पोखरा, १ असार– गण्डकीमा कृष्णचन्द्र नेपाली नेतृत्व सरकारले आज बजेट ल्याउँदैछ । सोमबार पेश भएको नीति तथा कार्यक्रमबारे ‘कर्मकाण्डी’ छलफलपछि जारी हुने बजेटको आकार सानो हुने निश्चित छ ।
नयाँ मुख्यमन्त्री बनेका नेपालीले हतारमा ल्याउन लागेको बजेटको आकार कति सानो भन्ने अझै टुंगो नलागेको अर्थमन्त्रालय स्रोतले बताएको छ । अघिल्लो वर्ष गण्डकी सरकारले ३४ अर्ब हाराहारीको बजेट ल्याएको थियो । असार १ गते बजेट ल्याउनैपर्छ ।
संघबाट संघीय सरकारबाट सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ अनुदान पाएको गण्डकी सरकारको लागि क्रमागत योजनाको लागि मात्रै १४ अर्बभन्दा बढी रकम आवश्यक पर्छ । आन्तरिक स्रोतबाट गण्डकीले मुस्किलले ५ अर्ब राजश्व उठाउने अवस्था रहेको छ । कोभिड महामारीका कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बाध्यतामा रहेको नयाँ सरकारले ‘नयाँ कार्यक्रम’ ल्याउनै सकस छ ।





