पोखरा, १ असार – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कार्यक्रम मंगलबार बहुमतबाट पारित भएको घोषणा गरे ।
प्रदेश सभामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिमूलक रुपमा छलफल गरी मंगलबार पारित गरिएको हो ।
छलफलमा सबै दलका सांसदले भाग लिएका थिए ।
प्रतिपक्षका सांसदहरुले पहिलाका नीति तथा कार्यक्रमहरुलाई प्राथमिकतामै राखेर अगाडि बढ्न सरकारलाई सुझाव दिएका थिए । सत्ता पक्षका सांसदहरुले सरकार गठन भएको छोटो अवधिमा बनाइएको नीति तथा कार्यक्रममा धेरै विषय समेट्न खोजे पनि कतिपय छुटेकाले बजेटमा समावेश गरेर जाने बताए ।

सांसदले उठाएका प्रश्नमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिदै सरकार निर्माणका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएर आगमी दिनमा पनि सहयोगको अपेक्षा गरे । मुख्यमन्त्री पोखरेलले खासगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विशेष धन्यवाद दिए । उनले भने, ‘उहाँको सहयोगबिना यो नीति तथा कार्यक्रम आउन सम्भव थिएन, बजेट निर्माणमा पनि उल्लेख्य सहयोग छ ।
सरकारले आजै ४ बजे बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफै बजेट प्रस्तुत गर्ने छन् । सदनमा बजेट अर्थमन्त्रीले प्रस्तुत गर्ने चलन छ । मुख्यमन्त्री पाेखरेलले आफुसँगै ४ जना मन्त्री नियुक्त गरेपनि मन्त्रालयकाे जिम्मेवारी कसैलाई पनि दिएका छैनन् । सबै मन्त्रालय मुख्यमन्त्रीसँगै रहेकाले आजकाे बजेट भाषण पनि मुख्यमन्त्री पाेखरेलले प्रस्तुत गर्दैछन् ।





