बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लुप्रा खोलामा लेदोसहितको बाढी, १५ घर उच्च जोखिममा

लुप्रा खोलामा लेदोसहितको बाढी, १५ घर उच्च जोखिममा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७८, सोमबार
तस्वीर सौजन्य: निरज थकाली

मुस्ताङ, ३१ जेठ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आउँदा खोला किनारको लुप्रा गाउँ जोखिममा परेको छ । सोमबार दिउँसो करिब १२ बजेदेखि एक्कासि लेदोसहितको बाढी आउँदा बस्ती जोखिममा परेको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए ।
बाढीका कारण बस्तीका करिब १५ घर पूर्ण जोखिममा छन् । गाउँपालिका प्रमुख गुरुङले निरन्तर पानी परिरहेका कारण थप क्षति हुन नदिन सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको जानकारी दिए । ‘माथितिर जमेर बसेको हिउँ हुन्छ । त्यही हिउँ पग्लने र एकैचोटी ठूलो पानी पर्दा बाढी आएको हो,’ उनले भने ।
बाढी पूर्ण लेदोयुक्त भएकाले खोला नै पुरिएको गाउँपालिका प्रमुख गुरुङले जानकारी दिए । ‘एक्कासी कालो लेदोसहितको बाढी आयो । लेदोले खोला नै पुरिएको छ,’ उनले भने, ‘पानी परिरा भएर अझै बढ्ने संकेत छ ।’

तस्वीर सौजन्य: भीम रसाईली

खोलामा बाढी आएको जानकारी पछि जिल्ला प्रशासन कार्यालय मुस्ताङ प्रमुख दिउँसै उक्त क्षेत्रको अनुगमनमा गएको थियो । सिडिओ हिरादेवी पौडेलले हिमताल फुटेकोबारे जानकारी नभए पनि हिम पहिरोको सम्भावना भएको बताइन् ।
‘माथि खोल्साहरु हिउँ, पानी जमेर बसेको हुन्छ । हिउँ पहिरो हो कि भन्ने हाम्रो शंका अनुमान छ,’ सिडिओ पौडेलले भनिन्, ‘तर, गाउँलेहरु खोल्साको पानी बढेर हो भनेका छन् । जानकारी लिँदैछौं ।’ उनले खोलामा माटो, रुखका बुट्यानको लेदोमात्रै आएको जानकारी दिइन् ।
तस्वीर सौजन्य: निरज थकाली/भीम रसाईली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->