
बागलुङ, ६ असार – जिल्लाको बरेङ गाउँपालिकाको सातौं गाउँसभामा शनिवार अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरी
गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रमको पूर्णपाठ :
गाउँसभाका सभाध्यक्ष महोदय,
सभाका सदस्यहरु,
- नेपालको संविधान बमोजिम संघीय शासन व्यवस्थालाई स्थानीय तह देखि नै सुदृढीकरण गरी स्थानीय सरकारको माध्यमद्वारा जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न तर्फ अगाडि बढिरहेकै समयमा कोभिड-१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीले निम्त्याएको चुनौतीपूर्ण र असहज परिस्थितिमा वरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम यस सम्मानित गाउँसभामा प्रस्तुत गर्न पाउँदा खुसी लागेको छ ।
- राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन तथा सशस्त्र संघर्ष लगायत विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।साथै विभिन्न राजनीतिक आन्दोलनको क्रममा बेपत्ता र पीडित नागरिकहरुप्रति उच्च सम्मान र सहानुभूति प्रकट गर्दछु ।
- यसैबीचमा गाउँसभाले गाउँसभा सदस्य तथा वडा नं. २ का वडा सदस्य समेत रहुनभएका
जनसेवामा प्रतिवद्ध शालिन नेता श्री मेख बहादुर छन्त्याल आलेलाई गुमाएको छ ।उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
- नेपाल लगायत पुरै विश्व जगत कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको छ । कोभिड-१९ को कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपालीलगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । यस वरेङ गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
- कोभिड-१९ भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा स्वैच्छिक रुपमा आर्थिक, स्वास्थ्य सामग्री तथा जिन्सी सामान सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति, बैंक तथा वित्तीय संस्था, सरकारी, गैर सरकारी संस्था एवम् सम्पूर्ण महानुभावहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।
- कोरोना महामारीको उच्च जोखिमको यस घडीमा एकजुट भई महामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यमा अग्रपंक्तिमा अहोरात्र खटिनु हुने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, शिक्षक, पत्रकार, सरसफाइकर्मी, सवारी चालक, नागरिक समाज लगायत सबैको योगदानको उच्च प्रशंसा गर्दछु । जोखिमपूर्ण यस परिस्थितिमा आ-आफ्नो तहबाट खटिनु हुने जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, व्यवसायी, निजी क्षेत्र, नागरिक समाज लगायत सबै व्यक्ति तथा संघसंस्थालाई धन्यवाद व्यक्त गर्दछु । हामीले जित्नै पर्ने यो रोग विरुद्दको लडाईमा सबैको थप ऐक्यवद्धता, सहकार्य, धैर्यता र आत्मविश्वासको आवश्यकता रहको छ । “हामी महामारीलाई जित्छौं” भन्ने आत्मविश्वासका साथ अझ बढी सतर्कता, समन्वय एवं दृढताका साथ यस महामारी विरुद्धको अभियानमा धैर्यतापूर्वक जुट्न सबैलाई आह्वान गर्दछु ।
- स्थानीय सरकार बनेको चार वर्ष पुरा भै सकेको छ । शुन्य विन्दुबाट यात्रा शुरु गरेर नयाँ अनुभव र अभ्यासका साथ नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम संघीय प्रणालीलाई संस्थागत गर्न बरेङ गाउँपालिकाले नेपाल सरकार र प्रदेश सरकारसँग सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बमोजिम निकै महत्वपूर्ण र ठोस उपलव्धिहरु हासिल गर्दै हाम्रो सरकार अगाडि बढिरहेको छ । यस्तो जटिल र चुनौतिपूर्ण मोडमा लोकतन्त्रको संस्थागत विकास गर्न सदा सजग र संवेदनशील रहि हाम्रो सरकार काम गर्दैछ, नतिजा ल्याउँदैछ र अघि बढ्दैछ ।
सभाध्यक्षज्यू,
सभाका सदस्यज्यूहरु,
अब, म यस विषम परिस्थितिमा वरेङ गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा हाँसिल गरेका केही महत्वपूर्ण उपलव्धिहरु सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु:-
- नेपाल सरकारको निर्णय अनुसार हुग्दिशिर स्वास्थ्य चौकीको स्तरोन्नति गरी पाँच शैयाको आधारभूत अस्पताल बनाउने भनिएबमोजिम सोही स्थानमा पाँच शैयाको अस्थायी कोभिड अस्पताल निर्माण गरी चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गरिदैं आएका छौं ।सर्वप्रथम, यस्तो विषम परिस्थितिमा समेत जनताको जीवनको रक्षाका लागि २४ शै घण्टा अहोरात्र खटिनुहुने चिकित्सक सहितका अस्थायी कोभिड अस्पतालका नर्स तथा अन्य सम्पूर्ण स्वास्थ्यकर्मी प्रति उच्च सम्मान प्रकट गर्दछु ।
- सामुदायिक रेडियो विहानी ८९ मेगाहर्जको सहकार्यमा प्रत्येक हप्ता COVID-१९ विशेष हेलो डाक्टर रेडियो कार्यक्रम, सन्देशमूलक सूचना एवं चिकित्सकको उपस्थितिमा वडास्तरीय निगरानी तथा सचेतना समिति देखि उच्चस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समिति लगायतका संस्थागत संयन्त्रहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरी हाल कोरोना विरुद्धको अभियानमा सबै संयन्त्रहरु क्रियाशिल रहदैं आएका छन् ।यसबाट नागरिकको घर घरमा कोरोना महामारीबाट अपनाउनुपर्ने सावधानीका सम्बन्धमा सचेतना ह्ववात्तै बढेर गयो । जसले कोरोना सँग मिल्दोजुल्दो लक्षणहरु देखिँदा स्वास्थ्यकर्मी सँग परामर्श लिने तथा स्वयं विरामी नै अस्थायी कोभिड अस्पतालमा उपस्थित हुने नागरिकहरुको संख्यामा उल्लेखनीय वृद्धि भै हामीलाई कोरोना महामारी सँग जुध्न सहजता मिल्यो ।
- हामी कोरोना भाईरस विरुद्धको लडाईमा विगत १ वर्ष अगाडिबाट सामुहिक संघर्ष गर्दै आज सम्म आईपुग्दा शुन्यताबाट शुरु भएको यात्रा चिकित्सकीय सेवा सहित अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न सक्ने अवस्थामा पुग्न सफल भएका छौं । हाल सम्म अस्थायी कोभिड अस्पतालमा ४८ जना कोभिड संक्रमित विरामीहरु भर्ना भै ४४ जना पूर्णत: कोरोना मुक्त भै आ-आफ्नो घरमा पुगिसक्नु भएको छ र हाल ४ जना कोरोना संक्रमितहरु उपचाररत हुनुहुन्छ । हामी सँगको मौजुदा जनशक्ति, स्रोत साधन तथा अनुभव समेतका आधारमा यो निकै महत्वपूर्ण उपलव्धिका रुपमा लिएका छौं ।
- अस्थायी कोभिड अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको अग्रणी भूमिका तथा सवैको सामूहिक प्रयासका कारण वडास्तरमा गरिएको पिसिआर परीक्षण, RDT परिक्षणबाट यसै विचमा अस्पतालमा भर्ना भएका वाहेक कोरोना संक्रमि ६७ जनाले होम आईसोलेशनमा बसेर नै कोरोना जित्नुभयो भने २७ जना संक्रमितहरु होम आइसोलेसनमा हुनुहुन्छ । यसलाई सिंगो बरेङ गाउँपालिकाको जितको रुपमा लिएका छौं ।
- मिति २०७८ साल जेष्ठ २७ गतेबाट वडा नं. ५ बाट गर्भवती र सुत्केरी महिलाहरुका लागि पोषण प्याकेज वितरणको शुभारम्भ भै सकेको, महिला स्वास्थ्य स्वयंसेविकाका लागि स्वास्थ्य बिमा, दीर्घ रोगीहरु लगायतका रोगीहरुका अत्यावश्यक तथा आवश्यकीय सहुलियत दरमा औषधि प्राप्तिका लागि सुखौरा र सल्यान स्वास्थ्य चौकीमा सामुदायिक औषधि कार्यक्रमको सुभारम्भ तथा स्वास्थ्य सामाग्रीको प्रवन्धको सुनिश्चितता मार्फत स्थानिय सरकारको अनुभूति दिने गरी अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छौं ।
- प्रकोप विपद् व्यवस्थापन कोषको स्थापना गरिएकोले विभिन्न व्यक्ति एवं निकायबाट उल्लेखनीय रुपमा योगदान स्वरुप सहायता प्रदान गरिसक्नु भएको छ । अझै विभिन्न निकाय तथा व्यक्तिबाट सहयोगको प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । यसै बिचमा कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा विभिन्न राजनीतिक दल, गैरसरकारी संघसस्था, नागरिक समाजबाट भएको सहयोग एवं सद्भावजन्य कार्य प्रसंशनीय नै छ र यस्ता सहयोगको सदैव स्मरण गरिनेछ ।
कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पतालमा मौजुदा जनशक्तिलाई आवश्यक सहयोग गर्नका लागि १ जना कोभिड समन्वय अधिकृत र २ जना स्वास्थ्यकर्मी व्यवस्थापन, कोभिड संक्रमित गर्भवती तथा सुत्केरीलाई रु ५०००।– बराबरको पौष्टिक आहारको प्रवन्ध,ईलाका प्रहरी कार्यालय, बरेङडाँडाबाट आवश्यकीय सुरक्षाको प्रत्याभूति, वडा नं. ५ सुखौरामा वडा कार्यालयको समन्वयमा उचित मूल्यमा खाद्य सुरक्षाको सुनिश्चितता, बैंक तथा वित्तिय संस्था, सहकारी, पत्रकार तथा सामुदायिक संघसंस्थाहरु लगायत सम्पूर्णको सक्रियताबाट नै हाम्रो सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उल्लेखनीय उपलव्धिहरु हासिल गर्न सम्भव भएको छ ।
गाउँसभाका सदस्यज्यूहरु,
अब,म आर्थिक वर्ष २०७७/७८ मा घोषित नीति तथा कार्यक्रमको कार्यान्वयन मार्फत हासिल भएका महत्वपूर्ण उपलव्धिहरु यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु:-
- बरेङ गाउँपालिकाले नेपालको संविधानको अनुसूचि-८ मा उल्लेखित स्थानीय तहको एकल अधिकार सूचीमा प्राप्त अधिकार क्षेत्रभित्रका विषयमा ५० वटा महत्वपूर्ण ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याएको छ । यसबाट हाम्रो सरकारलाई उभिने र बिस्तारै हिँड्ने आधारहरु खडा गरेर स्थानीय सरकारको विधायिकी अधिकारको संस्थागत गर्न हाम्रो सरकार सफल भएको छ ।
- स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानुन बमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दर्ता भएका जम्मा ६ वटा विवादहरुलाई आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको छ ।अझै योजनाको कार्यान्वयनका क्रममा स्थानीयहरु विच भएको विवाद उच्च अदालत पोखरा, वागलुङ इजलास, बागलुङमा विचाराधिन रहेको अवस्थामा समेत स्थानीय न्यायिक समितिले मेलमिलाप मार्फत विवाद समाधान गरेबाट हाम्रो न्यायिक समितिको सक्षमता अभिवृद्धि हुँदै गएको र स्थानिय न्यायिक समिति प्रति नागरिकको जनआस्थामा उल्लेख्य रुपमा वृद्धि भएको छ । यसले “हाम्रो घर शान्ति नै विश्व शान्ति” को मान्यतालाई व्यवहारिक रुपमा नै स्थापित गरेको छ ।
- गाउँपालिकाले लिएको नागरिकमैत्री स्थानीय राजस्व नीतिबाट स्थानीय कर संकलन गरिनुका साथै व्यवसाय दर्ता, होमस्टे दर्ता लगायत नयाँ आन्तरिक स्रोतको दायरा फराकिलो बनाई चालु आर्थिक वर्ष ०७७/७८ मा अनुमानित आन्तरिक आय प्राप्त हुने संशोधित अनुमान छ ।
- यस संकटको घडीमा समेत गाउँपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रकृयामार्फत चालु आर्थिक वर्ष ०७७/७८ मा स्थानीयस्तरको विकासका लागि वार्षिक योजना बनाई कार्यान्वयन गर्दै गर्दा जेष्ठ मसान्त सम्म उपभोक्ता समिति मार्फत कार्यान्वयनमा भएका पूँजिगत प्रकृतिका योजनाहरुको प्रगति करिव ९० प्रतिशत पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाह सँग जोडिएका योजना तथा कार्यक्रम करिव सम्पन्न भै सकेको अवस्था छ । यसवाट जनप्रतिनिधिहरुको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाइ,अनुगमन एवं जनताको सुख दु;खमा साथ दिने गरी हाम्रो सरकार सशक्त हुँदै गइरहेको छ ।
- हाम्रो सरकारले आफ्नो कार्य सञ्चालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोगको लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग साझेदारी एवं संयुक्त व्यवस्थापनमा बृहत पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आएको छ । जस्तै पेरिवाङ-वरेङ सडक नेपाल सरकार,नयाँ बजार सल्यान सुखौरा सडक निर्माणमा प्रदेश सरकार, धुल्लुलिँउवा माध्यमिक विद्यालय भवन र लुरुङ सामुदायिक स्वास्थ्य इकाइ भवनको निर्माणमा जिल्ला समन्वय समिति तथा सुदला- वरेङ- नाम्दुक सडक निर्माणमा स्थानीय पूर्वाधार विकास कार्यक्रम सँग साझेदारी गरी समन्वय, सहकारीता र सहअस्तित्वको सिद्धान्तलाई व्यवहारत स्विकार गरेका छौँ ।
- नयाँ संरचना, कर्मचारी अभाव, भौगोलिक कठिनाई,कानुनी अस्पष्टता र अन्यौलताका बावजूद पनि सार्वजनिक सेवा प्रवाह र सुशासनलाई पहिलो प्राथमिकता दिंदै जनताको सुख दुखमा अभिभावकत्व ग्रहण गर्दै वडाहरुमा घुम्ती सेवा मार्फत गाउँ गाउँमा स्थानिय सरकारको अनुभूति गराउन हाम्रो सरकार सदा प्रयत्नशील छ ।
- प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्न पाउने संवैधानिक अधिकारलाई प्रत्याभूत गर्न यस स्थानीय सरकाले स्वास्थ्यकर्मी लगायतको सुविधा सहित लुरुङ सामुदायिक स्वास्थ्य ईकाइ र थप्लुङ सामुदायिक स्वास्थ्य इकाई गरी २ वटा ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी गाउँपालिका भरि ५ वटा सामुदायिक स्वास्थ्य ईकाइ तथा ५ बटा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह गरिएको छ ।अझै हाम्रो स्वास्थ्य सेवालाई थप प्रभावकारिता प्रदान गर्न श्री बराहकोट प्राथमिक विद्यालयबाट विद्यार्थी स्वास्थ्य परीक्षणको शुभारम्भ गरी अधिकांश सामुदायिक विद्यालयहरुमा प्राथमिक स्वास्थ्थ साम्रगी बाकस, किट, स्ट्रेचर तथा तौल मापन मेशिन समेत उपलव्ध गराई सकिएको छ ।
- गर्भवती महिलासँग स्वयम् सेविका भेटघाट,बहुक्षत्रीय पोषण सुधार कार्यक्रम,उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार,पोषिलो झोला,सामुदायिक औषधि कार्यक्रमहरु मार्फत बरेङवासी सम्पूर्ण नागरिकहरुलाई स्वस्थ बनाउन गाउँपालिकाले जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी गरेको छ ।
- महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषणसम्वन्धी क्षेत्रमा गरेको उल्लेखीय कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सेवा प्रति उत्प्रेरित गर्न सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुको नि:शुल्क स्वास्थ्य विमा तथा हेलो महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सञ्चालन गरिएको छ ।
- बरेङ गाउँपालिका वडा नं. १ मा सामुहिक भैँसीपालन, वडा नं. २ मा अलैंची खेति तथा पुरुषोदय माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक धार तर्फको कृषि विषयको शिक्षा, वडा नं. ३ मा फलफुल खेति, वडा नं. ४ मा बाख्रापालन र वडा नं. ५ मा आलु खेति गरिसकिएकोमा सबै क्षेत्रबाट सकारात्मक प्रयत्न भएका छन ।
- सामुदायिक रेडियो विहानी विषयगत हाँजिरीजवाफ प्रतियोगिता, हेलो विद्यार्थी अभिभावक कार्यक्रम, घर-घरमा शिक्षक, विद्यार्थी स्व-अध्ययन सिकाई सामग्री वितरण, हेलो लोकसेवा क्वीज कार्यक्रम, कक्षा ४, ७ र ९ को गाउँपालिकास्तरीय शैक्षिक उपलव्धि मापन परीक्षा कार्यक्रम, प्राथमिक विद्यालय पुस्तकालय लगायतका कार्यक्रम मार्फत शैक्षिक गतिविधिलाई निरन्तर क्रियाशील राख्दै अगाडी बढिएको छ ।
- महेन्द्र माध्यमिक विद्यालय लगायत पाँच वटा स्थानमा प्रारम्भिक बालविकास केन्द्र सञ्चालनको अनुमति, सबै वाल विकास सहजकर्ताहरुलाई सामाग्री सहितको तालिम, ज्ञानोदय र वाल विकास आधारभूत विद्यालयसहित सवै माध्यमिक विद्यालयहरुमा अतिरिक्त कक्षा सञ्चालन अनुदान, भृकुटी माध्यमिक विद्यालयमा लोकसेवा आयोग तयारी कक्षा सञ्चालन, पुरुषोदय माध्यमिक विद्यालय लगायत अधिकांश माध्यमिक विद्यालयमा राष्ट्रसेवक कर्मचारी विद्यालयमा कार्यक्रम, धुल्लुलिउँवा माध्यमिक विद्यालय सहितका विद्यालयहरुमा विद्यार्थी सँग एक दिन प्रहरी कार्यक्रम सञ्चालन, एक शिक्षक एक झोला, सर्वोदय क्याम्पसको सहजीकरणमा कक्षा ६ र ७ मा प्राध्यापक नमूना कक्षा शिक्षण सम्पन्न तथा शारदा माध्यमिक विद्यालय लगायत १७ वटा विद्यालयमा गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिसकिएको छ । यिनै शैक्षिक योजना तथा कार्यक्रमहरुको सफल कार्यान्वयनबाट “समृद्ध गाउँपालिका निर्माणको आधार, सामुदायिक विद्यालयको शैक्षिक सुधार” भन्ने हाम्रो सोचलाई व्यवहारिक रुपमा कार्यान्वयनको दिशामा अगाडि बढाउँदै छौं ।
- कर्मचारी समायोजन एवं व्यवस्थापन पश्चात भएको कर्मचारीको पूर्ति सँगै कर्मचारीहरुको उच्च कार्यसम्पादन एवं लगनशिलताका कारण सेवा प्रवाहमा चुस्तता आएको छ । अझै विश्वव्यापी महामारी कोभिड-१९ ले सिर्जना गरेको विषम परिस्थितिले मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा पनि राष्ट्रसेवक कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित भइ उच्च मनोबलका साथ सेवा प्रवाह गरी स्थानीय सरकारका प्रतिफलहरुलाई नागरिक समक्ष पुर्याउन खेलेको सकारात्मक भूमिकाको सदा सर्वदा स्मरण गरिनेछ । नवप्रवर्तन र सृजनशील कार्य गर्ने सबै तहका राष्ट्रसेवकहरुलाई उत्प्रेरित गर्न बजेटमा आवश्यक व्यवस्था गरिनेछ ।
- लिँउवा समाज सुधार तथा पशुपालक कृषक समूहद्वारा उत्पादित दूधको चिस्यान गरी वजारीकरणका लागि चिलिङभ्याट व्यवस्थापनमा गाउँपालिकाको सहयोग, स्थानीय प्रजातिका कुखुराको संरक्षण तथा लोपोन्मुख भेडाको संरक्षण गर्न थुमा वितरण जस्ता कार्य हाम्रो सरकारको पशुक्षेत्रमा भएका उल्लेखनीय कदमहरु हुन् ।
- अनुदानमा आधारित विविध कृषिजन्य सामाग्री वितरण गरी कृषिमा आधुनिकीकरण गर्न खोजिएको छ । बरेङ गाउँपालिकाले मासु, अण्डा र दुधमा आत्मनिर्भर कार्यक्रमलाई अनुदानमा आधारित बनाई भकारो सुधार, पशु आहार र पशु स्वास्थ्य कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।
- गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा, संरक्षण तथा बचाउ SSP कार्यक्रम अन्तर्गत हाम्रो सरकारले गाउँपालिका भित्रका असाध्य रोग लागेका विपन्न नागरिकको स्वास्थ्य उपचारार्थ आर्थिक सहायता समेत तत्कालै सम्बोधन गरी स्थानीय सरकारको अनुभूति दिने प्रयास गर्दै आएका छौँ ।
- एक घर एक महिला रोजगार कार्यक्रम, उज्यालो बालवचत कार्यक्रम, जुम मार्फत सूचना प्रविधि सम्वन्धि तालिम, सामुदायिक वन साझेदारी लगायतका असल एवं सृजनशिल कार्यक्रम मार्फत समन्यायिक, समतामूलक र समृद्ध समाजको निर्माण गर्न हाम्रो सरकार दृढ सङ्कल्पित छ ।
- यस वर्षका हाम्रा उपलब्धिहरुबाट नेपालको संविधानमा लिपिबद्ध समाजवाद उन्मुख राज्य र “समृद्ध नेपाल, सुखी नेपाली” को दीर्घकालीन राष्ट्रिय सोच पूरा गर्न उत्पादन, शिक्षा र स्वास्थ्थलाई मुख्य आधार बनाई उच्च अभियानका साथ हाम्रो सरकार लागेको छ । हरेक दिन एक कदम अगाडि बढ्ने हाम्रो सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण वरेङवासी नागरिकमा उत्साहको सञ्चार भै “समृद्ध बरेङ, सुखी बरेङवासी” निर्माणको हाम्रो दीर्घकालीन सोच पूरा गर्न हामी सबै दृढ संकल्पित छौं ।
गाउँसभाका सदस्यज्यूहरु,

सातौं गाउँसभाका सहभागीहरु । तस्विरः केशवराज क्षेत्री
अब म गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछु:-
- यस प्रस्तावित नीति तथा कार्यक्रम मार्फत कोरोना महामारीको रोकथाम, उपचार तथा व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकता राखेको छु । नेपालको संविधान, पन्धौं योजना, दिगो विकास लक्ष्य, नेपाल सरकार र प्रदेश सरकारका विभिन्न क्षेत्रगत नीति तथा आगामी आर्थिक वर्षको बजेट समेतलाई ध्यान दिंदै हाम्रो सरकारको आवश्यकता परिपूर्ति गर्न उत्पादन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै “समृद्ध बरेङ, सुखी बरेङवासी” को हाम्रो दीर्घकालीन आकाङ्क्षा पूरा गर्ने तर्फ प्रस्तुत नीति तथा कार्यक्रमहरु केन्द्रित छन् ।
- कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारीलाई मध्यनजर गरी स्वास्थ्य प्रणालीलाई सबल र सुदृढ तुल्याउन आवश्यक जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा सेवा विस्तारमा जोड दिँदै कोभिड विरुद्धको खोपमा सबै बरेङवासीहरुको सरल र सहज पहुँचलाई सुनिश्चित गर्न नेपाल सरकार सँग आवश्यक समन्वय तथा सहकार्य गरिनेछ । विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरिनेछ ।
- कोभिड-१९ ले स्वास्थ्य पूर्वाधारको विकास र विस्तारप्रति हामी सबैलाई गम्भीर बनाएको छ । न्यूनतम स्वास्थ्य सेवा मापदण्डका आधारमा गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न हुग्दीशिर स्वास्थ्य चौकीमा सञ्चालनमा रहेको अस्थायी कोभिड अस्पताल तथा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरुको पूर्वाधार विकास गर्नका साथसाथै अन्य व्यवस्थापकीय सुधार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
- सबै नागरिकहरुलाई सुरक्षित राख्न जनस्तरमा मनोसामाजिक परामर्शसहितका सचेतनामूलक साथै परम्परागत तथा घरेलु उपचार विधिबाट रोग प्रतिरोधी क्षमता बढाउने कार्यक्रमहरुलाई प्रोत्साहित गरिनेछ । यसका लागि युवा, विद्यार्थी, शिक्षक र महिला समूह लगायत स्वयंसेवकहरु परिचालन गरिनेछ ।
- विकासको साध्य र साधन दुवै नागरिक नै भएकाले सवै नागरिकलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सवल मानव पुँजी निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिईनेछ । साथै “रोग पालेर होइन, फालेर बाचौं” भन्ने मान्यतालाई सार्थक रुप दिन स्वस्थ नागरिक,स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याईनेछ ।
- कोरोना महामारीको कारण वैदेशिक रोजगार गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न चाहने युवा तथा उद्यमीलाई लक्षित गरी ऋणमा ब्याज सहजीकरण सहित युवा स्वरोजगार कार्यक्रम तथा एक घर एक महिला रोजगार कार्यक्रमलाई निरन्तरता दिंदै थप विस्तार गरिनेछ ।
- “गुणस्तरीय स्वास्थ्य सेवा गाउँपालिकाको प्रतिवद्धता” भन्ने मूल नारा सहित कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहेको र नयाँ जोखिम उत्पन्न भएको परिस्थितिमा विपत् प्रतिकार्यको लागि एकिकृत योजना निर्माण गरिनेछ । कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रही कार्य गर्ने राष्ट्रसेवकहरुको मनोवल अभिवृद्धि गर्न अतिरिक्त भत्ताको व्यवस्था गरिनेछ ।
- गाउँपालिका भित्रका नागरिकहरुमा आयुर्वेद सम्वन्धी जागरण तथा योग गुरु कार्यक्रम सञ्चालन गर्न एक वटा आयुर्वेद वैद्य (सहायक चौँथो तह) को दरवन्दी स्वीकृत गरी यथाशीघ्र पदपूर्ति गरिनेछ ।
- ८४ बर्ष उमेर पार गर्नु धार्मिक र सांस्कृतिक दृष्टिबाट पनि बिशेष अवस्था पार गर्नु भएकोले ८४ बर्ष पुरा गरेका जेष्ठ नागरिकहरुलाई निजहरुको घरमै पुगि निरोगिता र दिर्घायुको कामना गर्दै सम्मान गर्ने, स्वास्थ्य परिक्षण गर्ने र उपचार गर्ने प्रबन्ध गरिनेछ।
- स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गराईसके पछि निःशुल्क बितरणका लागि भनिएका बाहेकका औषधि खरिद गर्नका लागि निजि क्लिनिकमा गई चर्को मुल्यमा औसधी खरिद गर्नुपर्ने बिद्दमान अवस्थाको अन्त्य गरि स्वास्थ्यचौकीमै अंकित मुल्य भन्दा १० प्रतिशत कम मुल्यमा औषधी उपलब्ध गराउन सबै स्वास्थ्यचौकीहरुमा सामुदायिक औषधी कार्यक्रम लागु गरिनेछ।
- स्वास्थ्य शाखा, स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य ईकाइहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा समुदायमा खटिएका महिला स्वास्थ्य स्वयमसेविकाहरुको समय सापेक्ष ज्ञान सिपको अध्यवधिक गर्नको लागि तालिम सत्ञ्चालन गरिनेछ ।
- स्वास्थ्य सेवामा सबै नागरिकहरुको पहुँच पुर्याउनको लागि कम्तिमा १०० बिपन्न घर परिवारको लागि निःशुल्क स्वास्थ्य बिमाको ब्यबस्था गरिनेछ।
- स्वास्थ्य प्राबिधिक शिक्षा अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि “प्राबिधिक शिक्षा अध्ययन छात्रवृत्ती” को व्यवस्था गरिनेछ ।
- स्तनपायी महिलाहरुको हित तथा पोषण प्रबर्धन र पुर्ण स्तनपानको लागि प्रत्येक स्वास्थ्य संस्थाहरुमा “स्तनपान कक्ष” स्थापना गरिनेछ।
- स्वास्थ्यकर्मीहरुलाई सेवा प्रति सम्बेदनशिल र उपकरण प्रयोग मैत्री बनाउन “एक स्वास्थ्यकर्मी एक स्वास्थ्य उपकरण सहितको झोला” कार्यक्रम लागु गरिनेछ।
- हाम्रो सरकारले सञ्चालन गर्दै आएको महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सञ्चार खर्च उपलब्ध गराउने, “हेलो महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम”,गर्भवतिहरुलाई लक्षित गरि पोषणयुक्त सामाग्री बितरण गरिने “गर्भवती पोषिलो झोला”, नियमानुसार गर्भ जाँच गराई संस्थागत सुत्केरी भएका महिलालाई लक्षित गरि सञ्चालन गरिएको “उपाध्यक्ष सँग संस्थागत सुत्केरी सम्मान कार्यक्रम”, बिशेषज्ञ स्वास्थ्य शिवर लक्षित “गाउँपालिका अध्यक्ष जनता स्वास्थ्य परिक्षण शिविर”, महिला स्वास्थ्य स्वयम सेविका बिमा, समुदाय प्रहरी साझेदारी कार्यक्रम, स्वास्थ्य संस्था सञ्चालन अनुदान, स्वास्थ्य उपकरण खरिद जस्ता उपलब्धीमुलक र जनमुखी कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
- पुर्ण खोप सुरक्षित भविष्य भन्ने नारालाई चरितार्थ गर्न सम्पुर्ण खोप पाउने उमेरका बालबालिकाहरुलाई पुर्ण खोपको सुनिस्चित गरिनेछ।
- गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोग मार्फत शासन प्रणालीलाई स्थानीय तहबाट नै सुदृढिकरण गरिने नीति अवलम्वन गरिनेछ । स्थानीय सरकारको सेवा प्रवाहलाई सूचना प्रविधिसहितको सेवा सँग जोड्न प्रत्येक विद्यालय तथा वडा कार्यालयलाई सूचना प्रविधियुक्त बनाई सूचना प्रविधिमा आधारित स्मार्ट गाउँपालिका बनाइनेछ ।
- कोभिड-१९ रोकथाममा नेपाल सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञालाई मध्यनजर गरी इन्टरनेटको पहुँच विद्यार्थीसम्म पुर्याई वेवसाइट, मोबाइल एप, सामाजिक संजाल, रेडियो, अडियो तथा अन्य भिडियो कन्फेरेन्सिङ टुल मार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाइनेछ ।
- अभिभावक तथा विद्यार्थीहरुको रोजाइ र सिकाइको केन्द्र बनाउन सामुदायिक विद्यालयहरुमा भौतिक सुविधाको अभाव भई शिक्षाको गुणस्तर र प्रभावकारीतामा कमी रहेको जनधारणालाई दृष्टिगत गर्दै त्यस्ता विद्यालयहरुमा रहेको भौतिक सुविधा र संरचनाको गहन अध्ययन गरी मर्मत, सुधार, विस्तार तथा सूचना प्रविधिको उपयोग मार्फत विद्यालयहरुको स्तरोन्नती र आधुनिक प्रविधिमैत्री बनाउन निश्चित मापदण्ड बनाई “गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम ” लाई थप प्रभावकारी बनाईनेछ ।
- भौगोलिकता, विद्यार्थी सङ्ख्या तथा आवश्यकताका आधारमा विद्यालय समायोजन गरिने, कक्षा थप/ घट गरिने तथा गाभिएका वा बन्द भएका विद्यालयहरुको सम्पत्ती आवश्यकताको आधारमा अन्य विद्यालयमा समायोजन गरिने छ ।
- सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीहरुको दरबन्दी मिलान, व्यवस्थापन, पुनर्वितरण एवं दरबन्दी सिर्जना विद्यालयको आवश्यकता तथा तह र शिक्षकको योग्यता एवं दक्षताको आधारमा गरिने छ ।
- विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि एक विद्यालय एक पुस्तकालय, सघन विद्यालय अनुगमन, शैक्षिक सामग्री तथा पाठ्यसामग्री वितरण, स्थानीय शैक्षिक सामग्री प्रदशनी कार्यक्रम, प्राध्यापक तथा विषय विशेषज्ञ द्वारा नमूना कक्षा शिक्षण, शिक्षकहरुलाई स्थलगत रुपमा कम्प्युटर तालिम कार्यक्रम संचालन गरिनेछ ।
- प्रधानाध्यापक भत्ता वृद्वि, प्रअ/ शिक्षक बैठकमा यातायत खर्चको व्यवस्था, युवाक्लवहरुलाई प्रोत्साहन गर्न खेल सामग्री वितरण, प्रत्येक विद्यालयमा करेसाबारी निर्माण, बालशिक्षक, कर्मचारी, तथा सामुदायिक सिकाई केन्द्रका परिचालिकाको पारिश्रमिक वृद्वि, शिक्षक विद्यार्थी सम्मान गर्न शैक्षिक कोष, शिक्षक परिचयपत्र वितरण तथा एक नमूना विद्यालय स्थापना गरिनेछ ।
- रेडियो शिक्षा तथा अभिभावक शिक्षा, सामुदायिक विद्यालय सत्यापन, अतिरिक्त कक्षा संचालन, लोकसेवा तयारी कक्षा, राष्ट्रसेवक कर्मचारी विद्यालयमा जस्ता कार्यक्रमहरु संचालन गरिनेछ । साथै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता थप व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
- गाउँपालिका भित्रका न्युनतम योग्यता पुगेका शिक्षित जनशक्तिहरुको लगत संकलन गरी आवश्यकताका आधारमा विद्यालयमा स्वयंसेवा गर्न उत्प्रेरित गरिनेछ साथै अन्तर विद्यालय शिक्षण कार्यक्रम संचालन गरिनेछ ।
- “सबैका लागि शिक्षा” अभियानलाई विशेष प्राथमिकता दिई विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयमा भर्ना गर्न र अध्ययन निरन्तरताको लागि सामुदायिक विद्यालयसँगको साझेदारीमा शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ । साथै गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रमलाई प्रदेश तथा नेपाल सरकारको कार्यक्रम सँग तादम्यता मिलाई प्रभावकारी रुपमा लागू गरिनेछ ।
- शिक्षाको गुणस्तर अभिवृद्धिका लागि शिक्षकको पेशागत क्षमता विकास गर्न शिक्षकको आवश्यकताका आधारमा शैक्षिक तालिम सञ्चालन गरिनेछ, सामुदायिक विद्यालयका छात्राहरुलाई स्यानिटरि प्याडको सहज उपलब्धता तथा विद्यालयमा स्यानिटरि प्याड डिस्पोजल मेसिन जडान गरिनेछ साथै विद्यार्थी दिवा खाजालाई थप व्यवस्थित बनाइनेछ ।
- लागू औषध प्रयोग निराकरण, विपद् व्यवस्थापन, नैतिक शिक्षा तथा उद्यमशीलता अभिवृद्धि गर्दै योग्य सक्षम र सभ्य नागरिक तयार गर्न किशोर किशोरी लक्षित “म अघि बढ्छु” भन्ने नाराका साथ वडास्तरमा बाल क्लव गठन गरी विद्यार्थीहरुलाई परिचालन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
- सवै खेल विधाहरुलाई प्राथमिकतामा राखी एक वडा एक खेल मैदान निर्माण कार्यलाई व्यवस्थित गराउँदै खेलकुद प्रतियोगिताहरु संचालन गरिनेछ साथै माध्यमिक विद्यालयमा खेल प्रशिक्षक मार्फत खेलकुद तालिमको प्रबन्ध मिलाइनेछ ।
- “बरेङ गाउँपालिका उत्कृष्ट कृषक पुरस्कार” मार्फत कृषक तथा कृषि पेशालाई थप प्रोत्साहित गरिनेछ । पुरुषोदय माध्यमिक विद्यालय(कृषि प्राविधिक) को साझेदारीमा ” कृषकसँग कृषि विद्यार्थी कार्यक्रम” सञ्चालन गरिनेछ ।
- “सीप सिकौं, उद्धमी बनौं”नारालाई साकार पार्न महिला, दलित, विपन्न, सीमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग र उच्च जोखिममा रहेकाहरुलाई व्यावसायिक, सीपमूलक र रोजगारमूलक तालिमसहित उद्यमशीलतामा सहयोग पुर्याउन गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सँगको साझेदारीमा बीउ पुँजी र प्रविधि अनुदान उपलव्ध गराइनेछ ।
- गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभूत गरिने छ । “कोही भोकै पर्दैन, भोकले कोही मर्दैन“ भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकारबीच सहकार्य गरी बहु-आयमिक कृषि उत्पादनमा जोड दिदै गाउँपालिकालाई “खाद्यान्नमा आत्मनिर्भर स्थानीय तह” घोषणा गर्ने कार्यक्रम अघि बढाइनेछ ।
- गाउँपालिका भित्रका खेतीयोग्य जमिन तथा बाँझो जमिनमा आवश्यक सिँचाइको व्यवस्था गरी कृषि उत्पादन बढाईनेछ । पशुपालन तथा कृषि कार्यका लागि दीर्घकालीन योजना तयारी गरी कृषि सडक तथा स्थानीय स्तरका सिँचाइ प्रणालीको निर्माण गरिनेछ ।
- “बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग” भन्ने सोचलाई आत्मसात गर्दै बाँझिदै गएको खेतीयोग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन विशेष प्याकेजसहितको प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
- कृषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान प्रदान गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईनेछ । कृषक क्षमता अभिबृद्धिका लागि उद्दमशिलता विकास गर्न मागमा आधारित पूर्ण व्यवहारिक तालिम संचालन गरिनेछ ।
- विकासमा निश्चित उद्देश्य हाँसिल गर्न अपनाईने रणनीति, समय, क्रियाकलापहरु र साधन श्रोतको संयोजन गरी योजनावद्ध विकासको सुरुवात गर्न अत्यावश्यक बाहेकका नयाँ आयोजना नथप्ने र कार्यान्वयनमा रहेका तथा अधुरा आयोजनाहरुलाई सम्पन्न गर्न बजेट व्यवस्थापन सँगै आयोजना गाउँपालिका भित्र विगतदेखि सञ्चालित क्रमागत योजनाहरुलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ भने पूर्वाधार निर्माणको कार्यलाई व्यवस्थित गर्न मर्मत सम्भार कोष स्थापना गरी आवश्यक कार्यविधि बनाई व्यवस्थित बनाउँदै लगिनेछ ।
- उपभोक्ता समितिले हेभि मेशिनरी उपकरणहरुको प्रयोग गरी कार्यान्वयन हुने गरी कार्यालयसँग योजना कार्यान्वयनको सम्झौता भएमा आगामी आर्थिक वर्षबाट नियमानुसार वहाल कर कट्टी गरी भुक्तानी दिने प्रणालीको निरन्तरता दिईनेछ ।
- “आमाको गर्भ सुरक्षित हुँदा एउटा युग सुरक्षित हुन्छ” भन्ने नाराका साथ गर्भवती, स्तनपान गराइरहेका आमा र पाँच वर्ष सम्मका शिशुका लागि उन्नत पोषणयुक्त सामाग्री वितरण कार्यलाई बुहक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सञ्चालन गरिनेछ ।
- गाउँपालिकाबाट नक्सापास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई विशेष व्यवस्थासहित कानुनी दायरामा ल्याइ त्यस्ता कार्य गर्नेलाई निरुत्साहित गरिनेछ । गाउँपालिकाले तोकेको सडकको अधिकार क्षेत्रभित्र बनेका संरचना जुनसुकै वखत हटाईनेछ ।
- गाउँपालिका क्षेत्रभित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउदै स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि गरी सहकारी संस्थाको प्रवर्द्धन, परिचालन र विकास गरिनेछ । सहकारी सम्वन्धी स्थानीय तथ्यांक व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य वस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै प्रमुख वस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
- “एक घर, एक धारा कार्यक्रम” अन्तर्गत माग र स्रोतको उपलब्धतालाई ध्यान दिँदै खानेपानीको पहुँच विस्तार गरिनेछ ।
- “पाहुनाको सत्कार, गाउँपालिकाको संस्कार” भन्ने नाराका साथ पर्यटन विकास गर्न गाउँपालिका भित्र रहेका होमस्टे तथा होटल व्यवसायहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिनेछ । गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुलाई पर्यटन प्रबर्धन गर्नको लागि पर्यटन काजको व्यवस्था गरिनेछ ।
- “कानूनको अज्ञानता क्षम्य हुँदैन” भन्ने मान्यतालाई मध्यनजर गरी कानूनी शिक्षा सचेतना अभियान सञ्चालन गरिनेछ ।
- गाउँपालिकाले हाल लिदै आएको कर, राजस्व, शुल्क आदिलाई थप व्यवस्थित र नियमन गरिनेछ । हाम्रो गाउँपालिका हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारालाई साकार पार्न असल करदातालाई सम्मान र तोकिएको समयमै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिनेछ । स्थानीय भाडादर निर्धारण गरी भरपर्दो र सस्तो यातायात प्रणालीको विकास गरिनेछ ।
- विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाईनेछ । वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलाप मार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकसित गर्न थप सक्रियता बढाईनेछ ।
- आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेशी, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न समुदायहरुको लागि कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नहुने नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- हामीलाई जन्म दिने आमाहरुप्रति हार्दिक सम्मान गर्दै अति विपन्न परिवार र समुदायमा महत्वपूर्ण योगदान पुर्याएका आमाहरुलाई सम्मान गर्न गाउँपालिका उपाध्यक्ष आमा सम्मान कार्यक्रम लागु गरिनेछ । साथै वडा अध्यक्ष नव बुहारी सम्मान तथा पुरस्कार कार्यक्रमलाई थप प्रभावकारी गराईनेछ ।
- स्थानीय सरकारसँगको जनताको चासो,सरोकार र गुनासो सुन्ने तथा सरकारको आधिकारिक कुराहरुलाई प्रत्यक्ष रुपमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष मार्फत् सम्प्रेषण गर्न सामुदायिक रेडियो विहानीसँगको साझेदारीमा वाल आवाज तथा रेडियो सुभेच्क्षासँगको सहकार्यमा हाम्रो बरेङ राम्रो बरेङ कार्यक्रमलाई सञ्चालन गरिनेछ।
- बरेङ गाउँपालिका भित्रका वन क्षेत्रको सुकेका काठ दाउराको सङ्कलन गरी रोजगारी, आय र राजस्व अभिवृद्धि गर्न सामुदायिक वन उपभोक्ता समूहहरुसँग आवश्यक समन्वय गरिनेछ । साथै सम्वत् २०७८ साललाई वृक्षरोपण वर्ष घोषणा गरिनेछ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाको अनुदानमा बिरुवा उपलव्ध गराई हरेक वडाहरुमा वृक्षरोपण कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न वन, वातावरण तथा विपद समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।
- विगतबाट पाठ सिक्दै आगामी आर्थिक वर्षमा विकासलाई आगामी वर्ष अन्त्य गर्न योजना सम्झौताका कार्यलाई श्रावण महिनाबाट शुरु गरिनेछ । आगामी आर्थिक वर्षबाट हेभि मेशिनरी उपकरणहरुका माध्यमको प्रयोग मार्फत कार्यान्वयन हुने योजना तथा कार्यक्रम उपभोक्ता समिति मार्फत गरिने कार्यलाई क्रमशःनिरुत्साहित गरिदैं लगिनेछ ।
- स्थानीय स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, पूर्व सुचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पूर्वभण्डारण, स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण, विपद जोखिम क्षेत्रको नक्सांकन तथा बस्तीहरुको पहिचान र स्थानान्तरण गरिनेछ । घरेलु हिंसा, लागुऔषध दुर्व्यसन, बालविवाह, मानव बेचविखन जस्ता अपराधको मूल कारण पहिचान तथा निदान गर्न समुदायसँगको साझेदारीमा आवश्यक निगरानी तथा सचेतनामूलक कार्यक्रम, सामुदायिक प्रहरी एवं सुधार केन्द्र सञ्चालन गरी शान्ति, सुरक्षा र अमनचयनको वातावरण निर्माण गर्न इलाका प्रहरी कार्यालय बरेङडाँडासँग आवश्यक समन्वय तथा सहकार्य गरिनेछ ।
- समुदायको सहभागितामा वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गरिने छ । वनको जमिन खाली नराखिने नीति लिइने छ । यसका लागि सामुदायिक वनसंगको सहकार्यका क्षेत्रहरु पहिचान गरी उत्पादनका लागि वनमा लगानी भन्ने सोचका साथ “सामुदायिक वन साझेदारी कार्यक्रम” लाई थप प्रभावकारी वनाईनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
- सामाजिक सञ्जालमा व्यक्त हुने अमर्यादित तथा असभ्य व्यवहारहरुलाई कानुनी दायरामा ल्याई सभ्य समाज निर्माणमा जोड दिईनेछ । पारदर्शी सरकार निर्माणमा जोड दिन गाउँपालिकाको डकुमेन्ट्री निर्माण तथा रेडियो कार्यक्रम मार्फत “गाउँपालिका सेरोफेरो” कार्यक्रम लाई संस्थागत गरिनेछ ।
- सूचना प्रवाहमा राज्यको चौंथो अंग पत्रकारिताको व्यापक प्रयोग गर्न प्रत्येक वडामा पत्रकारिता प्रर्वधन कार्यक्रम सञ्चालन गरिनेछ । साथै उत्कृष्ट योगदान गर्ने गरी हाम्रो सरकारको समृद्धिको यात्रामा सहयोग प्रदान गर्ने पत्रकार, नागरिक तथा विभिन्न संघसस्थाहरुलाई उचित सम्मान गरिनेछ ।
- गाउँका सूचना शहरमा र शहरका सूचना गाउँमा भन्ने नारालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने संयन्त्रको विकास गरिने छ । ज्ञानवर्द्धक तथा जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रसारण गर्न गाउंपालिकाको वास्तविक चित्र चित्रण हुने गरी वृतचित्र निर्माण गरिने छ ।
- विद्युत सेवा पुगेका क्षेत्रमा विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउनका लागि काठको पोल विस्थापित गर्ने कामलाई अभियानका रुपमा अघि वढाइनेछ ।
- गाउँपालिका भित्रका गाउँवस्तीहरु विचको आवागमनमा सहजता, भौगोलिक अन्तरआवद्धता कायम गर्न र उत्पादन अन्तरसम्बन्धलाई मजवुत बनाउन सघाउ पुग्ने गरी सडक पूर्वाधार अन्तरगत गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको बरेङ रिङरोडलाई पूर्णता दिईनेछ ।
- गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई सांस्कृतिक र कौंडे डांडा, भैसीखोला झरना, भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी वरेङ गाउँपालिकाको पहिचान तथा अर्थतन्त्रको आधारशिलाको रुपमा विकास गरिनेछ ।यसको लागि पर्यटन मैत्री संरचना निर्माण तथा पर्यटन पूर्वाधार निर्माण गर्न विस्तृत पर्यटन गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।निजी क्षेत्र तथा अन्य निकाय सँग समेत समन्वय गरी आगामी वर्ष वरेङ पर्यटन महोत्सव आयोजना गरिनेछ ।
- गाउँपालिका भित्र सञ्चालनमा रहेका होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रवन्ध गरिनेछ । होमस्टे संचालनको लागि प्रोत्साहन गर्ने, होमस्टेलाई स्थानीय संस्कृति, भेषभुषा, मौलिकता र परम्परागत पेशा,अर्गानिक तथा घरेलु उत्पादनसँग आबद्ध गरी पर्यटन प्रवर्द्धन गर्ने नीति लिईनेछ ।
- राजस्व सङ्कलन, बजेट तर्जुमा, लेखाङ्कन, खर्च प्रणाली, आन्तरिक नियन्त्रण र लेखा परीक्षण प्रतिवेदनलाई एकीकृत रुपमा विधुतीय प्रणालीमा आबद्ध गरिनेछ । गाउँपालिकाको राजस्वकको स्रोत र दायरा विस्तार गरिनेछ ।
- युवालाई असल र जिम्मेवार नागरिक बनाउन नैतिक शिक्षा, लागू पदार्थ दुर्व्यसन निराकरण, विधुतीय अपराध नियन्त्रण र ट्राफिक सचेतना कार्यक्रमलाई “बरेङ समाज: सभ्य समाज“ अभियानका रुपमा सञ्चालन गरिनेछ ।
- सार्वजनिक प्रशासनलाई राजनीतिक सिद्धान्तबाट अलग राखी सरकारका नीति तथा कार्यक्रम निष्पक्ष रुपमा कार्यान्वयन गरी समृद्ध बरेङ निर्माणमा समर्पित गराईनेछ ।
गाउँसभाका सदस्यज्यूहरु,
- यस विषम परिस्थितिमा प्रस्तुत नीति तथा कार्यक्रमको कार्यान्वयनबाट कोभिड-१९ महामारीको पछिल्लो लहरको नकारात्मक प्रभाव नियन्त्रण गरी जनताको जीवनरक्षा, सम्भावित खाद्य संकटको निवारण र सुस्त बनेको विकास गतिविधिलाई तिव्रता दिँदै ″समृद्ध बरेङ, सुखी बरेङवासी″ को गन्तव्यमा पुगी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन ।सबैलाई समान अवसर, अधिकार, सुरक्षा र उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ ।
- अन्त्यमा, गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउने राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, निजी सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सामाजिक अभियन्ता, युवा क्लव, आमा समूह, आमसञ्चार लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यो नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दलहरु, संघ संस्थाहरु, निजी तथा सहकारी क्षेत्र लगायत सवैको सद्भाव, र सहयोगका लागि आह्वान समेत गर्दछु ।
धन्यवाद !
कृष्ण प्रसाद शर्मा
गाउँपालिका अध्यक्ष





