
बागलुङ, ६ असार – जिल्लाको बरेङ गाउँपालिकाको सातौं गाउँसभामा शनिवार उपाध्यक्ष दिलकुमारी पुनले प्रस्तुत गरी
गाउँसभाबाट पारित भएको बजेट कार्यक्रमको पूर्णपाठ :
गाउँसभाका आदरणीय अध्यक्षज्यू,
गाउँसभाका सदस्यज्यूहरु,
स्थानीय सरकारको अर्थमन्त्रीको हैसियतले विश्वव्यापी महामारी कोभिड-१९ भाइरसले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच यस गरिमामय सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को आय र व्ययको विवरण प्रस्तुत गर्न उपस्थित भएको छु ।
- यस अवसरमा म राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र प्राप्ति, अग्रगामी परिवर्तन तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि भएका जनआन्दोलन, सशस्त्र संघर्ष लगायतका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण शहिदहरुमा भावपूर्ण श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । यस क्षणमा वेपत्ता तथा घाइते योद्धाहरु र उहाँहरुको परिवारजन लगायत आम जनसमुदायमा उहाँहरुको अभूतपूर्व योगदान प्रति हार्दिक सम्मान प्रकट गर्दै नमन गर्न चाहन्छु । कोभिड-१९ महामारी विरुद्धको हाम्रो संघर्ष पूर्णत: कहिले अन्त्य हुन्छ भन्ने एकिन गर्न हामीलाई कठिन छ । तर हामी सबैको सामुहिक प्रयासवाट यसलाई छोटो समयमा नै नियन्त्रण गर्न सफल हुने विश्वास मैले लिएको छु । कोभिड-१९ महामारीका कारणले उत्पन्न हुनसक्ने खाद्य संकट आउन नदिन, रोजगारी गुमाउन पुगेकाहरुको जीविकोपार्जनको आधार तयार गर्न तथा रोग नियन्त्रणसँगै विकास गतिविधिलाई चलायमान बनाउने उद्देश्यअनूरुप नै यो बजेट यस सम्मानित सभा समक्ष प्रस्तुत गरेको छु ।
- विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण बरेङवासी नागरिक लगायत स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपाली लगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस वरेङ गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोरोना महामारीको उच्च जोखिमको यस घडीमा एकजुट भई महामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यमा अग्रपंक्तिमा अहोरात्र खटिनु हुने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, पत्रकार, सरसफाइकर्मी, सवारी चालक, नागरिक समाज लगायत सम्पूर्ण नागरिकहरुप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछु ।
- आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यो वर्ष सम्म हाँसिल भएका उपलव्धिहरु संस्थागत गर्दै जनप्रतिनिधमूलक लोकतान्त्रिक पद्धतिबाट नेपाली नागरिकले खोजेको सेवा, चाहेको विकास र परिकल्पना गरेको समतामूलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुँदै समाजवाद उन्मुख उदीयमान गाउँपालिकाको रुपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।
- आगामी वर्षको बजेट तर्जुमा गर्दा मैले मूलत: नेपालको संविधान र कानूनहरु, पन्ध्रौ योजना,नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य,दिगो विकास लक्ष्य र चुनावी घोषणापत्र, निर्मित विविध कानुनहरु, गाउँकार्यपालिकाका निर्णयहरुलाई मुख्य आधार बनाएको छु ।साथै, विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा यथोचित महत्व दिएको छु ।
- अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । साथै कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता,स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएकोछु ।
सभाका अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरु,
अव म आगामी आर्थिक वर्ष २०७८/७९ को वजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्दछु ।बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन:
(क) कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन गर्नु,
(ख) सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउने,
(ग) जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु,
(घ) जीवनोपयोगी तथा सिपयुक्त शिक्षाको प्रबन्ध मिलाउने,
(ङ) कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरुप समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु,
(च) कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने ।
प्रस्तुत बजेटका उद्देश्यहरु हासिल गर्न देहाय बमोजिम प्राथमिकता निर्धारण गरेको छु:
- कोभिड-१९ को महामारीबाट जनताको जीवन रक्षा गरी जनजीवनलाई सुरक्षित र सहज बनाई सुरक्षित राख्न परिक्षणको दायरा विस्तार, उपचारको व्यवस्था, स्वास्थ्य यन्त्र, उपकरण तथा सामग्रीको आपूर्ति, नि:शुल्क खोपको सुनिश्चितता र चिकित्सक एवम् स्वासथ्यकर्मीहरुको प्रभावकारी परिचालन,
- कृषि उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि,
- निर्माणधीन तथा अधुरा आयोजनाहरुको निर्माण कार्य सम्पन्न,
- जीवनपयोगी एवम् सीपमूलक शिक्षामा जोड,
- शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्द्धन गर्ने ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म चालु आर्थिक वर्ष २०७७/७८ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।
- चालु आर्थिक वर्षमा रु १९ लाख राजस्व परिचालन हुने अनुमान रहेकोमा चालु आर्थिक वर्षको असार मसान्त सम्म अनुमानित आन्तरिक आयको प्रक्षेपण अनुरुप राजस्व संकलन भै सकेको छ । त्यसैगरी चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म नेपाल सरकारबाट सशर्त अनुदान तर्फ रु १५ करोड ५७ लाख ७३ हजार ७९ रुपैया, विशेष अनुदान तर्फ ४० लाख, समपुरक तर्फ ८७ लाख, राजश्व बाँडफाँड तर्फ ३ करोड ९८ लाख १७ हजार ३ सय ९६, वित्तिय समानीकरण तर्फ ७ करोड ५६ लाख प्राप्त भएको छ। त्यस्तै गरि प्रदेश सरकार सशर्त अनुदान तर्फ रु २७ लाख, ६५ हजार तीन सय एक, समपुरक तर्फ २५ लाख, राजशश्व बाँडफाँड तर्फ ३३ लाख ६७ हजार दुई सय चौसठ्ठी र वित्तीय समानिकरण तर्फ ९० लाख ५७ हजार सात सय पचास रुपैया र जिल्ला समन्वय समिति मार्फत ७० लाख रूपैया प्राप्त भएको छ ।
- आर्थिक वर्ष २०७५/७६ को राजस्व र व्ययको यथार्थ विवरण ,ज्येष्ठ मसान्त सम्मको आर्थिक वर्ष २०७६/७७ को आय तथा व्यय विवरण तथा संशोधित अनुमान र आर्थिक वर्ष २०७७/७८ को अनुमानित आयव्ययको विवरण अनुसूचीहरुमा उल्लेख गरेको छु ।
सभाध्यक्ष महोदय,
सभाका सदस्य ज्यूहरु,
अब म क्षेत्रगत रुपमा आगामी वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु।
कोभिड–१९ संक्रमण पहिचान, रोकथाम, उपचार र नियन्त्रण
- सन् २०२० को प्रारम्भमा देखापरेको कोभिड-१९ महामारीले हाम्रो विकास र समृद्धिको यात्रालाई गम्भीर रुपमा प्रभावित गरेकोछ । यस्तो विषम परिस्थितिका विचमा पनि हाम्रो सरकारको नेतृत्वमा हामीले विकास निर्माण र सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छौँ । कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारीलाई मध्यनजर गरी स्वास्थ्य प्रणालीलाई सवल र सुदृढ तुल्याई सबै गाउँपालिकावासी नागरिक जनताको जीवन रक्षा गर्न हाम्रो सरकार प्रतिवद्ध छ ।कोरोना लगायत विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न कोभिड-१९ विरुद्ध आवश्यक नि:शुल्क खोप, औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरेको छु । उक्त प्रयोजनका लागि कोरोना/प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख विनियोजन गरेको छु ।
स्वास्थ्य प्रणालीमा सुधार
- कोभिड-१९ ले स्वास्थ्य पूर्वाधारको विकास र विस्तारप्रति हामी सबैलाई गम्भीर बनाएको छ ।सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य चौकी सञ्चालन, सामुदायिक स्वास्थ्य इकाई स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न लगायत समग्र स्वास्थ्य व्यवस्थापन गर्न आवश्यक रु ६५ लाख वजेट विनियोजन गरेकोछु ।
- “गुणस्तरीय स्वास्थ्य सेवा, गाउँपालिकाको प्रतिवद्धता“ भन्ने मूल नारा सहित कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहेको र नयाँ जोखिम उत्पन्न भएको परिस्थितिमा विपत् प्रतिकार्यको लागि एकिकृत योजना निर्माण गरि कोभिड प्रतिकार्यमा संलग्न स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रही कार्य गर्ने राष्ट्रसेवकहरुको मनोवल अभिवृद्धि गर्न तथा स्वास्थ्य उपकरण खरिद गर्ने कार्यको लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
- निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन स्वच्छ विचार,स्वस्थ खाना र नियमित व्यायाम गर्न नागरिक जागरण कार्यक्रम सञ्चालन गरिनेछ । आयूर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिलाई प्रवर्द्धन गर्न एक जना वैधको व्यवस्था गर्न समेतका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
- गाउँपालिका भित्रका स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्रदान गर्न तोकिएका आधारभूत स्वास्थ्य सेवा भरपर्दो,सर्वसुलभ र गुणस्तरीय बनाउन सामुदायिक औषधि कार्यक्रमलाई थप प्रभावकारी बनाउदैं सवै स्वास्थ्य चौकीमा विस्तार गर्न आवश्यक रु ८ लाख वजेटको व्यवस्था मिलाएको छु ।
- महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषणसम्वन्धी क्षेत्रमा गरेको उल्लेखीय कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सेवा प्रति उत्प्रेरित गर्न महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य विमा कार्यक्रमलाई निरन्तरता दिंदै स्वास्थ्य स्वयंसेविकाहरुलाई नेपाल सरकार तथा प्रदेश सरकारले उपलव्ध गराउने प्रोत्साहन भत्तामा मासिक रु ५०० पुर्याउनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- गाउँपालिका भित्रका विपन्न नागरिकहरुलाई नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गर्न आगामी वर्ष १०० घरपरिवारलाई नि:शुल्क स्वास्थ्य विमाको दायरामा ल्याउने गरी बजेटको व्यवस्था गरेकोछु ।
सडक पूर्वाधार विकास
- आवागमनमा सहजता, भौगोलिक अन्तरआवद्धता कायम गर्न र उत्पादन अन्तरसम्बन्धलाई मजवुत बनाउन सघाउ पुग्ने गरी सडक पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरेको छु । गाउँपालिका भित्रका गाउँवस्तीमा सहज आवागमनका लागि नयाँबजारसल्यान सुखौरा सडक निर्माणका लागि रु ५० लाख बजेटको प्रवन्ध मिलाएको छु । दुई वा सो भन्दा बढी ठाउँहरुको दुरीलाई कम गर्न यथाशक्य छिटो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गर्ने नीति लिएको छु ।
- गाउँपालिकाको गौरवको योजनाको रुपमा गाउँपालिका रिङरोड निर्माण आयोजनालाई प्राथमिकतामा राखेको छु । यो गौरवको योजनाको निर्माण कार्य सम्पन गर्न रु ८० लाख विनियोजन गरेको छु ।
खानेपानी
- सबैका लागि स्वच्छ खानेपानी भन्ने हाम्रो सरकारको मूल्यमान्यतालाई आधारभुत खानेपानी नपुगेको गाउँवस्तीमा खानेपानी पुर्याउने कार्यक्रमलाई निरन्तरता दिएको छु । एक घर एक धारा कार्यक्रमलाई समेत अगाडि बढाउने व्यवस्था गरेकोछु ।
ऊर्जा विकास
- पेट्रोलियम पदार्थको प्रयोगलाई प्रतिस्थापन गर्न जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन र उपभोग बढाउन जोड दिइएको छ । उज्यालो गाउँपालिका बनाउने हाम्रो सरकारको प्रतिवद्धतालाई पूरा गर्न गाउँपालिकाको प्रमुख वस्ती भएको बरेङ बजारमा सौर्य बत्ती व्यवस्थापनका लागि रु २० लाख बजेटको प्रवन्ध मिलाएको छु ।
शहरी विकास
- आधुनिक सभ्यताको मानक नै सुविधायुक्त शहर भएको तथा मुलुकको विकासको स्वरुप शहरी पूर्वाधारबाटै प्रतिविम्वित हुने यथार्थलाई ध्यान दिँदै शहरी विकास तर्फको कार्यक्रम प्रस्ताव गरेको छु । यसका लागि पूर्वाधार सहितको व्यवस्थित शहर र बस्ती विकासका कार्यक्रम सञ्चालन गरिनेछ । आगामी आर्थिक वर्ष नमुनाका रुपमा सौर्य वत्ती सहितको वस्ती विकास गर्न तथा खानेपानीको उचित व्यवस्थापन सहितको बरेङ बजार बृहत सुधार योजनाका लागि रु ४० लाख बजेटको व्यवस्था मिलाएको छु ।
- गाउँपालिकाको केन्द्रमा प्रशासनिक भवन निर्माण लगायतका कार्यहरुलाई तिव्रता दिन आवश्यक विस्तृत आयोजना प्रतिवेदन तयार भै सकेकाले नेपाल सरकार तथा प्रदेश सरकारसँगको साझेदारीमा व्यवस्थापन गर्न रु. ७५ लाख समपूरक कोषको व्यवस्था मिलाएको छु ।
पर्यटन
- अनुपम प्राकृतिक सौन्दर्य,जैविक विविधता र अतुलनीय सामाजिक-साँस्कृति बहुलताबाट प्राप्त पर्यटकीय सम्भावना रहेका गाउँपालिका भित्रका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु। गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिरको संरक्षण तथा प्रवर्दन गर्न रु २० लाख बजेटको प्रवन्ध गरेको छु ।
- आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न गाउँपालिका भित्रका जनप्रतिनिधि,कर्मचारीलाई बागलुङ जिल्ला बाहिरका स्थानीय तहहरुले गरेका असल अभ्यास एवं नवीनतम कार्यहरुको अध्ययन,अवलोकन गर्न र शिक्षकहरुलाई नमुना विद्यालयहरुको समेत भ्रमण गरी शैक्षिक पर्यटन पवर्द्धन गर्न निश्चित मापदण्डका आधारमा कार्यविधि निर्माण गरी सोही बमोजिम पर्यटन काज वापत सुविधा प्रदान गर्न रु १० लाख विनियोजन गरेको छु ।
- बरेङ गाउँपालिकालाई आकर्षक, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान स्थापित गराउन पर्यटन महोत्सव तथा व्यवस्थापन गर्न समेतका लागि रु ५ लाख विनियोजन गरेको छु ।
कृषि, भूमि व्यवस्था, सहकारी र सिंचाइ
- अव कोहि भोकै पर्दैन,भोकले कोहि मर्दैन भन्ने सरकारको संकल्पलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न बरेङ गाउँपालिका भित्र ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर बृद्दि गर्न उन्नत बीउविजन,मलखादको व्यवस्था तथा सिचाईको प्रवन्ध गर्दै उन्नत खेती र उच्च मूल्यका बालीको विकास गर्न आवश्यक वजेटको व्यवस्था गरेकोछु ।
- अर्गानिक कृषि उपजको उत्पादन र उपभोग बढाउन विषादी रहित खाद्यान्न उत्पादन र उपभोग गर्ने संस्कृतिको विकास गर्न कृषक तथा उपभोक्तालाई उत्प्रेरित गर्न प्रांगारिक खेती गर्न समेत वजेट विनियोजन गरेको छु ।
- किसानले उत्पादन गरेको कृषि उत्पादनको बजारीकरण उचित मूल्य र खेर जान नदिने नीति अवलम्बन गरी कार्यान्वयन गर्न नयाँ बजार, र बरेङ बजार गरी दुई ठाउँमा कृषि उपज संकलन केन्द्र निर्माण गर्न रु १० लाख बजेट विनियोजन गरेको छु । साथै थप्लुङमा निर्माणाधीन अवस्थामा रहेको कृषि संकलन केन्द्रको निर्माण कार्य सम्पन्न गर्न रु ५ बजेटको व्यवस्था गरेको छु ।
- “जहाँ खेती,त्यहाँ सिँचाइ” को नारा सहित विद्यमान सिंचाइ प्रणालीहरुलाई पुनर्स्थापना तथा सुदृढीकरण गर्दैं सिंचाइको पहुँच नपुगेका स्थानहरुमा साना सिंचाइ निर्माणको लागी आवश्यक वजेट मिलाएको छु।
- सहकारी क्षेत्रलाई वित्तिय उत्प्रेरकका रुपमा विकास गरी बरेङ गाउँपालिकाको महत्वपूर्ण अर्थतन्त्रको स्तम्भको रुपमा विकास गर्ने व्यवस्था मिलाएकोछु ।गाउँपालिका भित्रका सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न रु ५ लाख बजेट विनियोजन गरेको छु ।
वन,वातावरण र विपद व्यवस्थापन
- वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गरिने छ । वनको जमिन खाली नराखिने नीति लिइने छ । यसका लागि सामुदायिक वनसंगको सहकार्यका क्षेत्रहरु पहिचान गरी उत्पादनका लागि वनमा लगानी भन्ने सोचका साथ “सामुदायिक वन साझेदारी कार्यक्रम” लाई थप प्रभावकारी वनाईनेछ ।
कानून,महिला,बालवालिका तथा ज्येष्ठ नागरिक
- विपन्न,दलित,आदिवासी,जनजाती,एकल महिला,अपाङगता भएका महिला लगायत वञ्चितीकरणमा परेका सबै समुदायका महिला तथा किशोरीको आय आर्जन,क्षमता विकास र सशक्तिकरणका कार्यक्रम सञ्चालन गरिनछ ।
- न्यायिक समितिको क्षमता बढाउन कानूनको ज्ञान तथा अनुभव भएको अधिकृतस्तरको कर्मचारीको प्रवन्ध गरिनेछ ।
- बाल अधिकारको संरक्षण,प्रवर्दन र नियमन गर्न गाउँकार्यपालिकाको कार्यालयमा एक जना बालकल्याण अधिकारीको व्यवस्था गरिनेछ ।
- न्यायमा पहुँच नपुगेका एकल महिला,दलित, अपाङ्गता भएका व्यक्ति, हिंसा पिडित महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय नागरिहरुका लागि पिडितको तर्फबाट अधिकृतस्तरका कानून व्यवसायीबाट वहस पैरवी गर्ने व्यवस्थाका लागि प्रत्येक पिडितलाई न्यायिक समितिको सिफारिसमा नि:शुल्क कानूनी सहायता कार्यक्रम अन्तर्गत रु २० हजार प्रदान गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।
शिक्षा,युवा,खेलकुद तथा प्रविधि
- आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रुपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा आवश्यक १ करोड ९८ लाख २० हजार एक सय बजेट विनियोजन गरी सर्वोपरी जोड दिएको छु ।
- कोभिड-१९ को कारणले विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको प्रभावलाई ध्यानमा राखी रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइनको माध्यमबाट सिकाइ सहजीकरणका लागि सामग्री उत्पादन तथा प्रशारण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
- शैक्षिकसत्र पूरा नगरी बीचमा नै कक्षा छोड्ने समस्या समाधान गर्न गाउँपालिका भित्रका सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विपन्न तथा जेहन्दार विद्यार्थीहरुका लागि गाउँपालिका छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि आवश्यक रु ५ लाख बजेट विनियोजन गरेको छु ।
- शिक्षालाई प्राविधिक, व्यवसायिक तथा रोजगारमूलक बनाउँदै सक्षम,नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति निर्माण गर्न सर्वोदय माविका प्राविधिक विद्यार्थीहरुका लागि एक विद्यार्थी एक टनेलका लागि रु १ लाख बजेट विनियोजन गरेको छु ।
- मानव पुँजी निर्माणको आधार शिक्षामा सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन गर्न आवश्यक वजेट विनियोजन गरेको छु । सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्न “गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम” लाई निरन्तरता दिंदै बजेटमा वृद्धि गरी रु १५ लाख पुर्याएको छु ।
- प्रारम्भिक वाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीहरुमा राष्ट्रसेवा प्रति उत्प्रेरित गराउन नेपाल सरकारले उपलव्ध गराउदैं आएको मासिक पारिश्रमिकमा वृद्धि गरी सम्वत् २०७८ श्रावण १ गते देखि लागू हुने गरी रु. १५ हजार र विद्यालय कर्मचारी (लेखापाल) को हालको पारिश्रमिकमा वृद्धि गरी रु १६ हजार पुर्याएको छु । यसका लागि आवश्यक रु ६९ लाख ८५ हजार पाँच सय बजेट विनियोजन गरेको छु।
- सामुदायक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको शिक्षक तथा कर्मचारी दरवन्दी, विद्यार्थी संख्या समेतलाई आधार लिई प्राथमिक विद्यालयलाई हाम्रो सरकारले नयाँ अभ्यासका रुपमा गाउँपालिका शिक्षकको व्यवस्था गरी कार्यान्वयनमा आएको कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रु १४ लाख ३५ हजार बजेटको व्यवस्था गरेको छु ।
- सूचना, संचार र प्रविधिको विकास मार्फत विद्युतीय शासनको दिशामा अगाडि बढ्न आवश्यक पर्ने बजेटको प्रवन्ध गरेको छु । गाउँपालिकालाई नै फ्रि वाईफाईयुक्त गराउन नमुनाका रुपमा कार्यान्वयन गर्न लागि रु १० लाख बजेट विनियोजन गरेको छु ।
- गाउँपालिकाबाट सम्पादन भएका कार्यहरु आम नागरिक समक्ष पुर्याउन तथा पत्रकारसम्वद्ध संस्थाहरुको सुदृढीकरणमा जोडका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।कोभिडको महामारी नियन्त्रण पश्चात उत्कृष्ट कार्यसम्पादन गर्ने राष्ट्रसेवक कर्मचारी र गाउँपालिका र जिल्ला भित्र कार्यरत उत्कृष्ट संचार माध्यम र संचारकर्मीलाई सम्मान गरिनेछ । सामुदायिक विहानी रडियोको संस्थागत क्षमता विकासका लागि रु १० लाख वजेटको व्यवस्था मिलाएको छु ।
सामाजिक संरक्षण र नागरिक संरक्षण
- गाउँपालिका भित्र विपद् र विपदजन्य प्रकोपलगायतबाट आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई आवास सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी सरकारका रुपमा हाम्रो सरकारलाई स्थापित गराउन गाउँपालिका जनता आवास सुधार कार्यक्रमका लागि रु १० लाख बजेटको व्यवस्था मिलाएको छु । हाम्रो सरकारको जनतामाझ वलियो उपस्थिति देखाउन नमुनाका रुपमा लिएको “गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण, सुरक्षा तथा वचाउ / SSP” कार्यक्रमलाई निरन्तरता दिई सञ्चालनका लागि रु ७ लाख विनियोजन गरेको छु ।
- बरेङ गाउँपालिका अन्तर्गत रहेका ग र घ वर्गका अपाङगता परिचयपत्र प्राप्त गरेका नागरिकहरुका लागि वार्षिक रु २ हजार सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
- स्वस्थ र सभ्य संस्कृतिको विकास गरी समाजिक सु-सम्वन्धमा आधारित समाजको निर्माण गर्न धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण कानुनी साक्षरताका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
- आफ्नो नागरिकताको राज्य वा भूमि भन्दा अर्को राज्य तथा भूमिमा आश्रय खोज्ने हाम्रो नेपाली संस्कृति र प्रवृत्तिलाई अन्त्य गर्न विशेष अभियान सञ्चालन गरिनेछ ।
श्रम र रोजगारी सिर्जना
- स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायतका योजना तथा कार्यक्रममा आवश्यक पर्ने निर्माण सामाग्री व्यवस्थापन गरी रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउन प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण परियोजनासँग साझेदारी गर्न पर्याप्त बजेटको विनियोजन गरेको छु ।
राष्ट्रसेवक,सुशासन र सार्वजनिक सेवा प्रवाह
- संघीय शासन प्रणाली अनुरुपको सोच र कार्य शैलीको विकास गरी शासकीय स्वच्छता र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखी सवै क्षेत्रमा सदाचार पद्धति अवलम्वन गरिनेछ ।
- म भ्रष्टाचार गर्दिन,म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्नेछु भन्ने प्रतिज्ञा पूर्णरुपमा लागू गरिनेछ । शासकीय स्वच्छता र सुशासनको मूल्यमान्यता अनुरुप हरेक गाउँ कार्यापालिकाको बैठकमा मासिक रुपमा शिर्षकगत आय व्यय प्रस्तुत गर्ने व्यवस्था मिलाईनेछ ।
- वित्तिय सुशासन कायम गर्न गाउँकार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालय, गाउँपालिकाबाट अनुदान प्राप्त हुने सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था लगायतको आन्तरिक लेखा परीक्षण शाखाबाट मासिक रुपमा आन्तरिक लेखापरीक्षण गरि त्रैमासिक प्रतिवेदन गाउँकार्यपालिकाको बैठकमा पेश गरी आन्तरिक लेखा परीक्षण प्रतिवेदन उपर छलफल अनिवार्य रुपमा गरिने व्यवस्था मिलाईनेछ । आन्तरिक लेखापरीक्षण प्रतिवेदन गाउँकार्यपालिका कार्यालय र अन्तर्गतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायतका निकायको गाउँपालिकाको आन्तरिक लेखा परीक्षण कार्यविधि, २०७७ बमोजिम मासिक रुपमा आन्तरिक लेखापरीक्षण गरी त्रैमासिक रुपमा गाउँकार्यपालिकाको कार्यालय मार्फत गाउँपालिकाको बैठकमा पेश गर्न आन्तरिक लेखा परीक्षकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलव्ध गराउने व्यवस्था मिलाएको छु ।
- कोभिड-१९ को व्यवस्थापनमा गर्नुपर्ने बढ्दो खर्चको कारण तलवमानमा अपेक्षित वृद्धि गर्ने अनुकूल परिस्थिति नभएतापनि गाउँपालिकामा कार्यरत करार स्वास्थ्यकर्मी, प्राविधिक कर्मचारी, सामुदायिक सिकाई केन्द्रका परिचालिका, गरिवसँग विश्वेश्वर कार्यक्रम अन्तर्गतका कर्मचारी, गाउँकार्यपालिकाको कार्यालय तथा अन्तर्गतका वडा कार्यालहरुमा कार्यरत कार्यालय सहयोगी लगायतहरुको मनोवल उच्च बनाउँदै कार्यसम्पादनमा प्रभावकारीता वृद्धि गर्न २०७८ साउन १ गतेदेखि लागू हुने गरी सबै राष्ट्रसेवकको तलबमानमा मासिक रु २ हजार वृद्धि गरेको छु । साथै कृषि,स्वास्थ्य लगायत गाउँकार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालय सहयोगीहरुको तलवमान नेपाल निर्धारण गरे बमोजिमको रु १५ हजार मासिक पारिश्रमिक उपलव्ध गराईनेछ ।
- कोभिड-१९ को संक्रमण जोखिमको विद्यमान अवस्थामा कार्यस्थलमा खटिने स्वास्थ्यकर्मी लगायत सबै राष्ट्रसेवकको योगदानको उच्च मूल्यांकन गरी कोरोना रोकथाम र उपचारको लागि अग्रपंक्तिमा रही काम गर्ने राष्ट्रसेवकहरुलाई प्रोत्साहन गर्न आवश्ेवकको योगदानको उच्च मूल्यांकन गरी कोरोना रोकथाम र उपचारको लागि अग्रपंक्तिमा रही काम गर्ने राष्ट्रसेवकहरुलाई पयक रकम विनियोजन गरेको छु ।
- कर्मचारी तथा शिक्षकहरुको गाउँपालिका भित्र सरुवा, पुरस्कार, सजाय, वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइनेछ ।
- आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने गरी कर्मचारी कल्याण कोष स्थापना गरी वजेटको सुनिश्चितता गर्दै लगिनेछ ।आगामी आर्थिक वर्षका लागि कर्मचारी प्रोत्साहन तथा पुरस्कारका र कर्मचारी कल्याण कोषका लागि वजेट विनियोजन गरेको छु ।
- आगामी आर्थिक वर्ष २०७८/७९ देखि वजेट तयारी, लेखाङकन लेखांकन तथा प्रतिवेदन जस्ता कार्य स्थानीय संञ्चित कोष व्यवस्थापन प्रणाली SUTRA शुत्रको पूर्णरुपमा लागू गरी हाम्रो सरकारको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारवाहीमा सुशासन कायम गरिनेछ ।
- कोभिड-१९ को कारणले राजस्व र अन्य स्रोतमा परेको चापको कारणले सीमित स्रोतको उच्चतम र मितव्ययी तवरले उपयोग गर्नुपर्ने भएको छ । यस सन्दर्भमा अनावश्यक प्रशासनिक खर्च नियन्त्रण,अत्यावश्यक वाहेकका तालिम गोष्ठी,बैठक भत्ता र बैठकमा प्रयोग हुने खाजा वा खाना जस्ता विषयहरुको खर्च न्यूनीकरण गरी सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी वनाउने नीति लिइनेछ ।
- बजेट सरकारको वार्षिक नीति मात्र होइन जनताको आशा र भरोसाको दस्तावेज पनि हो । स्रोत व्यवस्थापन र यसमा हुने खर्चको माग आफैमा चुनौतीपूर्ण विषय पनि हो । यो जटिल परिस्थितिमा तयार हुने बजेटमा अंकित विनियोजनको अंकलाई विवेकपूर्ण र औचित्यपूर्ण वनाउने दायित्व हामी सवैको हो । एक ठाउँमा हुने अध्याधिक माग वा खर्च नगर्ने प्रवृत्तिले अर्को अत्यावश्यक क्षेत्र स्रोतको अभावले ग्रस्त हुन जान्छ । यी विषयमा सवैबाट थप सहयोगको अपेक्षा गरेको छु ।
- आगामी आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विषय क्षेत्रगत आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासमा अनुमानित विनियोजन भएको वजेट अनुसूचीमा समावेश गरेको छु ।
सभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु,
अव म बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
- आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० खर्च हुने अनुमान गरेको छु ।
- आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ७ करोड ९८ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँड (वन रोयल्टी समेत) रु ५ करोड ६१ लाख १५ हजार ९ सय विस ,सशर्त अनुदान रु १७ करोड २१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८४ लाख ६३ हजार, प्रदेश राजश्व वाँडफाँड रु ३१ लाख ६० हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रु २२ लाख, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान रु ३७ लाख, नेपाल सरकार बाट प्राप्त हुने बिशेष अनुदान रु ४२ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु ५० लाख र समपुरक अनुदान रु. ५० लाख व्यहोर्दा रु ३ करोड ३७ लाख न्यून हुनेछ । सो न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात ३ करोड ३७ लाख ८ हजार ५ सय २० उपयोग गरिनेछ ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म आर्थिक वर्ष २०७८/७९ को लागि राजस्वका नीति प्रस्तुत गर्न चाहन्छु,
- स्थानीय सरकारको अधिकारक्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीतिलाई अवलम्वन गरेको छु ।
- आर्थिक रुपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक मैत्री कर प्रणाली विकसित गरिनेछ।
- गाउँपालिका क्षेत्रभित्रका फरक क्षमता भएकाहरुको परिचयपत्र सम्वन्धी, आर्थिक रुपमा विपन्नहरुको निशुल्क उपचार सम्वन्धी तथा प्राकृतिक प्रकोप सम्वन्धी सिफारिश दस्तुर छुट गरिनेछ ।
- रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर, बहत्तर शुल्क,विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी ग-४-२ बाँडफाँड खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर बहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर आदिको दर तथा दायरा विज्ञ समूहबाट अध्ययन गराई राजस्व संकलनलाई थप प्रभावकारी बनाइनेछ ।
- गाउँपालिका भित्रका व्यापारिक र व्यावसायिक प्रकृतिका मनोरञ्जनका महोत्सव,उत्सव तथा मेला आदिमा मनोरञ्जन करको व्यवस्था मिलाईनेछ ।
- गाउँपालिका भित्रमा घर नक्सा पास प्रक्रियालाई वि.सं. २०७८ साल श्रावण १ देखि अनिवार्य रुपमा लागू गरिनेछ । घर नक्सा पास प्रक्रिया विना घर निर्माण गर्ने जो सुकैलाई कानुनको दायरामा लिईनेछ ।
- गाउँपालिकाको राजस्व प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमा आधारित बनाई आन्तरिक आयलाई गाउँपालिकाको आम्दानीको मूल आधारको रुपमा विकास गर्ने नीति लिएको छु ।
- कोभिड-१९ को कारण लागू गरिएको निषेधाज्ञा तथा वन्दावन्दी अविधिभित्र तिर्नुपर्ने कर, दस्तुर तथा शुल्क तिर्न नपाई जरिवाना लाग्ने अवस्था भएमा निषेधज्ञा हटेको मितिले १५ दिनभित्र कर तथा गैरकर शुल्क तिर्न आएमा कुनैपनि जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाएको छु ।
- गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गरी व्यवसाय करको दायरामा लिइनेछ ।कर सम्वन्धी प्रस्ताव आर्थिक विधेयक, २०७८ यसै साथ प्रस्तुत गरेको छु । कर सम्वन्धी प्रस्ताव सम्वत् २०७८ साल साउन १ गतेबाट लागू हुने व्यवस्था मिलाएकोछु ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यहरु,
- यतिवेला हामी सबैको ध्यान कोभिड-१९ का विरुद्धको संघर्षमा केन्द्रित छ । जीवन रहे सुख र खुसी पुनःस्थापित गर्न सकिन्छ । समृद्धिको यात्रालाई पुनःजोड्न र गतिशील बनाउन सकिन्छ । यो बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताद्वारा शासनको चरितार्थ गरी जनताप्रति पूर्ण जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने कार्यमा हाम्रो सरकार पूर्ण प्रतिवद्ध छ ।
- यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्ष,गाउँसभाका सदस्यहरु, विभिन्न राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, सहकारी क्षेत्र र नागरिक समाजका व्यक्तित्वहरु तथा पत्रकार जगतबाट प्राप्त सुझाव,सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु ।
- अन्त्यमा, कोभिड १९ ले सिर्जना गरेको चुनौतीहरु वीच हाम्रो सरकारले लिएको प्रस्तुत बजेटको सफल कार्यान्वयनमा विगतमा जस्तै सबै पक्षको अपनत्व र पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।साथै मुलुक भित्र र वाहिर रहनु भएका सवै नेपालीलाई “समृद्ध बरेङ,सुखी बरेङवासी” निर्माणको हाम्रो सरकारको महान यात्रामा सहभागी हुन आब्हान गर्दछु ।
धन्यवाद…





