बागलुङ, २ असार– बागलुङ नगरपालिका–१४, अँधेरीखोलाकी पार्वती घिमिरे आइतबार बिहानै नजिकको सहकारीमा पुगिन् । उनको घरदेखि सहकारीमा पुग्न झण्डै एक घण्टा लाग्छ । बिहान घरको काम छोडेर सहकारीमा पुग्नु उनको बाध्यता थियो ।
विदेशबाट आएको पैसा बोकेर घर फर्किँदा उनको समय धेरै गुज्रियो । उनी नारायणस्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थामा पुग्दा बिहान ७ बजेनै ठुलो लस्कर थियो । कसैले विदेशबाट आएको रेमिट्यान्स लिन आएको बताउँदै थिए । कसैको खातामा रहेको पैसा निकाल्नुपर्ने ।
बागलुङ नगरपालिका–१२ टाकुरीका त्रिलोचन पाध्या त दुई घण्टा पैदल हिँडेर सहकारीमा पुगेका थिए । सहकारी दिउँसो नखुल्ने थाहा पाएपछि उनी बिहानै त्यहाँ पुगेका हुन् । गोठका गाई भंैसी दुहुने बेला घरबाट निस्केका पाध्या खाजा खाने समयमा मात्रै घर फर्किए ।
गाउँघरमा कामको समय आएको छ । बर्खा लागेसँगै खर्च जोहो गर्नुपर्ने बाध्यता छ । पाध्याले सहकारीमा जम्मा गरेको पैसा निकालेर यो बर्खे खर्च चलाउने बताए । सातामा दुई दिनमात्रै वित्तिय संस्था खुल्ने भनेकाले उनीहरु पैसा निकाल्न सहकारी पुगेका थिए । लामो बाटो, खर्चिलो समय सबैको बेवास्ता गरेर सहकारी पुग्दा रित्तो हात घर फर्किए ।
बिहान तीन घण्टा मात्रै खुल्ने सहकारीबाट समयमा पैसा ननिकाले उनीहरुको काम बन्दैन । समयमा खेतबारीमा काम गर्ने खेतालाको ज्याला भुक्तानी हुँदैन भने बर्खे खर्च जोहो गर्न कठिन हुन्छ । निशेधाज्ञामा तोकिएको समय र गाउँघरमा चलेको कामको माचोको चेपुवामा सर्वसाधारण परेका छन् । सहकारीले भौतिक दुरी राखेर सर्वसाधारणको काम गर्दा पनि प्रशासनले तोकेको समयमा भुक्तानी दिन नसकेको बताउँछ । ‘बजार र गाउँमा एकै हिसावले सोचेर आदेश हुन्छ, टाढाको बाटो हिँडेर आएकालाई कसरी घर फर्काउनु’ सहकारीका प्रबन्धक भरत पौडेलले भने ‘बिहान ७ बजे खुलेको सहकारी कहिलेकाहीँ त दिउँसो ३ बजेसम्म पनि लाईन सकिँदैन ।’
बागलुङमा लामो समय बन्द भएका बैंक तथा वित्तिय संस्थालाई चौथो पटक एक साताका लागि निशेधाज्ञा थपिँदा सातामा दुई पटक बिहानमात्रै खुल्न पाउने व्यवस्था गरिएको थियो । पाचौं पटक निशेधाज्ञा थपिँदा सातामा चार बार बैंक तथा वित्तिय संस्था खोल्न अनुमति दिईएको छ । निशेधाज्ञामा बैंक तथा वित्तिय संस्था खोल्नका लागि प्रशासनले तोकेको समयका कारण सर्वसाधारण मर्कामा परेको गुनासो छ । शहर बजारको मुल्यांकन गरेर गाउँका वित्तिय संस्थालाई पनि सोही आदेश मानभन्दा समस्या भएको पौडेलले बताए । ‘सातामा चार दिन बिहान मात्रै खोल्दा कोरोना नलाग्ने ? अरु दिन अन्य समयमा लाग्ने ?’ पौडेलले भने ‘यो कस्तो नियम हो, बुझ्नै गाह्रो भयो ।’
जिल्ला प्रशासन कार्यालयको भने आफ्नै तर्क र अनुभव छ । ‘हाम्रो पहिलेको अनुभवले के भन्छ भने, आलोपालो गर्दा वा दिउँसोमा खोल्दा चेक देखाएर प्रहरीको आँखा छल्दै मुभमेण्ट धेरै भयो’ प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले भने ‘सबै संस्था एकैपटक र बिहानको समयमा मात्रै खोल्दा मुभमेण्ट कम हुन्छ भन्ने हो ।’ उनले हरेक निर्णयमा गुनासा हुने भन्दै राम्रोका लागि भएको प्रयासमा सबैको साथ हुनुपर्ने तर्क गरे ।





