पोखरा, १ असार – गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला कास्कीको अन्नपूर्ण गाउँपालिकाले घरघरमै करेसाबारी अभियान संचालनको घोषणा गरेको छ ।
गाउँपालिकाका अध्यक्ष युवराज कुँवरद्धारा सोमबार घोषणा गरिएको आर्थिक वर्ष २०७८÷०८९ को नीति तथा कार्यक्रमले ‘एक घरः एक बहुपोषणयुक्त करोसाबारी’ को अवधारणा ल्याएको हो । करेसाबारीमा पदमिना, कुरिलो, कागती, तुलसी, मरहठ्ठी, लेमनग्रास, मेवा, धनियाँ, घ्युकुमारी जस्ता आयुर्वेदिक महत्व रहेका बिरुवाहरुको उत्पादनसहित उपयोग गर्ने कार्यक्रम राखिने अध्यक्ष कुँवरले घोषणा गरे । रैथाने बाली संरक्षणमा जोड दिँदै आएको पालिकाले कोदो संरक्षणको लागि अनुदानको व्यवस्था पनि गरेको छ ।
पर्यटकीय क्षेत्र समेटिएको पालिकाले पर्यटकीय होटल र रेष्टुरेण्टले कोदोको परिकारलाई मेनुमा अनिवार्य बनाएको छ । गाउँपालिका अध्यक्ष कुँवरले खाना खेर फाल्ने प्रवृत्ति अन्त्यको लागि ‘खाना नफालौं’ अभियान संचालन गर्ने घोषणा पनि गरेका छन् एक परिवार ः एक दुहुनो गाइभैंसी,व्यावसायिक तरकारी खेतीलगायतका कृषिसँग सम्बन्धित कार्यक्रमलाई अनुदान दिइने पनि पालिकाको घोषणा छ ।
पशुधन बीमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भुइँघाँस, पोषिलो हिउँदेघाँस, बहुवर्षै डालेघाँसका बिरुवाहरु लगाउने तथा नर्सरी स्थापना गर्ने योजनालाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । यसैगरी प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा फोटो सुट केन्द्र स्थापना गर्ने र सो गाउँलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरी परम्परागत सांस्कृतिक गाउँको बनाउने पालिकाको घोषणा छ ।
गाउँपालिकाले प्राविधिक सीसहितको गुणस्तरीय शिक्षा सार्थक बनाउनका लागि शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्ने उल्लेख गरेको छ । पालिकाले आगामी आर्थिक वर्षमा कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण वैदेशिक तथा स्वदेशमा रोजगार गुमाएका युवाहरुलाई उनीहरुको क्षमता अनुसार स्वरोजगार बनाउने, पदमार्ग, पर्यटकीय क्षेत्रको विकास, शिक्षाका गुणस्तर सुधार एवं सामाजिक सुरक्षाको क्षेत्रमा यसअघि संचालित कार्यक्रमहरुलाई पालिकाले निरन्तरता दिएको छ ।





