तनहुँ, २ असार – गण्डकी प्रदेश सरकारले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गर्ने भएको छ । मंगलबार प्रदेशसभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दू अस्पताल, बागलुङको धौलागिरी अस्पताल, स्याङजाको भिरकोट नगर अस्पतालसंगै तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।
नेपाल सरकारसंगको सहकार्यमा कास्कीको पुँडीटार–तनहुँको घारी क्षेत्रलाई समेटेर प्रदेशस्तरिय औधगिक क्षेत्र निर्माणका लागी पनि बजेट विनियोजन गरिएको छ ।
यस्तै, तनहुँको भिमाद र नवलपुरको डेढगाउँ जोड्ने सडक र तनहुँको केही भागलाई समेट्ने शालिग्राम करिडोरका निम्ति पनि आवश्यक बजेट विनियोजन गरेको मुख्यमन्त्री नेपालीले जनाए । यी दुई सडक पुरानै योजना हुन् । पृथ्वीसुब्बा गुरुङको पालामा सुरु भएका यी दुई योजनालाई मुख्यमन्त्री नेपालीले पनि प्राथमिकता दिएका छन् ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक स्रोत परिचालन अपेक्षाकृत रूपमा बढ्न नसकेको, राजस्व बाँडफाड वापत प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएको कारण चालु आर्थिक बर्षको तुलनामा आगामी बर्षको बजेट घटेको मुख्यमन्त्री नेपालीले बताए ।





