पोखरा, ४ असार– हिमालपारी मुस्ताङमा ५५ वर्षमाथिका नागरिकलाई १ असारमा कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने कार्यक्रम थियो । खोप लगाउने दिन बिहानसम्म थासाङ गाउँपालिका १ टुकुचे र २ कोबाङमा खोप पुगेको थिएन । जिल्ला स्वास्थ्य कार्यालयले थासाङ ४ लेते को प्राथमिक स्वास्थ्य केन्द्रसम्म खोप पु¥याइदिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक सीताराम कार्कीले असार १ गते विहानै खोप लिन आउन टुकुचे र कोबाङका स्वास्थ्यचौकी प्रमुखलाई आग्रह गरे । तर, उनीहरुसँग गाडी थिएन । वडा कार्यालयको मोटरसाइकल मागेर टुकुचे स्वास्थ्य चौकीका प्रमुख अहेब सविन खत्री र कोबाङ स्वास्थ्य चौकीका स्वास्थ्य सहायक लालबहादुर रोकाया खोप लिन लेतेतर्फ लागे ।
बाटोमा पर्ने छाक्ताङ खोला तर्न सक्ने अवस्था थिएन । खोलामा आएको बाढीले वारी र पारी दुबैतर्फ गाडी रोकिएका थिए । गाडी तर्न नसक्ने बाढीमा मान्छे तर्न सक्ने कुरा भएन । गाउँपालिकाको गाडीमा ल्याइएको खोप खोलापारी अड्किएको थियो भने खोप लिन मोटरसाइकलमा गएका सविन र लालबहादुर वारी अड्किए ।
पारी गाउँपालिकाको गाडीमा ड्राइभर मात्रै थिए । खोप अभियान आप्mनो स्वास्थ्य चौकीमा नरोकियोस् भनेर उनीहरुले खोप तार्ने उपाय खोजे । छाक्ताङ खोलामै केही माथि पक्की पुल बनाउँदै गरेको दृश्य देखे । उनीहरुले त्यहींबाट एउटा लामो फलामको डण्डी ल्याए ।
डण्डीमा खोप झुण्ड्याएर सवारी चालक गगन विकले डण्डीको एउटा छेउ खोलापारीतर्फ ताके । उनले धान्न सकिञ्जेल डण्डी पारितिर लगे । वारी कोबाङका स्वास्थ्य सहायक लालबहादुरले डण्डी समाते । ‘फलामको डण्डीसँगै खोप पनि पारी ता¥यौं’, टुकुचेका अहेब सविनले भने, ‘यसरी खोप लगेर गाउँका जेष्ठ नागरिकलाई खोप लगायौं ।’ यसरी खोप लगेर बिहान १० बजेदेखि नै खोप लगाएको उनले बताए ।
मुस्ताङमा कोरोनाविरुद्धको पहिलो डोज खोप फागुन २३ र २४ गते लगाइएको थियो । टुकुचेमा ५५ बर्ष माथिका जेष्ठ नागरिकले पहिलो डोज ६० जनाले लगाएका थिए । अहिले दोस्रो डोज ४४ जनाले लगाए । पहिलो डोज लगाएका १६ जना जिल्ला बाहिर काठमाडौं, पोखरा लगायतका स्थानमा गएकाले छुटेका छन् । छुटेकालाई अर्को चरणमा समेट्ने जनाएको छ ।
टुकुचे र कोबाङ लैजान बाढी बगेको खोलाबाट खोप तार्दै गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडिओ टुकुचेका अहेब सविनले खिचेका थिए । ‘मैले नै खिचेको हो, त्यो भिडियो’, सविनले भने, ‘यसरी भाइरल होला भनेर सोचेकै थिइन ।’
खोप लगेपछि सविनले स्वास्थ्य चौकीका अनमी एन्जिला थकालीलाई देखाए । ‘हामीले यसरी दुःख गरेर खोप तारेम् नि सिस्टर’, सविनले एन्जिलालाई भने । एन्जिलाले यस्तो दुख गर्नुभएछ भन्दै भिडिओ सामाजिक सञ्जालमा राख्न आग्रह गरिन् । सविनले मानेनन् ।
‘भोलि नेगेटिभ कमेन्ट आउला, खोप खसेर बगाएको भए के हुन्थ्यो ? प्रश्न उठ्ला भनेर उहाँले भिडियो राख्न मान्नुभएन’, एन्जिलाले ढोरपाटनलाई भने, ‘त्यसो भए म राख्छु, परेको पनि मै बेहोर्छु भनेर मैले टिकटकमा भिडिओ राखिदिएँ ।’ सविन र लालबहादुरले पानीमा भिज्दै बाढी उर्लेको खोला तारेर खोप स्वास्थ्य चौकी पु¥याएको एन्जिलाले बताइन् ।
मुस्ताङमा पहिलो र दोस्रो दुबै डोज कोभिशिल्ड खोप लगाएको सविनले बताए । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार अहिलेसम्म मुस्ताङका १ हजार ४०५ जनाले दुबै डोज खोप लगाइसकेका छन् । खोप पाउने सबैजना ५५ बर्षमाथिका छन् । अहिले फेरि खोप अभियान थालेको जिल्ला स्वास्थ्य प्रमुख भण्डारीले बताए ।
मुस्ताङमा पानी पर्न नरोकिएकाले खोप मात्रै होइन, अन्य स्वास्थ्य सामग्री ढुवानीमा पनि समस्या भएको टुकुचेका अहेब सविनले बताए । उनले भने, ‘एक हप्तादेखि पानी परिरहेको छ, बाढीले सबै ठप्प छ ।’





