बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बुधबार नवौं नगरसभामा प्रस्तुत गरेको आ.व. २०७८÷०७९ को बार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ ।
बागलुङ नगरपालिकाको नवौं नगरसभा समक्ष नगर प्रमुख
श्री जनकराज पौडेलद्वारा प्रस्तुत
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम
सभासदज्यूहरु
– विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड– १९ को महामारीका कारण उत्पन्न असहज परिस्थिति र त्यसको नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बीच म आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा सम्बोधन गरिरहँदा जनताको जीवन रक्षा र आर्थिक सामाजिक जीवनको सुरक्षाको प्रश्नले गम्भिर बनेको छु । जनता र राज्यको संयुक्त प्रयासबाट जस्तोसुकै चुनौती र सङ्कटबाट पार पाउन सकिन्छ भन्ने उद्देश्य अनुरुप अगाडि बढिरहेका छौं ।
– बा.न.पा. १३ बाट निर्वाचित महिला सदस्य मिनाकुमारी रोकाको असामयीक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले नगर विकासमा पु¥याउँनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दछु । सङ्घीय शासन प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, संघर्ष र क्रान्तिहरुमा राष्ट्र र जनताको हित, कल्याण र उन्नतीका लागि जीवन समर्पण गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
– स्थानीय तह स्थापना भएको चार वर्ष पूरा भएको छ । यस अवधिमा संविधानले परिकल्पना गरेअनुसार गणतन्त्रात्मक संघीय शासन प्रणालीद्वारा लोकतान्त्रिक समाजवादको स्थापनाको लागि समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार पार्न नगरपालिका प्रतिबद्ध रहँदै आएको र आम नगरवासीको हकहित र अधिकारको रक्षा गर्न प्रतिबद्ध छ ।
– यतिबेला कोरोना भाइरस कोभिड– १९ को दोस्रो लहर नेपालमा फैलिइरहेको र नयाँ प्रकृतिको कोरोना भाइरस नेपालमा पुष्टी भएकाले थप सचेतना र सबै सगज हुनु जरुरी छ । यो नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा यस नगरपालिकामा समेत कोरोना सङ्क्रमणबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरुको सङ्ख्या बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
– संघीय लोकतान्त्रिक गणतन्त्रपछि भएको स्थानीय तह निर्वाचनबाट हामीले नगरको जिम्मेवारी सम्हालेका थियौं । सम्भवत यो नीति तथा कार्यक्रम यो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम हो । यस अवधिमा बागलुङ नगरपालिकामा महत्वपूर्ण दीर्घकालसम्म प्रभाव पार्ने रणनैतिक महत्वका कामहरु भएका छन् । दुई दशकसम्म गौचरणको रुपमा परिणत भएको वलेवा विमानस्थलको निर्माण सम्पन्न र सञ्चालन हुनेछ । यसलाई पाइलट विद्यालयको रुपमा समेत सञ्चालन गर्ने प्रचुर सम्भावना छ । यसको प्रस्तावहरु आइसकेका छन् ।
– झण्डै एक दशकदेखि चर्चामा आएर निर्माण हुन नसकेको नगर अस्पताल सञ्चालनमा आउँदै छ । यो वलेवा क्षेत्रको स्वास्थ्यको निम्ती कोशेढुङ्गा सावित हुनेछ । कालाखोलामा निर्माणाधिन उद्योग ग्राम अर्को महत्वपूर्ण परियोजना हो । बागलुङ बजारमा रहेको औद्योगिक प्रदुषण कम गर्न र उद्योगी व्यवसायीलाई जग्गा प्राप्तिको झन्झटिलो हट्ने छ । नयाँ उद्यमी व्यवसायीलाई दीगो रुपमा अवसर सिर्जना हुनेछ । धार्मिक पर्यटकीय स्थल भैरवस्थानसम्म पुग्ने सडक कालोपत्रे हुनेक्रममा रहेकाले यो सडकले यहाँको विकासमा ठूलो टेवा पुग्नेछ ।
– रायडाँडामा सञ्चालन भएका विशेष क्षेत्र कार्यक्रमले पशु र कृषि क्षेत्रको विकासको निम्ति ठूलो अवसर सिर्जना गरेको छ । रायडाँडाको केन्द्रमा निर्माण भएको विद्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र निर्माण हुने खेलमैदानले रायडाँडाको दुर्गमता भित्र महत्वपूर्ण सेवा सौन्दर्य र अवसर सिर्जना गरेको छ ।
– पर्यटकीय स्थलको रुपमा परिचित भकुण्डेको पर्यटन प्रवद्र्धनका लागि भेगन ग्रुपको संस्थागत आगमन, मुलावारी–पाग्जाकोट पर्यटकीय पूर्वाधार निर्माण र अदालत चौपारी–भकुण्डे सडक निर्माणले होमस्टेको विकाससँगसँगै भकुण्डेको पर्यटकीय महत्वलाई स्थापित गर्नेछ ।
– बा.न.पा.– ९ तित्याङमा सञ्चालन हुने तामाखानी उत्खनन् र चिनियाँ लगानीकर्ताको आगमन नेपालको खानी उद्योगको ऐतिहासिक अवसर हो । केन्द्रीय सरकारले खानीको क्षेत्रमा गर्न खोजेको उद्योगको सन्दर्भमा यो खानीको महत्व कम छैन् । औद्योगिकरणको लागि हाम्रो स्थानीय स्रोत साधन र विशेषता खानी उद्योगको लागि गर्वको विषय हुनेछ । कोभिड– १९ को विश्वव्यापी प्रभावले केही असर गरेपनि यो सञ्चालनमा ल्याउने हाम्रो महत्वपूर्ण भूमिका र सहयोग रहनु आवश्यक छ ।
– बा.न.पा. ८ को सिगानामा विकास हुँदै गएको सुन्तला खेती प्रवद्र्धनले निकट भविष्यमा करोडौं आम्दानी हुने निश्चित प्रायः छ । चिया खेती प्रवद्र्धन, बौडेचौर– कोटघर बौद्धगुम्बा पर्यटकीय पूर्वाधार विकास र लामाचौरमा खानेपानीको व्यवस्थापन हाम्रो कार्यकालका ऐतिहासिक कार्य सिद्ध हुनेछन् ।
– बा.न.पा. ५,६ र ७ मा निर्माण हुन गइरहेको मालिका बन्यजन्तु बासस्थान केन्द्र
(न्यगयिनष्अब िएबचप) संसारकोटमा (न्चभबत ध्बिि) निर्माणले हाम्रो पर्यटन विकासको निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय भूमिका निर्वाह गर्नेछ । यसको साथमा रहेको पञ्चकोटको प्रवद्र्धन र विकासले बागलुङको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याएको छ ।
– बा.न.पा. ४ को दावगरामा निर्माण हुने आधुनिक बसपार्क अर्को महत्वपूर्ण परियोजना हो । निजी क्षेत्रको महत्वपूर्ण साझेदारीको नमूनाको रुपमा रहेको यो गण्डकी प्रदेशको उल्लेखनीय परियोजना हो । पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोर, ढोरपाटन शिकार आरक्ष र मुक्तिनाथको प्रवेशद्वार (गेटवे)को अवसर प्रचुर मात्रामा लिन सकिन्छ । उपल्लाचौर–नाग्लीवाङ झोलुङ्गेपुल अर्को महत्वपूर्ण परियोजना हो । यसले बागलुङको व्यापारिक र व्यवसायीक विकासको निम्ति थप महत्वपूर्ण अवसर सिर्जना गरेको छ ।
– कालीगण्डीकीको पौराणिक महत्वलाई खासगरी विश्वका डेढ अरव हिन्दु पर्यटकहरुको लागि शालिग्राम संग्राहलयको विकासले एउटा ऐतिहासिक नीधि हाम्रो नगरमा निर्माण भएको छ । हामीले प्रवद्र्धन र सहयोग गरेको सङ्ग्रहालय र रंगबैकटेश्वर मन्दिर धार्मिक पर्यटनको लागि महत्वपूर्ण रहनेछन् ।
– काठेखोलामा निर्माण प्रारम्भ हुने जलविहार परियोजना अर्को हाम्रो पर्यटकीय प्रवद्र्धनको लागि नेपालकै महत्वपूर्ण परियोजना हुनेछ ।
– बजार क्षेत्रको चोक सुधार र ढल निकासको परियोजना बागलुङ नगरको महत्वपूर्ण पूर्वाधार हुनेछ ।
– यसैवर्ष निर्माण प्रारम्भ हुने बाङ्गेचौर खेल मैदानको विकासले युवा खेलाडीहरुको दशर्कौदेखिको व्यग्र प्रतीक्षा पूरा हुने भएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा खेलाडीहरु उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने छ । खेल पर्यटनको प्रचुर अवसर सिर्जना गर्नेछ । सहिद स्मृति पार्कमा प्रस्तावित फनपार्क परियोजनाले बालबालिका एवं युवाहरुमा पर्यटकीय आकर्षण निर्माण गर्नेछ ।
– बाङ्गेचौर–पाङमा निर्माण भएको झोलुङ्गे पुललाई अन्तर्राष्ट्रिय स्तरमा सूचीकृत हुने अवसरले हाम्रो पूर्वाधार विकासको क्षेत्र नगरको मात्र नभई राष्ट्रकै प्रतिष्ठा र गौरवको शिर उच्च हुनेछ । यसको नामाकरण यसै नगर सभाबाट हुने अपेक्षा गरिएको छ ।
– निजी क्षेत्रबाट सञ्चालनमा आएको बलेवा–कुश्मा बन्जीजम्प परियोजना अर्को महत्वपूर्ण साहासिक पर्यटकीय पूर्वाधारको कोशेढुङ्गा सावित हुनेछ । ऐतिहासिक बागलुङ भगवती मन्दिरको सुधार विस्तारएवं सौन्दर्यकरणसँगै यसको महत्व, ख्याती, प्रवद्र्धन र विकासले बागलुङको पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
– नगरका केन्द्रसम्म १२ महिना निर्वाध रुपमा यातायात सुचारु गर्ने हाम्रो प्रतिबद्धता अनुरुप कार्य सञ्चालन भइरहेका छन् । बागलुङ बजारदेखि वडाको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने हाम्रो प्रतिबद्धता अनुसार १, २, ३, ४ र ६ नम्बर वडामा सडक सञ्जाल विस्तार भएको छ । वडा नं. ७ मा नजिकै कालोपत्रे सडक विस्तार गरिएको छ । प्रदेश सरकारको लगानीमा तिरुपतीचोक–पञ्चकोट–तितौरे सडक निर्माणाधिन अवस्थामा रहेको छ । देउरालीचोक–खहरे–सिगाना–शान्तिपुर जोड्ने सडक निर्माणका लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट भर्चुअलमार्फत शुभारम्भ भई प्रक्रिया अगाडि बढेको छ ।
– अदालत चौपारीदेखि तित्याङ भकुण्डे रायडाँडा जोड्ने २६ किलोमिटर सडक एसियाली विकास बैंकको सहयोगमा ठेक्का प्रक्रियामा पुगेको छ । पाक्जा–बास्कोट–पैयुपाटा–अमलाचौर सडक संघ, प्रदेश र नगरको लगानीमा निर्माण कार्य अगाडि बढिरहेको छ । पानीट्याङ्की–हटिया–नारायणस्थान–विमानस्थल पुग्ने सडक वडा कार्यालय नजिकै पुगेको छ । हाम्रो प्रतिबद्धता एवं घोषणाले निकट भविष्यमा सार्थकता प्राप्त गर्नेछन् । बुकिनी–डिहीडाँडा–वडा कार्यालय–बौडेचौर सडक स्तरोन्नती भएका छन् ।
– सडक निर्माण एवं सडक सञ्जालको विद्यमान अवस्थालाई ख्याल गर्दै बा.न.पा. ९, १२, १३, १४ वडामा सडक कालोपत्रे पु¥याउनका निम्ति आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्य सम्पन्न गरिनेछ । आर्थिक वर्ष २०७८÷०७९ सम्म सडक सञ्जाल १४ वटै वडामा कालोपत्रे सडक पु¥याउँन विशेष पहल गरिनेछ ।
– यस वर्ष कार्य प्रारम्भ हुने शहरी शासकीय सुधार परियोजना हाम्रो नागरिकको सबै भन्दा ठूलो पूर्वाधार परियोजना हो । मुलपानी–कालिमाटी–तितौरे–भिमापोखरा जोड्ने कालोपत्रे सडक लगायतका महत्वपूर्ण पूर्वाधार सम्पन्न हुनेछन् । यस परियोजनाको सम्पन्नतासँगै महत्वपूर्ण शहरी पूर्वाधारयुक्त नगरको रुपमा बागलुङ नगरपालिका देशव्यापी रुपमा स्थापित हुनेछ । आम नागरिकको उत्पादन रोजगार र सुविधामा ठूलो फड्को मार्नेछ । यसका साथै दर्जनौं महत्वपूर्ण पूर्वाधारहरु हाम्रो नगरमा निर्माण र सञ्चालन भएका छन् । त्यसको विस्तृत विवरण हाम्रो कार्यकालको अन्त्यतिर प्रकाशित गरिनेछ ।
– नगरभित्र सञ्चालनमा रहेका महत्वपूर्ण लिफ्टिङ खानेपानी आयोजनाहरु काठेखोला, नारायणस्थान, बागलुङ बजार, रमेटार, कुँडुले एवं भिरलाखुरी, लामाचौर खानेपानी योजना हाम्रा नगरवासीको महत्वपूर्ण परियोजना हुन् । यी परियोजनाको सम्पन्नतासँगै हाम्रो जनजीवन सुधार र सहज हुनेछ ।
– सङ्घीय सरकार, प्रदेश सरकार र नगरको साझेदारीमा सम्पन्न हुने विशेष अनुदान, ससर्त अनुदान र समपुरक अनुदानतर्फ पाग्जाकोट–मुलावारी–भकुण्डे पर्यटकीय पूर्वाधार विकास कार्यक्रम, बौडेचोर–कोटघर–बौद्धगुम्बा पर्यटकीय पूर्वाधार, रामरेखामा फनपार्क निर्माण, दावगरा बसपार्कमा जग्गा व्यवस्थापन, पानी ट्याङ्की हटिया–वडा कार्यालय– एयरपोर्टसम्मको सडक कालोपत्रे, जल्केनी–पैयुँपाटा–अमलाचौर सडक, बुकेनी– ९ नं. वडा कार्यालय जोड्ने कालोपत्रे सडक, काठेखोला जलविहार परियोजना, पञ्चकोट–संसारकोट पूर्वाधार विकास, भान्सा–सातखोला–अल्छे सडक, विरेन्द्र ऐश्वर्य पार्क संघ र प्रदेशसँग दोहोरोपन नहुनेगरी यसै वर्ष बहुवर्षीय ठेक्का पट्टा प्रणालीद्वारा सञ्चालनमा ल्याइनेछ ।
– केही महत्वपूर्ण परियोजनालाई सम्पन्न गर्न हाम्रो प्रयासलाई जारी राख्नु आवश्यक छ । सुविधा सम्पन्न सिटी हल, कृषि क्याम्पस परियोजनाका लागि जग्गा प्राप्ति र विश्वविद्यालयको सम्बन्धनको लागि विशेष पहल भइरहेको छ ।
सभासदज्यूहरु
नगरपालिकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्नका लागि योजना कार्यान्वयनलाई प्राथमिकताका साथ लिएको छ । यस बीचमा बागलुङ नगरपालिकाबाट यस वर्षमा सम्पादन भएका केही महत्वपूर्ण कामहरु निम्नानुसार सम्मानित सभामा प्रस्तुत गर्न चाहान्छु ।
कोभिड– १९ विरुद्धको अभियान र स्वास्थ्य
– चालु आर्थिक वर्षमा नगरका अन्य गतिविधिसँगै कोभिड– १९ का विरुद्धमा बढी ध्यान केन्द्रित गर्नुपर्ने अवस्था रह्यो । यस नगरपालिकामा विभिन्न समयमा प्राप्त खोप मध्य अग्रपंक्तिमा खटिने १८३४ जनालाई पहिलो र दोस्रो डोज तथा ६२ वर्षदेखि माथिका ४५५५ जनालाई पहिलो डोज खोप लगाइएको छ । कोभिड– १९ को व्यवस्थापनमा उत्कृष्ट कार्य गरेकोमा सूचीकृत गरेको छ ।
– कोरोना सङ्क्रमणको लक्षण देखिएका ४४५० जनाको परीक्षण गरी सङ्क्रमण पुष्टी भएका १९९७ जना मध्य १९ जनाको मृत्यु भई १९१४ जना नगरपालिकाले स्थापना गरेको रातमाटा स्थित आइसोलेसन, धौलागिरि अस्पताल तथा होम आइसोलेसनबाट सङ्क्रमण मुक्त भएका छन् । नगरपालिकाको आफ्नै पहलमा कोभिड डेडिकेटेड निःशुल्क एम्बुलेन्स, शव बहान, सबै बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्रीको प्रबन्ध गरिएको छ ।
पूर्वाधार निर्माण
– नगर क्षेत्रमा गण्डकी प्रदेश सरकारको लगानीमा १२ किलोमिटर र संघीय सरकारको लगानीमा ९ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न भएको छ । नगरपालिकाबाट तीन वर्षको अवधिमा २१.६६ किलोमिटर कालोपत्रे तथा ढलान, १५.३५ किलोमिटर पक्की नाली, १३९ किलोमिटर सडक स्तरोन्नती, १४.७७ किलोमिटर पैदल मार्ग र ३ किलोमिटर तारजाली लगाउने काम सम्पन्न भएको छ ।
– बाङ्गेचौर–पाङ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । उक्त पुललाई विश्वकै लामो सिङ्गल स्पान पुलको रुपमा गिनिज बुक अफ द वल्र्डमा रेकर्डका लागि प्रक्रिया अगाडि बढाइएको छ । बा.न.पा. ४ उपल्लाचौर र पर्वतको नाग्लीवाङ जोड्ने झोलुङ्गे पुल स्वीकृत भई निर्माणको प्रक्रिया अगाडि बढ्ने छ । तीन ठाउँमा साना पुल निर्माण गरी आवतजावतलाई सहज बनाइएको छ ।
– वडा नं. ९, ११ र १४ मा वडा कार्यालयको कार्यालय भवन निर्माण सम्पन्न भएका छन् ।
– बा.न.पा.– ४ तिरुपती चोकमा पूर्व नगरप्रमुख ऋषिराम शर्माको स्मृतिमा द्वार निर्माण गरिएको छ । नगरको चालु आर्थिक वर्षमा १६ वटा भवन निर्माण सम्पन्न भएका छन् ।
– नगरका सबै घरमा खानेपानीको पहुँच पु¥याउँनका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा सुरु गरिएको ‘एक घर, एक धारा’ अभियानअन्र्तगत खानेपानीको सहज पहुँच पुगेको छ । बजार क्षेत्रको खानेपानी समस्या समाधानका लागि बागलुङ नगर खानेपानी आयोजना (काठेखोला लिफ्टिङ)लगायत विभिन्न ठाउँमा आयोजना निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
सामाजिक विकास
– ‘जनता आवास’ कार्यक्रम अन्र्तगत नगरका ८२ विपन्न परिवारका घर निर्माण सम्पन्न भएका छन् । गत वर्षको मनसुनको समयमा बाढी पहिरोबाट क्षतिग्रस्त बनेका ७७ जनाको घर निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । नगरमा औद्योगिक ग्राम निर्माणका लागि पूर्वाधार निर्माणको काम अगाडि बढेको छ ।
– सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत ३५८७ जनालाई सुरक्षित बैदेशिक रोजगार, मनोपरामर्श र वित्तिय साक्षरता प्रदान गरिएको छ । बैदेशिक रोजगारीका नाममा ठगिएका १५ जनाले रकम फिर्ता र विदेशमा मृत्यु भएका दुई जनाले क्षतिपूर्ति प्राप्त गरेका छन् । बैदेशिक रोजगारीमा जान चाहनेलाई दक्ष बनाउन १९ जनालाई निःशुल्क तालिम प्रदान गरिएको छ ।
– सडक मानव रहित नगर निर्माणको अभियानलाई सफल पार्नका लागि प्रदेश सरकारसँगको सहकार्यमा बा.न.पा. १ निरहेमा मानव सेवा आश्रमको सुविधा सम्पन्न भवन निर्माणको काम सुरु भएको छ ।
– सङ्घीय सरकारसँगको सहकार्यमा करिब तीन करोड रुपियाँको लागतमा बा.न.पा. १ निरहेमा सुविधा सम्पन्न बृद्धाश्रम निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
शिक्षा, युवा तथा खेलकुद
– मेयर कप फुटवल प्रतियोगिता, नगर स्तरीय राष्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिताहरु आयोजना भएका छन् । स्थानीय स्तरमा हुने हरेक खेलकुद गतिविधिहरुमा नगरपालिकाले आवश्यक आर्थिक सहयोग गर्दै आएको छ ।
– नगरका पाँच वटा विद्यायहरुमा नर्सको दरबन्दीमा नियुक्ती गरी विद्यालयमा स्वास्थ्य सहितको शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । विद्यालय भवन निर्माण तथा मर्मत, आइसिटी ल्याव, शौचालय निर्माणमा आवश्यक सहयोग गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
– करिब ३ करोड रुपियाँको लागतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम यसै वर्ष सम्पन्न हुँदैछन् ।
– शैक्षिक क्षेत्रलाई बदलिंदो परिस्थिति अनुसार व्यवस्थापन गर्न शिक्षा ऐन, नियमावली जारी गरी कार्यान्वयनमा लगिएको छ । यसबाट शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ ।
– निजी क्षेत्रमा सञ्चालिन शैक्षिक संस्थाहरुको नियमन तथा अनुगमन गरिनेछ ।
आर्थिक विकास
– आन्तरिक स्रोत परिचालनमा नगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड– १९ को प्रभावको बावजुद नगरपालिकाले क्रमशः आ.व. २०७३÷०७४ मा १,३६,५३,०००.६०, आ.व. २०७४÷०७५ मा २,५२,६९,२२९.३०, आ.व. २०७५÷०७६ मा ३,३३,६२,००८.६५, आ.व. २०७६÷०७७ मा ३,८१,३९,०६२.५४ र चालु आर्थिक २०७७÷०७८ को जेठ मसान्तसम्म ३,८२,९८,४७६.५१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा नगरपालिकामा ३५५ वटा नयाँ व्यवसाय दर्ता भएका छन् ।
– व्यवसायिक किसानलाई अनुदान तथा विभिन्न प्रकृतिका बोट विरुवा वितरण गरिएको छ । नगरका विभिन्न ठाउँमा चिया खेती प्रवद्र्धनको काम अगाडि बढेको छ ।
– पशु सेवा शाखाबाट १४८७७ वटा पशुमा कृत्रिम गर्भाधारण, उपचार, बन्ध्याकरण, खोप तथा घरदैलोबाट सेवा प्रवाह गरिएको छ । नगरका १२४५ जना पशुपंक्षी पालक किसानहरुले विभिन्न प्रकृतिका अनुदान प्राप्त गरेका छन् ।
– बागलुङ बजार क्षेत्रको फोहोरमैला व्यवस्थापनको जिम्मेवारी नगरपालिका मातहत ल्याई नियमित फोहोर सङ्कलन तथा व्यवस्थापनको काम भइरहेको छ । हाल रहेको डम्पिङ साइडलाई आधुनिक प्लान्टको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढेको छ । करिब १९०० ग्राहकबाट फोहोरमैला सेवा शुल्क वापत १८ लाख रुपैयाँ सङ्कलन भएको छ ।
विविध
– न्यायिक समितिमा दर्ता भएका २० वटा मुद्वा मध्ये मेलमिलाप तथा फैसलामार्फत ७ वटा किनारा लागेको, एक वटा तामेलीमा, नौ वटा विचाराधिन, तीन वटा छलफलमा रहेका छन् । जोखिम, विपदमा परेका नागरिकलाई तत्काल उद्धार गरी विपन्नलाई राहत रकम प्रदान गरिएको छ ।
– बजार क्षेत्रमा छाडा कुकुरको दीर्घकालिन समस्या समाधानका लागि १६७ वटा छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ ।
– नगर क्षेत्रमा घर निर्माणका लागि गरिने नक्सा पासलाई व्यवस्थित गर्दै लगिएको छ । चालु आर्थिक वर्षमा १९१ वटा व्यक्तिका घर सम्पन्न, १६९ वटा नक्सा पास र ७२ वटा अस्थायी घर नक्सा पास गरिएको छ ।
– १० स्थानीय तहसँगको सहकार्यमा धौलागिरि अस्पताललाई रु. ५५ लाख कोष खडा गरि अत्यावश्यक सेवा र जनशक्ति प्रदान हुनेछ ।
सभासदज्यूहरु,
दीगो विकास लक्ष्य, नेपालको संविधानको परिकल्पना, नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता, पन्ध्रौ पञ्चवर्षीय योजना, प्रदेश योजना एवं नगरको एकीकृत विकास लक्ष्यलाई प्राप्त गर्न आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्न चाहान्छु ।
१) कोभिड– १९ विरुद्धको अभियान र स्वास्थ्य
कोभिड– १९ को दोस्रो लहर फैलिदै गएपछि विश्वकै आर्थिक रुपमा समृद्ध मुलुकहरुले समेत नियन्त्रणका लागि ठूलो कठिनाई भोग्नु प¥यो । स्वास्थ्य उपकरणका अभावका कारण विश्वमा थुप्रै मानिसहरुको मृत्यु भएको थियो । अहिलेपनि कोभिड– १९ को सङ्क्रमण फैलिदै गएको र नयाँ प्रजातिको भाइरस फैलिन सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै नगरपालिकाले पूर्व तयारी तथा स्वास्थ्य क्षेत्रका लागि निम्नानुसारका कामहरु गर्नेछ ।
– कोरोना भाइरस (कोभिड– १९) को नियन्त्रण, रोकथाम र उपचारमा आवश्यक प्रबन्ध गरिनेछ ।
– आधारभूत स्वास्थ्यको जिम्मेवारी सिर्जनात्मक ढङ्गले लागू गरिनेछ ।
– स्वास्थ्यकर्मीको मनोवल बृद्धिका लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गर्नेछ ।
– छिमेकी मुलुक भारतलगायतका ठाउँमा देखिएको आँखा सम्बन्धी रोग (कालो ढुसी)को सङ्क्रमण नियन्त्रण र उपचारका लागि सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढिनेछ ।
– शव बहान नियमित सञ्चालनमा ल्याइनेछ ।
– हरि खड्का ट्रमा से६र निर्माण गर्न विशेष पहल गरिनेछ ।
– अन्तर्राष्ट्रिय समाज बागलुङ, प्रवासी नेपाली संघ बेलायत शाखासँगको सहकार्यमा विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा यसै वर्षदेखि सञ्चालनमा ल्याइनेछ ।
– ‘गरीवीसँग मेयर ऋषिराम’ कार्यक्रमलाई कोभिड– १९ बाट प्रभावित व्यक्ति समेतको आयआर्जनका लागि सुलभ कर्जा प्रदान गरिनेछ ।
– जोखिमपूर्ण रुपमा काम गर्ने मजदुरहरुका लागि जोखिम राहत कोषको व्यवस्था गरिनेछ ।
– वलेवामा १५ शैयाको नगरस्तरीय अस्पताल निर्माणको प्रक्रियालाई तिव्रता दिइनेछ ।
– स्वास्थ्यचौकी नभएका वडा नं. ७ मा स्वास्थ्य चौकीको पूर्वाधार निर्माण र जनशक्ति व्यवस्थापन गरी सञ्चालन गरिनेछ । नगर क्षेत्रमा रहेका शहरी स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य इकाइलाई पुर्नसंरचना गरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गरिनेछ ।
– गर्भवती तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार ल्याउनका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरिनेछ ।
२) पूर्वाधार निर्माण
– नगरपालिकाको संस्थागत क्षमता विकास गर्दै नगरवासीको लागि न्यूनतम शहरी पूर्वाधार निर्माणमा जोड दिइनेछ । यसका लागि विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा क्षमता विकास कार्यक्रम (युजिसीडिपी) कार्यक्रम लागू गरिनेछ ।
– एकीकृत शहरी विकास योजनालाई कार्यान्वयन गरिनेछ ।
– दावगरा बसपार्क सञ्चालनमा आएपछि हाल रहेको चिप्लेटीमा बसपार्क रहेको स्थानलाई जिपपार्कको रुपमा विकास गरिनेछ ।
– ठूला पूर्वाधारहरुको विकासमा पहल गरिनेछ । महत्वपूर्ण आयोजनाहरुको डिपिआर तयार गरिनेछ ।
– नगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापन गरी निर्माणको पहल गरिनेछ ।
– केन्द्रीय तथा प्रदेश स्तरका सडकहरु समयमै निर्माण सम्पन्न गर्न पहल गरिनेछ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरलाई कालोपत्रे गर्ने कार्य सम्पन्न गर्नका लागि सहजीकरण गरिनेछ ।
– वडाहरुको केन्द्रसम्म पुग्ने सडक कालोपत्रे गर्नका लागि संघ, प्रदेश र नगरको विशेष लगानीमा कार्यान्वयन गरिनेछ । नगर स्तरीय ९ वटा र वडा स्तरीय सडकलाई स्तरोन्नती गरी पक्की सडकहरुमा मर्मत सुधारको निम्ति जनशक्तिको व्यवस्थापन गरिनेछ ।
– नगरका सबै वडा कार्यालयहरु सरकारी, सार्वजनिक भवनबाट सेवा प्रदान गरिनेछ ।
– बागलुङ बजारका प्रमुख चोक सुधार, पोल व्यवस्थापन, तार, सडक नाली व्यवस्थापनको कामलाई अगाडि बढाइनेछ । बागलुङ बजारका ऐश्वर्य पार्क, सहिद पार्कको पुनःनिर्माण गरी सौन्दर्यकरण गरिनेछ ।
– यसै आर्थिक वर्ष भित्र उद्योग ग्राम निर्माण गरी सञ्चालनमा ल्याइनेछ । नदी नियन्त्रण तथा तटबन्ध निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
– नगर क्षेत्रमा सडक मापदण्डलाई कडाईका साथ लागू गरिनेछ । सवारी चाप हुने पर्यटकीय एवं बजार क्षेत्रमा व्यवस्थित पार्किङको लागि आवश्यक प्रबन्ध मिलाइनेछ ।
३) सामाजिक विकास
– पछाडी पारिएको क्षेत्र र समुदायलाई राज्यको मूलप्रवाहिकरण गर्ने लक्ष्य र समानुपातिक समावेशी अवधारणालाई केन्द्र भागमा राखेर विशेष कार्यक्रम सञ्चालित गरिनेछ ।
– लामो समयदेखि सामाजिक उत्पीडनमा परेका दलित उत्पीडित क्षेत्रलाई विशेष प्राथमिकता दिई रोजगार, सीप, सम्मानयुक्त जीवन यापन गर्ने वातावरण सिर्जना गर्दै पहुँच र प्रतिनिधित्व स्थापना गर्ने लक्ष्य लिइएको छ । भगत सर्वजित विश्वकर्मा रोजगार तथा सीपमूलक कार्यक्रम सञ्चालन गरी प्रतिष्ठानको भवन निर्माण गरिनेछ ।
– जेष्ठ नागरिकको सम्मान तथा विश्राम केन्द्रलाई विस्तार गरिनेछ ।
– अपाङ्गता भएका व्यक्तिको पहिचान गरी दोभाषे एवं सहायता सामग्री प्रदान गरिनेछ ।
– नगर क्षेत्रका गरीब विपन्न घर परिवारका खरका छानो हटाई टिनको छानोमा ल्याउने कार्य सम्पन्न गरिनेछ ।
– जनता आवास कार्यक्रमबाट विपन्नका घर निर्माणमा विशेष जोड दिइनेछ । सुकुम्बासी र अव्यवस्थित बसोवासको भूमि समस्या समाधान आयोगमार्फत व्यवस्थापनको काम अगाडि बढाइनेछ ।
– लैङ्गिक हिँसा, जातीय विभेदका विरुद्धका अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
– लागू औषध, सूर्तीजन्य, मदिराजन्य पदार्थको प्रयोगका विरुद्ध नेपाल प्रहरीसँगको सहकार्यमा युवाहरु एवं सामाजिक संघ संस्थाको पहलमा अभियानहरु सञ्चालन गरिनेछ ।
– रोजगार प्रवद्र्धन कार्यक्रमअन्र्तगत आप्रवासी स्रोत केन्द्र (सामी) कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– नगरप्रमुख जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम र उपप्रमुख युवा दुव्र्यसनी नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
४) शिक्षा
– मानवको सर्वाङ्गीण विकासको आधार शिक्षा नै हो । गुणस्तरीय शिक्षामार्फत सिर्जनशिल दक्ष प्रतिस्पर्धी उत्पादनशिल र नवप्रवद्र्धनका हिसावले विकास गर्ने राष्ट्रको लक्ष्य अनुरुप साझा अधिकारको सूचीमा रहेको शिक्षालाई जीवन पद्धतिमा उतार्ने नीति लिइनेछ ।
– स्थानीय सरकारको कार्य जिम्मेवारीमा रहेको माध्यामिक तहको शिक्षालाई गुणस्तरीय जीवन उपयोगी र प्रविधि मैत्री बनाइनेछ ।
– नगरका १६ सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा सूचना प्रविधिको प्रयोग गरी ज्ञान, सीप र पहुुँच अभिबृद्धि गरिनेछ ।
– शिक्षा, ऐन र नियमावलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिनेछ । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा विशेष ध्यान दिइनेछ ।
– विशेष शिक्षालाई ध्यान दिदै दिवा खाजा कार्यक्रम कार्यान्वयन गरिनेछ । सामुदायिक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापन गरिनेछ ।
– कृषि क्याम्पस स्थापना गर्न विशेष पहल गरिनेछ । प्राविधिक धार सञ्चालित विद्यालयहरुलाई विशेष प्राथमिकताका दिइनेछ ।
– प्राथमिक, आधारभूत र माध्यामिक विद्यालयको सूचाङ्कका आधारमा मूल्याङ्कन गरी उच्चतम अङ्क ल्याउने १÷१ वटा विद्यालयलाई पुरस्कृत गरिनेछ ।
– गोविन्द अधिकारी व्यवसायिक छात्रबृत्ति कार्यक्रम कार्यान्वयन गरिनेछ । तल्लो वर्गका विद्यार्थीहरुको व्यवसायिक शिक्षामा पहुँच अभिबृद्धि गरिनेछ ।
– बालविकास केन्द्रलाई व्यवस्थित गरिनेछ । नेपाल सरकारले घोषणा गरेको बाल विकास सहजकर्ताको न्यूनतम पारिश्रमिक सम्बन्धी नीतिलाई कार्यान्वयनमा ल्याइनेछ ।
– पुस्तकालय तथा सामुदायिक अध्ययन केन्द्रको क्षमता बृद्धि, प्रविधिम्रत्री शिक्षण प्रक्रिया सञ्चालनमा सहयोग गरिनेछ ।
– सघन अनुगमन मार्फत सिकाई उपलब्धी बृद्धिका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
– विद्यालय व्यवस्थापनमा सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
– आधारभूत तहमा अँग्रेजी शिक्षकहरुको तालिममार्फत क्षमता अभिबृद्धि गरिनेछ ।
– नगर प्रमुख प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरिनेछ ।
– सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइनेछ ।
– नमूना विद्यालय व्यवस्थापनमा जोड दिदै सबै विद्यालयमा बगैचा स्थापना गरी हरित विद्यालयको अवधारणामा जोड दिइनेछ ।
– विद्यालय समायोजन प्रक्रियालाई आवश्यकताका आधारमा निरन्तरता दिइनेछ ।
– आवश्यकताका आधारमा प्रारम्भिक बाल विकास कक्षा स्थापना गरी बाल विकास सहजकर्ताको पारिश्रमिकको व्यवस्था गरिने छ ।
– विद्यालय गुणस्तर शिक्षा सुधार तथा नमूना विद्यालयलाई आवश्यक पूर्वाधार निर्माण तथा प्राविधिक सामग्रीहरु उपलब्ध गराइने छ ।
– कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै सकरात्मक मनोपरामर्शको व्यवस्था गरिनेछ ।
५) आर्थिक विकास
– किसानको उत्पादनलाई जोखिमबाट जोगाउन मासुजन्य उत्पादनको लागि चिस्यान केन्द्र स्थापना गरिनेछ ।
– कृषिमा यान्त्रिकीकरण व्यवसायीकरण र बजारीकरणका माध्यमबाट कृषिलाई प्रवद्र्धन र विकास गरिनेछ । यस वर्ष सुन्तला, काजती लगायतको कार्यक्रमलाई विशेष रुपमा अगाडि बढाइनेछ ।
– कृषि प्रसार र प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाइनेछ । पशु विकास कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
– कृषि उपज उत्पादनमा आत्मनिर्भर बनाउन सुन्तला, कागती, चिया, किवी, ओखर खेती तथा जडिबुटी खेती प्रवद्र्धन कार्यक्रमलाई अगाडि बढाइनेछ ।
– एक वडा तीन उत्पादन नीतिमा आधारित प्रत्येक वडामा एक उत्पादनलाई प्रमुख कृषि जोनको रुपमा विकास गरिनेछ ।
– युवा, रोजगार र महिला उद्यम विकास सम्बद्र्धन रणनैतिक आयोजनाको परिमार्जन गर्दै उद्यम विकास रणनीति तर्जुमा गरिनेछ । भगत सर्वजित सिप रोजगार प्रवद्र्धन कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
– परम्परागत पेशा व्यवसाय सुधार गरी व्यवसायिक बनाउन प्रोत्साहन गरिनेछ ।
– युवा व्यवसायीक प्रवद्र्धन कार्यक्रम अगाडि बढाइनेछ ।
– उद्योग बाणिज्य संघलगायत विभिन्न सामाजिक संघ संस्थासँग सहकार्यमा व्यवसायिक हक हित, बजार व्यवस्थापन र पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि बढाइनेछ ।
– सहकारीलाई उत्पादन, रोजगारी र बजारीकरणमा जोड दिइनेछ । सहकारीमा कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने प्रवन्ध गरिनेछ ।
– प्रविधिमा आधारित अनुगमन प्रणाली विकास गरिनेछ ।
– सहकारी शिक्षालाई प्रवद्र्धन, एक सहकारी एक उत्पादनको नीतिलाई अगाडि बढाउँदै उत्पादनमा आधारित सहकारीलाई पुरस्कृत गर्ने नीति लिइनेछ ।
– उद्देश्य अनुरुपका सहकारीलाई पुरस्कृत र सहकारी एकीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
६) युवा तथा खेलकुद
– स्वास्थ्य, सकरात्मक सोंच, उद्यमशिल, सिर्जनशिल अधिकारप्रति सचेत र कर्तव्यप्रति प्रतिबद्ध युवा शक्तिको विकासमा परिचालन गर्न राष्ट्रिय लाभलाई सार्थक हुने गरी नीति र कार्यक्रम लागू गरिनेछ ।
– युवालाई प्रविधि उद्यम व्यवसाय नीति निर्माणमा पहुँच पु¥याउने नीति लिइनेछ ।
– खेल पर्यटन, युवा स्वरोजगार युवा व्यवसायीलाई प्रोत्साहन गरिनेछ ।
– दुव्र्यसनी र कुलतबाट मुक्त गर्न नेपाल प्रहरी र स्थानीय संघ संस्थाको साझेदारीमा कार्यक्रम परिचालन गरिनेछ ।
– मेयरकप सञ्चालन गरिनेछ । खेलकुद मैदानहरुको पूर्वाधार, कर्भडहलको स्तरोन्नती एवं सञ्चालन गरिनेछ ।
– नगर खेलकुद विकास समिति स्थापना गरी क्रियाशिल बनाइनेछ । खेलकुद शिक्षकको व्यवस्थापन गरिनेछ ।
– सार्वजनिक ठाउँमा व्यायाम स्थल (जिम) स्थापना गरिनेछ ।
– फुटबल, भलिवल, क्रिकेटलगायत खेलकुदका अन्य विधालाई प्रोत्साहन र परिचालन गरिनेछ ।
– राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, नगर स्तरीय तथा वडा स्तरीय खेलकुद प्रतियोगितालाई प्रभावकारी बनाइने छ ।
– खेलाडीलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
– खेलाडीहरुको नवप्रतिभा पहिचानका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– नेपाल स्काउटलाई प्रभावकारी रुपमा विद्यालयसँग आवद्ध गरी सञ्चालन गरिनेछ ।
७) खानेपानी, सिंचाई
– नगर खानेपानीको व्यवस्थापन र सञ्चालन खानेपानी बोर्ड गठन गरी बजार क्षेत्रको खानेपानी व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्न विशेष पहल गरिनेछ ।
– आधारभूत खानेपानीको पहुँच नपुगेका घरमा खानेपानी उपलब्ध गराउन ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिइनेछ ।
– बा.न.पा. ८ लामाचौरमा निर्माणाधिन खानेपानी आयोजना यसै वर्ष सञ्चालनमा ल्याइनेछ ।
– लिफ्टिङ खानेपानी आयोजना कुँडुले, लहरेपिपल, भैरवस्थान, रायडाँडा, बौडेचौर, माझकोट लगायतका क्षेत्रमा विस्तार गरिनेछ ।
– लामो समयदेखि सम्पन्न नभएका योजनालाई सम्पन्न गर्न पहल गरिनेछ । पुराना आयोजनाको मर्मत सम्भार गरिनेछ ।
– सिंचाई सुविधा नपुगेका खेतीयोग्य जमिनमा सिंचाई सेवा उपलब्ध गराउनेगरी कार्य आरम्भ गरिनेछ ।
– नारायणस्थानको दम्कफाँटमा जमिनमुनीको पानीबाट सिंचाई गर्ने ड्रिलिङ मार्फत सिंचाईको प्रबन्ध गरिनेछ ।
८) पर्यटन, वन तथा वातावरण
– पर्यटकीय स्थलको रुपमा विकास भएका गन्तव्यहरुको विकास र प्रचार–प्रसारमा आवश्यक पहल गरिनेछ ।
– प्रदेश सरकारसँगको सहकार्यमा नगर क्षेत्रमा होमस्टे प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– पर्यटकीय स्थलसम्म पुग्न पर्यटकीय पदमार्ग निर्माणलाई जोड दिइनेछ ।
– नगर सरसफाईको अभियानलाई स्वच्छ, सफा, हरियाली नगर विकासका लागि जोड दिइनेछ ।
– फोहोरमैला व्यस्थापनको क्षेत्र विस्तार गरी नगर विकास कोषसँगको सहकार्यमा आधुनिक फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापना गरिनेछ ।
– पर्यटकीय स्थलमा पार्किङ व्यवस्थापनको कार्य गरिनेछ ।
– वातावरण संरक्षणका लागि परम्परागत पोखरी र चौपारीको संरक्षण र प्रवद्र्धन गरिनेछ ।
– बजार क्षेत्रका नालीको नियमित मर्मत तथा सरसफाईका लागि विशेष ध्यान दिइनेछ ।
– विपद् जोखिम न्यूनिकरण, विपद्को पूर्वतयारी, व्यवस्थापन र उद्धारका लागि विपद् व्यवस्थापन कोषलाई प्रभावकारी बनाइने छ ।
९) शासकीय व्यवस्था एवं सुधार
– व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गरिनेछ । सामाजिक सुरक्षा भत्ता वास्तविक लाभग्राहीले पाउने गरि आवश्यक प्रशासनिक व्यवस्था मिलाइनेछ । यसका लागि गत वर्षदेखि सञ्चालनमा रहेको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजनालाई निरन्तरता दिइनेछ ।
– स्थानीय तहमा सेवारत जनशक्तिको मनोवल उच्च राख्ने, बृत्ति विकासका अवसर प्रदान गर्न ‘साविक स्थानीय तह कर्मचारी समायोजन ऐन’ जारी गरिनेछ ।
– नगरपालिका क्षेत्रको हालसाविक नापीको प्रक्रिया अगाडि बढाइनेछ ।
– नगरपालिका कार्यालयबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाइने छ ।
– सामाजिक परीक्षण, नागरिक बडापत्रलाई प्रभावकारी रुपमा अगाडि बढाइनेछ ।
– योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनको प्रबन्ध मिलाइनेछ ।
– बजार अनुगमनलाई प्रभावकारी बनाई बस्तु र सेवाको गुणस्तर, मूल्य नियन्त्रण, कृत्रिम अभाव र कालो बजारी नियन्त्रणलाई प्रभावकारी बनाइनेछ ।
– आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न कर्मचारीका लागि पर्यटन काजको व्यस्था गरिनेछ ।
– सबै वडामा वडा स्तरीय र नगरमा नगर स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिनेछ ।
– राजश्व चुहावट हुने क्षेत्रको पहिचान गरी कडाईका साथ न्यूनिकरण गरिनेछ ।
– आर्थिक पारदर्शीता, जवाफदेहिता र भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता नीतिलाई अबलम्बन गरिनेछ ।
– नगरका उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
– कार्यक्षमता मूल्यांकनका आधारमा नगरका कर्मचारीलाई पुरस्कृत गर्ने कार्य सुरु गरिनेछ ।
– नगर प्रहरीको पुनःसंरचना गरिनेछ ।
– जनप्रतिनिधि र कर्मचारीको अन्तर सम्बन्ध सुदृढ गर्न, कार्यक्षमता बृद्धि गर्न, जवाफदेही बनाउने कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
१०) कला, संस्कृति साहित्य
– साहित्य, कला, संस्कृतिको प्रवद्र्धन गरिनेछ ।
– विरशाली पन्त स्मृति पुरस्कार कोष सञ्चालनमा ल्याई साहित्य तथा कला संस्कृतिमा योगदान पु¥याउँने, स्रष्टालाई पुरस्कृत गरिनेछ ।
– बागलुङमा रहेका सबै भाषा, धर्म, संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धनका लागि विशेष कार्यक्रम लागू गरिनेछ ।
– जात जातीका भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागि आवश्यक पहल गरिनेछ ।
– कला साहित्यको संरक्षणका लागि प्रतिष्ठान बनाउन पहल गरिनेछ ।
– हेमराज शर्मा प्रतिष्ठानलाई आवश्यक सहयोग गरिनेछ ।
११) कानून तथा न्याय
– न्यायीक समितिका कामलाई प्रभावकारी बनाउन, मुद्वा दर्ता, बहस, फैसलालाई चुस्त दुरुस्त बनाइने छ ।
– मेलमिलापकर्तालाई तालिम प्रदान गरी मेलमिलापलाई व्यवस्थित गराइनेछ ।
– अल्पकालिन महिला सेवा केन्द्रलाई नियमित सञ्चालन गरिनेछ ।
– हिंसा पीडित महिलाहरुको पुनःस्थापना, उद्धार र निःशुलक कानुनी उपचारका लागि प्रदेश सरकारको सहकार्यमा सेवा केन्द्र सञ्चालनमा ल्याइ सेवा प्रदान गरिनेछ ।
– सामुदायिक मेलमिलाप केन्द्रको व्यवस्थापन गरिनेछ ।
१२) सूचना तथा सञ्चार
– सञ्चार माध्यम, पत्रकार एवं सञ्चारकर्मीका लागि क्षमता अभिबृद्धि कार्यक्रम तथा सहकार्यमा रेडियो÷टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ ।
– जनतासँग जनप्रतिनिधि, जनतासँग मेयर, बस्ती बस्तीमा मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।
– नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि आवश्यक पहल गरिनेछ ।
– बागलुङमा क्रियाशिल पत्रकारहरुका लागि ‘बागलुङ नगरपालिका पुरस्कार’लाई निरन्तरता दिइने छ ।
१३) विविध
– छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण, रेविज विरुद्धको खोप अभियानलाई निरन्तरता दिइनेछ ।
– बागलुङ नगर क्षेत्रमा सडक बत्ति र सिसी क्यामेरा जडान गरिनेछ ।
– बागलुङ साना जलविद्युत आयोजना नगरपालिका एवं निजी क्षेत्रको साझेदारीमा सञ्चालनको लागि हस्तान्तरण प्रक्रियालाई विशेष पहल गरिने छ ।
– नगर क्षेत्रमा काठका पोल विस्थापित गरी स्टीलका पोल राख्ने कार्यलाई निरन्तरता दिइने छ ।
– विद्युत, टेलिकम तथा केवुलका तार व्यवस्थापन गरी मुख्य शहरको सुन्दरतामा ध्यान पु¥याइने छ ।
– नगर क्षेत्र भित्र रहेका विभिन्न घाटहरुलाई व्यवस्थित गराइने छ ।
– टोल विकास संस्थाको भूमिकालाई प्रभावकारी बनाउन पुनःगठन गरी सक्रिय तुल्याइने छ ।
– साझा हितका लागि नगरपालिकाकोतर्फबाट छिमेकी गाउँपालिका, नगरपालिकासँग समझदारी, समन्वय स्थापित गरी साझा मुद्दामा सहकार्य गरी अगाडि बढिने छ ।
– विदेशी एवं स्वदेशी नगरपालिकाहरुसँग भगिनी सम्बन्ध स्थापित गर्न पहल गरिने छ ।
– कालिगण्डकी नदीलाई दोहन गर्ने कार्यलाई निरुत्साहित गरिने छ ।
– आन्तरिक आयलाई बृद्धि गर्न विभिन्न स्रोतहरुको खोजी गर्दै, करको दायरा विस्तार गरिने छ ।
– व्यवसाय दर्तालाई निःशुल्क गर्ने व्यवस्था मिलाइनेछ ।
– उपभोक्ता स्वास्थ्य संरक्षणको लागि आवश्यक नियमित अनुगमन गरिनेछ ।
सभासदज्यूहरु
यस नगरपालिकाको नीति तथा कार्यक्रम समृद्ध नगर निर्माणको दीर्घकालिन सोंच र लक्ष्यको मार्गदर्शक दस्तावेज हो । नगरपालिकाको एक्लो प्रयासबाट मात्रै अपेक्षा गरिएका लक्ष्य हासिल गर्न सम्भव छैन । सङ्घीय सरकार, प्रदेश सरकार, सरकारी तथा गैरसरकारी संघ संस्था, सामुदायिक र सहकारी संघ संस्थाहरुको संयुक्त प्रयास, सहकार्य र स्वामित्वलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु अपरिहार्य छ । बागलुङ नगरपालिकाले नगरका सरोकारवालासँगको सहकार्य र समन्वयमा हरेक क्रियाकलाप सञ्चालन गरिरहेको व्यहोरा स्मरण गराउँदै यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सबैको सहयोग रहने विश्वासका साथ समृद्ध नगर निर्माणको अभियानमा सहभागिताका लागि आव्हान गर्दछु ।
अन्तमा, नगरको विकासको लागि योगदान पु¥याउने सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू, नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीहरु तथा सांसदहरु, छिमेकी स्थानीय तह, विभिन्न दातृ निकायहरु, स्थानीय प्रशासन, सामाजिक संघ संस्था, नगरसभा सदस्य, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चार माध्यम, पत्रकार जगत, राष्ट्रसेवक कर्मचारी, बुद्धिजिवी लगायत सम्पूर्ण नगरवासी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
जनकराज पौडेल
नगरप्रमुख





