जुन लेकलाई पृष्ठभुमिमा कयौं कलाकारले गित बनाए । आकर्षक पर्यटकिय स्थलमध्ये घुम्टे लेक पनि एक हो । गलकोट नगरपालिकामा पर्ने घुम्टे लेक समुन्द्री सतहदेखी १ हजार ३९३ फिट उचाईमा रहेको छ ।
अहिले ढोरपाटन उपत्यकामै मोटर पुगेको छ । नेपाल टेलिकमले मोबाइल सेवा विस्तार गरेको छ । उपेक्षामा परेका शैक्षिक संस्थामा सरकारी चासो र दृष्टि पुग्न थालेको छ । सरसफाइको चेतना अभिवृद्धि गरिँदैछ । स्थानीय उद्यमतिर अग्रसर बन्न थालेका छन् । सरकारले यस क्षेत्रमा ठूला राष्ट्रिय आयोजना सञ्चालनको तयारी गरेको छ । यीनै प्रयासको जगमा ढोरपाटनको विकासको सम्भावना बढेर गएको छ । यतिखेर विकासले ढोरपाटनबासीको जीवनशैलीमा पनि परिर्वतन ल्याउन थालेको छ । पूर्वाधार पुगेसँगै अग्ला र निर्जन पहाडमुनि फैलिएको ढोरपाटन उपत्यकामा चहलपहल बढेको छ । अध्ययन अनुसन्धान गर्ने टोलीदेखि निजी भ्रमणका लागि ग्रामीण पर्यटकहरु ढोरपाटन पुग्ने गरेका छन । पर्यटनको विकास गर्ने उद्देश्यले सरकारले २०४४ सालमा ढोरपाटन सिकार आरक्ष घोषणा गरेपछि यस क्षेत्रको प्रचार प्रसार देशविदेशमा फैलिएको थियो । अहिले ढोरपाटन उपत्यकाको वरिपरि जमिनको भाउ बढ्न थालेको छ । ढोरपाटनमा दुई हजार ५०० भन्दा बढी मानिसहरुले जग्गा किनेका छन् । अहिले प्रतिरोपनी दश लाखमा जग्गाको कारोबार भइरहेको छ ।
रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, विकट, हिमाली, लेकाली बस्ती जहाँ खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, सँस्कृतीको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । खामबस्ती रुकुम जिल्लाको ऐतिहासिक स्थल पनि मानिन्छ । भाषा, सँस्कृती मात्र होइन भू–गर्वविद अर्थात् खानी सम्वन्धी रुची हुने मानिसको लागि रुकुमको भ्रमण लाभदायी मानिने छ । अहिले रुकुममा सडक विकासका पूर्वाधार धेरै भएका छन् । निर्माणाधिन मध्यपहाडी लोकमार्ग र दाङ चुनबाङहुँदै रुकुमकोट मोटरबाटो समेत बन्न लागेको छ । त्यसैगरी जिल्लाको मुसिकोट, सोलाबाङगबाट रुकुमकोटसम्म र पूर्बतिरको काक्री र लुकुमहुँदै तकसेरासम्म हिउँदको समयमा यातायातका साधन सञ्चालनमा आएका छन् । जिल्लामा सडक यातायातले सदरमुकाम र आसपासका गाउँहरुलाई सुबिधा दिएको छ । जुन कारणले अहिले ग्रामीण पर्यटकहरुलाई सुविधा हुँदै गएको छ । रुकुमको दुर्गम मानिने तकसेरा गाउँमा समेत सडक यातायात पुगेको छ । तकसेराबाट ढोरपाटन र हुकाम मैकोट जस्ता प्राकृतिक मनोरम स्थल, हिमश्रृखंला, ताल, हिमाली वन्यजन्तु, खाम मगर जातीको सँस्कृती र उनीहरुको ग्रामिण जनजीवन समेत पर्यटकहरुले अध्ययन भ्रमण गर्न सक्ने भएका छन् । रुकुमको ग्रामीण पर्यटनका लागि केही वर्षदेखी थालिएको प्रयासलाई सार्थक रुप दिनका लागिएको छ । दशवर्षे जनयुद्धको उद्गम स्थल मानिने रुकुम अहिले विकास निमार्णमा ऐतिहासिक, सास्ँकृतिक र भौगोलिक दृष्टिले महत्वपूर्ण ग्रामीण पर्यटकीयस्थलको सम्भावना रहेको क्षेत्रको पनि तिव्र गतिले विकास भईरहेको छ । रुकुमलाई सल्यान र दाङ जिल्ला जोड्ने १६२ किलोमिटर सडक कालोपत्रे भईसकेको छ भने रुकुुमलाई बागलुङसँग जोड्ने १३४ किलोमिटर मध्यपहाडी लोकमार्गको कच्ची सडकमा यातायातका साधन सन्चालन भएको छ । ढोरपाटन जानको लागि आफ्नो अनकुल अनुसार रुकुमबाट पनि जान सकिन्छ । पोखरा बागलुङ भएर ढोरपाटन जाने मानिसहरुको लागि बागलुङ–बुर्तिवाङ मोटरमार्ग प्रयोग गर्न सकिन्छ । ढोरपाटनमा १० अलगअलग बस्तीका १०–१० घर छानेर पर्यटकका लागि बस्न मिल्ने गरी होमस्टे सन्चालन गर्न थालिएको छ । यस योजना अनुसार एक घरमा औसत पाँच पर्यटकलाई बस्न मिल्ने व्यवस्था छ । ढोरपाटनमा पर्यटकको प्रवाह बढाउन नेपाल पर्यटन बोर्डले ट्रेकिङ ट्रेल सञ्चालनका लागि उपयुक्त गन्तव्यका रुपमा सूचीकृत गरेको छ । पर्यटन व्यवसायी, पर्यटन बोर्ड, स्थानीय संघसंस्थाहरु सँगको समन्वयमा ढोरपाटनलाई केन्द्रविन्दु बनाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने ट्रेकिङ रुटहरु पहिल्याउने काम पनि भइरहेको छ । धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण स्थान रुद्रतालसम्म पुग्नका लागि बोवाङ गाविसको पल्लेघरदेखि अर्को छोटो पदमार्ग निर्माणका लागि पनि स्थानीयस्तरमै प्रयास थालिएको छ ।
विकास र राज्यको पहुँचबाट वन्चित विकट ढोरपाटन क्षेत्र विस्तारै विकास र प्रगतितिर उन्मुख हुँदैछ । पैदल यात्रा गरेर पुगिने ढोरपाटनमा अहिले एकै दिनको मोटर यात्रामा पुग्न सकिन्छ । विकासको पूर्वाधार निर्माणले यसको मुहार फेरिँदै गएको छ । देशकै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटन क्षेत्रको विकासमा सरकारी, गैरसरकारी र स्थानीयस्तरबाट समेत सक्रियता बढेको छ । भौगोलिक, जैविक विविधता, बहुलसंस्कृति, प्राकृतिक सौन्दर्यता, भूउपयोगिता, हावापानी, वन तथा वनस्पति, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण ढोरपाटनमा विकासमा आशालाग्दा प्रयासको थालनी भएको छ । गरिबी, बेराजगारी, पछौटेपन, अशिक्षाबाट ग्रसित र विकासको प्रक्रियाबाट टाढिएको ढोरपाटनले आफ्नो पहिचान बदल्न लागेको छ । अहिले ढोरपाटन आसपासका सुन्दर बस्तीहरु लघु जलविद्युतले झिलीमिली भएका छन । हामी नेपालीहरुमा ग्रामीण पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा ग्रामीण पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपालीहरुलाई पर्यटक नै नठान्ने प्रवृत्ति पनि हामीकहाँ रहेको छ । अर्कोतर्फ हाम्रो विद्यालयमा पनि पर्यटनको बारेमा अध्यापन गराउने बानी छैन भन्दा पनि हुन्छ । जसको कारणले हाम्रो ग्रामीण क्षेत्रमा पर्यटन शिक्षाको कमी छ । अब हामीले ग्रामीण पर्यटनबाट लाभ लिनको लागि पर्यटनमैत्री समाज र संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागि विद्यालय र विश्वबिद्यालयका हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनु पर्दछ । खासगरी विद्यालय तहमा अतिथि सत्कार, पथ प्रर्दशक, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभेल एजेन्सी संचालन सम्बन्धि ज्ञान दिने व्यवस्था मिलाउनु पर्छ । नेपालीहरुलाई आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र ग्रामीण पर्यटकहरुलाई पनि विदेशी पर्यटक सरह सम्मान गर्ने प्रवृत्तिको विकास गर्न सकियो भने ग्रामीण पर्यटनको विकास हुन सक्छ । ग्रामीण पर्यटनको विकास भयो भने ढोरपाटन मात्र होइन, अनय प्राकृतिक सम्पदाको समेत विकास हँुदै जाने क्रम बढ्छ । ढोरपाटन चिनाउन, ग्रामीण एवम बाह्य पर्यटकहरुको आँगमन गराउन रुकुम, म्याग्दी र बागलुङका खामजातिहरुको बस्तीमा होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई, निर्माण भएका सडकको मर्मत सम्भार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न पर्दछ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ढोरपाटन वरपरका ग्रामीण बस्तीमा परमपरागत रहदै आएको सिपलाई उद्योगमा परिणत गर्दै जानु पर्दछ । जसले गर्दा त्यहाँ पुग्ने विदेशी अथवा स्वदेशी ग्रामीण पर्यटकहरुले त्यहाँ उत्पादन भएका बस्तुहरु किन्न सकुन् । स्थानीय बासिन्दाहरुले पनि पर्यटकहरुलाई मायाको चिनो स्वरुप आफुले उत्पादन गरेको बस्तु दिन सकुन् । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय निकायहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र ग्रामीण पर्यटनको विकास हुन सक्दछ । (लेखक पोखरा निवासी हुन् ।)





