बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पुरानै योजनाको भरमा ‘स्मार्ट सिटी’ !

पुरानै योजनाको भरमा ‘स्मार्ट सिटी’ !

पोखराको नीति तथा कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार १० २०७८, बिहिबार

पोखरा, १० असार– प्रतिव्यक्ति आय १ हजार ५६१ अमेरिकी डलर रहेको पोखरा महानगर मानवीय सूचाकांक अनुसार देशका अन्य सहरभन्दा राम्रै अवस्थामा छ । तर, महानगरका थपिएका वडाहरु हेर्ने हो भने अवस्था भिन्न देखिन्छ । महानगरमा अझैपनि २१.२२ प्रतिशत जनता दाउराले भात पकाउँछन् भने ५ वर्षभन्दा माथिको साक्षरता दर ८४.६ प्रतिशत छ ।
स्मार्ट सहरको परिकल्पना त गरियो तर छुट्याइएको जग्गामा बसपार्कसमेत बन्न सकेको छैन । पोखरामा पछि थपिएका वडाहरुमा बर्खायाममा गाडी नै चल्ने अवस्था छैन । स्मार्ट सिटीलाई आवश्यक पर्ने पर्याप्त सार्वजनिक शौचालय छैनन् । ल्यान्डफिल साइट छ तर, त्यसको आयू सकिएको छ, विमानस्थल सञ्चालनसँगै ल्यान्डफिल साइट बन्द गर्नुपर्ने बाध्यता छ । २०३१ सालमै तत्कालीन आवास तथा भौतिक योजना विभागले पोखराको भू–उपयोग नीति तयार पारेपनि पोखराको बस्ती अव्यवस्थित भइसकेको विभिन्न अध्ययनले किटान गरेका छन् ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनेका थिए, ‘पोखरालाई स्मार्ट सिटी बनाइने छ ।’ यो अभियानका लागि जापानमा रहेको भनिएको एक कम्पनीसँग सम्झौता पनि भइसकेको थियो । ‘स्मार्ट सिटी’ उनको चुनावी नारा थियो । त्यसपछि आएका सबैजसो नीति तथा कार्यक्रममा महानगरले स्मार्ट सिटीको नारा छुटाएन । तर, व्यवहारमा ‘स्मार्ट सिटी’ बन्नेतर्फ आशातित् सफलता भने हात लागेन । महानगर प्रमुखको रुपमा जिसीले आफ्नो अन्तिम नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दा भने ‘स्मार्ट सिटी’ शब्द नै छुटाएका छन् ।
यद्यपि, २०७७ सालमा सार्वजनिक गरेको ‘पोखरा २१०० तथा आवधिक रणनीतिक कार्ययोजना २०७७–२०८२’ को परिकल्पना स्मार्ट सिटी नै छ । कार्ययोजनाले पर्यटन तथा सेवा क्षेत्र, कृषि तथा पशुपालन र उद्योग तथा व्यापार क्षेत्रलाई आर्थिक समृद्धिको आधार मानेको छ । नीति तथा कार्यक्रमहरु यिनै क्षेत्रको विकासमा योजनाहरु परिलक्षित हुनपर्ने किटान गरिएको छ । चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणलाई विशेष जोड दिएको महानगरले आर्थिक वर्ष २०७८÷०८ को नीति तथा कार्यक्रममा भने ती परियोजना सम्पन्न गर्नुलाई पहिलो प्राथमिकतामा राखेको छ ।
‘वडा समितिले सिफारिस गरेका सडक योजनाहरुमा बजेट विनियोजन गरिनेछ । जनताले विकासको प्रतिफल महसुस गर्नेगरी नयाँ योजना घोषणा गर्ने होइन,’ नीति तथना कार्यक्रममा भनिएको छ, ‘क्रमागत योजनाहरु सम्पन्न गरी उपभोक्तालाई सुम्पने नीति लिएको छ ।’
कार्यालय र स्वास्थ्यका भवन बनाइने
नीति तथा कार्यक्रममा महानगरको नयाँ प्रधान कार्यालय भवन पोखरा १२ मा बन्ने घोषणा गरिएको छ । हाल महानगरको प्रधान कार्यालय पोखरा ८, न्युरोडमा छ । महानगरले आगामी वर्षदेखि नगर प्रहरीलाई ब्यारेक प्रणालीमा रुपान्तरण गर्ने नीति लिएको छ । महानगरको नीति तथा कार्यक्रममा नगरप्रहरीलाई थप जनशक्ति र स्रातसाधनयुक्त बनाएर २४ सै घन्टा ड्युटीमा खटाउने व्यवस्था मिलाउने उल्लेख छ । पोखराको बाहिरी चक्रपथ निर्माण, मुख्य नगरक्षेत्रमा भवन बनाउँदा अन्डर ग्राउन्ड पार्किङ अनिवार्य गर्ने घोषणा पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
जनप्रतिनिधिलाई पनि घुम्ने बिदा
महानगरले आन्तरिक पर्यटनलाई टेवा दिन जनप्रतिनिधिहरुको लागि पनि ५ दिने ‘बिदा पर्यटन’ को घोषणा गरेको छ । पर्यटन प्रवद्र्धनको लागि कर्मचारीलाई बिदा दिँदै आइएकोमा महागनरले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा जनप्रतिनिधिहरुको लागि पनि ५ दिने बिदा दिने घोषणा गरेको हो । जनप्रतिनिधिहरुले पाउने बिदा पर्यटनको लागि कति रकम छुट्याएको छ स्पष्ट छैन तर महानगरको यो घोषणाबाट जनप्रनिधिहरुले ५ दिन घुम्न जाँदाको खर्च पाउने भएका छन् । मेयर जिसीले पोखराको बाहिरी चक्रपथ निर्माण, मुख्य नगरक्षेत्रमा भवन बनाउँदा अन्डर ग्राउन्ड पार्किङ अनिवार्य गर्ने घोषणा पनि गरेका छन् ।
मापदण्डमा चासो
पोखरा महानगरभित्र भएका फेवाताललगायत ७ तालको सीमांकन भइसकेकाले ती तालहरुको मापदण्ड तोक्ने काम पनि आगामी आर्थिक वर्षमै सकिने मेयर जिसीले बताए । ‘ताल संरक्षणका लागि प्राविधिक रुपमा सम्भव भएका स्थानमा जग्गा एकीकरण कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै मेयर जिसीले भने ।
महानगरले फिर्के, विजयपुर, सुइखेत, भोटी, स्यानी, स्याङ्खुदी खोला, छोरेपाटनको गुप्तेश्वर गुृफा क्षेत्र र फुस्रेखोला क्षेत्रको नयाँ मापदण्ड बनाउने घोषणा पनि गरेको छ । पोखराको बीचमा बग्ने फिर्केदेखि गुप्तेश्वर गुफा क्षेत्र महानगरकै बढी अतिक्रमित क्षेत्र हो । भौगोलिक रुपले सो क्षेत्रमा ठूला संरचना बनाउन नमिल्ने भूगर्भविद्हरुको सुझावविपरित त्यहाँ ठूला–ठूला संरचना निर्माण भइरहेका छन् ।
फिर्के क्षेत्रको अवस्था पनि त्यस्तै छ । स्थानीयहरुले सो क्षेत्रमा कायम रहेको १० मिटरको मापदण्ड घटाएर १ मिटर कायम गर्नुपर्ने माग राख्दै आएका छन् । २०६० सालमा महानगरले फिर्केको मापदण्ड ६ मिटर कायम गरेको थियो । २०७२ सालको भूकम्पपछि त्यसलाई बढाएर १० मिटर बनाइएको थियो ।
भ्यू टावरको सपना
पोखरा महानगरले पोखरामा भ्यू टावरको परिकल्पना गरेको छ । मेयर जिसीबाट प्रस्तुत नीति तथा कार्यक्रममा ‘निजी क्षेत्रसँगको सहकार्यमा पोखरामा बहुउद्देश्यीय टावर निर्माणको अध्ययन अगाडि बढाइने’ घोषणा गरिएको हो ।
फेवा किनारमा झण्डा पार्क बनाएको महानगरले कहाँ र कस्तो टावर बनाउने हो प्रष्ट भएको छैन । तर, टावर धरहराजस्तै हुनसक्ने अनुमान लगाइएको छ । देशैभर भ्यूटावर बनिरहेको बेला मेयरले पनि टावरप्रति आशक्ति देखाएका हुन् । मेयर जिसीले पोखरा महानगरमा निजी क्षेत्रसँगको सहकार्यमा घन्टाघर बनाउने पनि घोषणा गरेका छन् ।
मठमन्दिरमा बजेट
मेयर जिसीले ४ वर्षमा ७७ वटा मठमन्दिर र ६० वटा चौतारा बनाएको प्रगति विवरणमा सुनाएका छन् । ‘सराङकोटको शिवमन्दिर र पुम्दीकोटमा विशाल शिव मन्दिर निर्माण गर्न महानगरले साझेदारी गरेको छ । ६० नयाँ चौतारा र ३४ चौतारा मर्मत गरिएको छ,’ उनले भने । मेयर जिसीले ४ वर्षे अवधिमा १ सय ३७ किलोमिटर सडक कालोपत्रे र २ सय ३१ किलोमिटर सडक ढलान गरिएको जानकारी दिए । उनले यसअवधिमा ६५ वटा आमा समूह भवन र २४ स्थानमा दाहसंस्कार स्थल तथा घाट निर्माण गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->