फाइल तस्बिर
बागलुङ, १० असार– कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ ।
अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । कालीगण्डकी बचाउन अभियानै चलिरहेको समयमा बागलुङ नगरपालिकाले भने नदी बचाउने नीति लिएको छ ।
बुधबार नगरपालिकाको आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जनकराज पौडेलले आगामी आर्थिक वर्षदेखि कालीगण्डकी दोहनलाई निरुत्साहित गरिने घोषणा गरेका हुन् । यद्यपि, नदी बचाउन नगरले प्रष्ट योजना भने खुलाएको छैन ।
कालीगण्डकीको नाममा नगर क्षेत्रभित्र बनेको संग्राहालयले नगरको पर्यटकीय महत्व बढाएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘कालीगण्डकीको पौराणिक महत्वसहित शालिग्राम संग्राहलय हाम्रो नगरमा निर्माण भएको छ,’ मेयर पौडेलले भने, ‘यसले हाम्रो ठाउँको प्रर्वधन र सहयोग गरेको सङ्ग्रहालय र रंगबैकटेश्वर मन्दिर धार्मिक पर्यटनको लागि महत्वपूर्ण रहनेछन् ।’





