बागलुङ, २९ जेठ– दश वर्ष पहिला तालिम पाएका बागलुङको दहपानीका महिलाले घर घरमा व्यबसायिक कृषि पेशा थालेका छन् ।
तालिम ताका एकदुई जना मात्रै व्यवसायमा लागेका थिए । पछिल्लो समयमा भने धेरै महिलाहरु व्यवसायिक बन्दै गएका हुन् । उनीहरुले मौषमी र बेमौषमी तरकारी खेती, घर घरमा सिलाई बुनाइ र बुटिकजस्ता काम पनि गरेका हुन् ।
केहीले धागोबाट झोला बुन्ने काम पनि गरिरहेका छन् । दहपानी आत्मनिर्भर समूहमा आबद्द भएका महिलामध्ये अहिले ११ जना घरमै उद्यमी भएका छन्भने अन्य २० जनाले तरकारी उतपादन गरिरहेको अध्यक्ष ज्ञानकुमारी श्रीषले बताइन् ।
यहाँका महिलाले बुनेका सामग्री बागलुङ बजारस्थित कोसेली घरमा पठाएर बिक्री कक्षको रुपमा समेत संचालित छ । घोडाबाँधेस्थित नेपाली सेनाको व्यारेक भएकोले कृषि फसल सबैभन्दा धेरै बिक्री हुने गरेको हो । यहाँ झण्डै ७ सय सैनिक कार्यरत छन् । उनीहरुले दैनिक खाने अन्न र तरकारी स्थानीयबाट खरिद गरिरहेका छन् ।
मध्यपहाडी लोकमार्गको छेउछाउमा रहेका दर्जनबढी होटल तथा रेष्टुरेन्टमा पनि उनीहरुको उत्पादन बिक्री भैरहेको हो । निशेधाज्ञाले सवारी साधन नचलेकोले एक महिनादेखि भने तरकारी बिक्री घटेको स्थानीय ओमदेवी पुनले बताइन् । तरपनि सडक निर्माण भैरहेकोले मजदुर तथा ठेकेदारका मानिसले पनि नियमित तरकारी खरिद गर्दा व्यवसायमा सहजीकरण भएको उनको भनाई छ ।
यहाँका किसानले ब्रोइलर र स्थानीय कुखुरा पनि पालेका छन् । व्यारेकमा नियमित कुखुरा बिक्री हुने भएपछि कतिपयले व्यवसायिक उत्पादनमा जोड दिएको बताए । ‘काम गरेमा बिक्री नहुने भन्ने छैन’ स्थानीय सीता कंडेलले भनिन्, ‘मेहेनत अनुसारको फल पाउन सदरमुकाम धाउनु परेको छैन । उनीसहित धनकुमारी परियार समेत बुटिकको प्रशिक्षक बनेर विभिन्न स्थानमा तालिम दिन गएका छन् ।
बिहुँका पुरुषभन्दा महिला बढी सक्रिय रहेको श्रीष बताउँछिन् । ‘कतिपय पुरुषहरु रोजगारीका लागि विदेशमा छन्, कतिपय बजारमा बस्छन्, तर घरमा बसेका महिलाहरु मेहेनती बनेर आत्मनिर्भर भएका हुन्’ उनले भनिन्, ‘मेहेनत गर्नेलाई गाउँपालिकाले अनुदान र सीप हस्तान्तरण गरिदिएमा उत्पादन अझै बढ्ने थियो ।’ वडा तहबाट सम्बोधन भएपनि गाउँपालिकाबाट चासो नभएको उनले बताइन् ।
यहाँ धान उत्पादन हुँदैन । समुन्द्र सतहबाट झण्डै २ हजार मीटरको उचाइमा रहेकोले यहाँ मकै, कोदो, फापरजस्ता फसल फल्छ । प्लाष्टिकको टनेलमा लगाएमा भने काउली, बन्दा सहितका बेमौषमी तरकारी मनग्ये फलाउन सकिने उनले बताइन् । अधिकांस किसानले प्लाष्टिकको टनेलसहित तरकारी फलाएका हुन् ।





